+
+
Shares

खाल्डोमा जमेको पानीमा डुबेर मृत्युवरण गर्दैछन् मधेशका बालबालिका

अघिल्लो वर्ष १७० जना बालबालिकाको डुबेर मृत्यु

मधेशमा विकास निर्माणका नाममा जथाभावी माटो तथा बालुवा झिकेर छाडेको खाल्डोमा जमेको पानी, माछा पोखरी लगायतमा डुबेर बालबालिकाको ज्यान जाने क्रम बढ्दो छ ।

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८२ भदौ ३ गते १९:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मधेश प्रदेशमा आर्थिक वर्ष २०८१/०८२ मा डुबेर २७२ जनाको मृत्यु भएकोमा १७० जना बालबालिका थिए भने रौतहटमा सबैभन्दा बढी ३३ बालबालकको मृत्यु भएको छ।
  • विकास निर्माणका क्रममा जथाभावी खनेका खाल्डोमा जमेको पानीमा बालबालिका डुबेर मृत्यु हुने क्रम बढ्दै गएको र स्थानीय सरकारले व्यवस्थापन नगरेको डीआईजी उमाप्रसाद चतुर्वेदीले बताए।
  • राजनीतिक विश्लेषक तुलानारायण साहले बालबालिका डुबेर मृत्यु न्यूनीकरणका लागि कानुन बनाउनुपर्ने र यस विषयमा प्रदेशसभा तथा संघीय संसद्मा छलफल नभएको बताए।

३ भदौ, जनकपुरधाम । अघिल्लो साता मंगलबार बिहान पर्साको ठोरी गाउँपालिका-२ हनुमाननगर बस्ने मनोज कठायतका दुई छोरा खेल्न घरबाट निस्किए । ८ वर्षीय अंश र ४ वर्षीय आयंश नाम गरेका ती दुई बालक खेल्दै घरदेखि १५० मिटर टाढा ठोरी- १ र २ को बीचबाट बग्ने डेढु खोला पुगे ।

डोजरले बालुवा झिकेर बनेको खाल्डोको पानीमा नुहाउन पसेका उनीहरू केहीबेरमै तैरिरहेको अवस्थामा फेला परे । स्थानीयले दुवै बालकलाई ठोरीस्थित अस्पताल पुर्‍याए । अस्पताल पुर्‍याउनेवित्तिकै चिकित्सकले बालकहरूलाई मृत घोषणा गरे ।

‘केही पहिले खोलाबाट गाउँलेले बालुवा झिकेका थिए । त्यसमा जमेको पानीमा दुवै बालक डुबे । स्थानीयले देखेर उद्धार गरी अस्पताल लैजाँदा मृत्यु भइसकेको थियो,’ ठोरी-२ का वडाध्यक्ष अमृतकृष्ण सापकोटाले भने ।

६ जेठमा धनुषा कमला नगरपालिका-२ सराबे टोल छेउमा नवनिर्मित कृषि सडकको खाल्डोमा दुई बालक डुबे । घरबाट खेल्न निस्केका स्थानीय रामबाबु साहका ७ वर्षीय छोरा रितिक साह र उनकै भाइ श्यामबाबु साहका ५ वर्षीय छोरा रितिश साहको डुबेर मृत्यु भयो ।

कृषि सडक निर्माणका क्रममा ५ फिट गहिरो खाल्डो खनेर माटो सडकमा हालिएको थियो । कमला नगरपालिकाको १० लाख लगानीमा कोटेसनमार्फत जयबाबा नर्सिङ कन्स्ट्रक्सनले बाटो बनाउने जिम्मा पाएको थियो । जसको ठेकेदार राजेन्द्र मण्डल थिए ।

उनले आफ्नै खेतबाट बाटो बनाउँदा सम्झौता विपरीत गहिरो गरी खनेको खाल्टोमा जमेको पानीमा दुवै बालक डुबे । घटना मिलाइयो । तर जथाभावी खाल्डो खन्नेलाई कुनै कारबाही भएन । केही रकम लेनदेनमा घटना सामसुम पारिएको स्थानीयले बताएका छन् ।

१८ असार अपराह्न साढे ४ बजे महोत्तरीको मरहा खोलाको खाल्डोमा गौशाला नगरपालिका-१० जलिल टोलका दिनेश मण्डलकी ११ वर्षीया छोरी करिनाकुमारी मण्डल डुबेको अवस्थामा फेला परिन् ।

सिरहाको नरहा गाउँपालिका-३ खोरियाटोल नजिकै ग्राभेल उत्खनन् गरेको खाल्डोमा डुबेर दुई बालकको ज्यान गएको थियो ।

महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी शैलेन्द्र भट्टका अनुसार नदी किनारमा बालुवा-गिट्टी झिकिएको खाल्डोमा जमेको पानीमा दुई बालिका नुहाउन पुगेका थिए । पहिले नुहाउन पसेकी करिनाकुमारी डुबेकी थिइन् । सँगै गएकी बालिकाले स्थानीयलाई बोलाएपछि करिनालाई निकालियो ।

उपचारका लागि बर्दिबास लग्दै गर्दा बाटोमै उनको मृत्यु भयो । क्रसर उद्योगीले त्यस क्षेत्रबाट अवैध रूपमा गिट्टी बालुवा झिक्दै आएका थिए ।

१७ असार २०८१ मा सिरहाको नरहा गाउँपालिका-३ खोरियाटोल नजिकै ग्राभेल उत्खनन् गरेको खाल्डोमा डुबेर दुई बालकको ज्यान गएको थियो । खेल्दै नुहाउन पुगेका स्थानीय सुशील मण्डलका छोरा ६ वर्षीय राहुल मण्डल र भान्जा करिब ८ वर्षीय आशिष मण्डल ग्राभेल झिकेको गहिरो खाल्डोमा डुबेका थिए ।

यी घटना उदाहरण मात्र हुन् । मधेशमा विकास निर्माणका नाममा जथाभावी माटो तथा बालुवा झिकेर छाडेको खाल्डोमा जमेको पानी, माछा पोखरी लगायतमा डुबेर बालबालिकाको ज्यान जाने क्रम बढ्दो छ । मधेशमा गत आर्थिक वर्ष २०८१/०८२ मा डुबेर २७२ जनाको ज्यान गएको र तीमध्ये १७० जना बालबालिका रहेको प्रहरीले जनाएको छ ।

महोत्तरीमा बालुवा झिकेको खाल्डोमा डुबेर बालकको मृत्यु – Online Khabar

डुबेर मृत्यु हुनेमध्ये १४ वर्ष उमेरसम्मका १७० जना बालबालिका रहेको मधेश प्रहरी कार्यालयका प्रवक्ता विजय यादवले जानकारी दिए ।

जसमा सबभन्दा बढी बालबालिका रौतहटमा ३३ जनाको डुबेर मृत्यु भएको छ । धनुषामा ३० जना, महोत्तरीमा २८ जना, सप्तरीमा २३ जना, सर्लाहीमा २१ जना, सिरहामा २० जना, पर्सामा १० जना र बारामा ५ जनाको मृत्यु भएको प्रहरीको तथ्यांक छ ।

अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा मधेशमा डुबेर १९२ जनाको मृत्यु भएकोमा ११० जना बालबालिका थिए । अघिल्लो वर्षको तथ्यांक तुलनामा पछिल्लो आर्थिक वर्षको तथ्यांकमा ६० जना बढी बालबालिकाको ज्यान गएको छ ।

आर्थिक वर्ष २०७९/०८० मा १२४ जनाको मृत्यु हुँदा ८२ जना बालबालिका थिए । यी तथ्यांकले मधेशमा वर्षेनी बालबालिकाको डुबेर हुने मृत्युको ग्राफ बढ्दै गएको देखिन्छ ।

बालबालिकाको डुबेर मृत्यु हुने क्रम बढ्नुमा गाउँगाउँका माछा पोखरी, नुहाउने, लुगा धुने पोखरी, विकास निर्माणका लागि खनिएका खाल्डा र निजी जग्गाबाट माटो-ग्राभेल बेचेर छाडिएका खाल्डो प्रमुख कारण भएको मधेश प्रदेशका प्रहरी प्रमुख डीआईजी उमाप्रसाद चतुर्वेदी बताउँछन् ।

गाउँगाउँमा पालिका वा निजी जग्गाबाट माटो बेचिन्छ । तर त्यसको व्यवस्थापन र संरक्षण कसरी गर्ने भन्ने योजना हुँदैन । वर्षौंसम्म खाल्डा पुरिँदैनन्, यही कारण त्यो खाल्डाहरूमा वर्षाको पानी जमेपछि बालबालिका डुब्ने गर्छन्-  उमाप्रसाद  चतुर्वेदी,डीआईजी, मधेश प्रदेश कार्यालय 

‘गाउँगाउँमा पालिका वा निजी जग्गाबाट माटो बेचिन्छ । तर त्यसको व्यवस्थापन र संरक्षण कसरी गर्ने भन्ने योजना हुँदैन । वर्षौंसम्म खाल्डा पुरिँदैनन्, यही कारण त्यो खाल्डाहरूमा वर्षाको पानी जमेपछि बालबालिका डुब्ने गर्छन्,’ डीआईजी चतुर्वेदी भन्छन् ।

यस्तो समस्या समाधानका लागि स्थानीय सरकार र जिल्ला समन्वय समितिको भूमिकामा महत्वपूर्ण रहेको उनको भनाइ छ । ‘ऐलानी वा सार्वजनिक जग्गा पालिकाको स्वामित्वमा हुन्छ । ठेक्का लगाउने, कति घनमिटर माटो खन्ने, बेच्ने भन्ने जिम्मेवारी पनि पालिकाकै हो । तर ठेकेदारले कति खने अनुगमन गर्दैन । कारबाही नगर्दा खाल्डा छाड्ने प्रवृत्ति बढेको हो,’ उनको गुनासो छ ।

हेलचेक्र्याइँ गरेर खनिएको खाल्डोमा बालबालिकाको ज्यान जाने गरे पनि मुद्दा चलाएर कारबाही भएको खासै पाइँदैन । प्रायः घटना आपसमै रकम लेनदेन गरी मिलाउने गरिन्छ ।

राजनीतिक विश्लेषकसमेत रहेका तुलानारायण साह जथाभावी खनेको खाल्डो वा पोखरीमा डुबे पनि कारबाहीको लागि कानुनी व्यवस्था नरहेको बताउँछन् ।

‘विकासे काम सम्पन्न भएपछि खाल्डो पुरिनुपर्ने हो । तर त्यसको उचित व्यवस्थापन हुँदैन । व्यावसायिक पोखरी खनेको छ । तर घेरबार छैन । त्यसमा बालबालिकाको डुबेर मृत्यु हुन्छन् । तर त्यसको जिम्मेवार को ? किन कारबाही हुँदैन ? कानुन नै छैन,’ विश्लेषक साह भन्छन् ।

डीआइजी चतुर्वेदी बालबालिका डुब्नबाट जोगिन अभिभावकको हेरचाह र सतर्क आवश्यक रहेको तर्क गर्छन् । ‘बालबालिकालाई जथाभावी छाड्दा दुर्घटना बढ्छ । जानीजानी पोखरी वा खाल्डोमा गयो भने रोक्न गाह्रो हुन्छ । तर लापरबाहीका कारण ज्यान गयो भने कानुनी कारबाही हुन्छ,’ उनले भने ।

मधेशको भयावह समस्या, तर छैन कानुन

बढ्दो बालबालिका डुबेर मृत्यु हुने घटना वर्गीय समस्या भएकाले सरोकारबाला र राज्य यसप्रति उदासिन रहेको राजनीतिक विश्लेषक तुलानारायण साहको विश्लेषण छ । ‘डुब्ने घटना प्रायः ग्रामीण भेगको हुन्छ । त्यसमा पनि प्रायः गरिब घरका बालबालिका हुन्छन् । धनी परिवारले रेखदेख गर्छन् । तर गरिब आफ्नो काममा जाँदा घरका बालबालिका खाल्डो र पोखरीमा डुब्ने गरेका छन् । त्यसकारण यो वर्गीय समस्या हो । र, सरोकारबाला र राज्य उदासिन छन्,’ उनको गुनासो छ ।

बालबालिका डुब्ने घटना न्यूनीकरणका लागि कानुन बनाउनुपर्ने आवश्यकता औंल्याए । ‘खाल्डो वा पोखरीको कारण डुबेर मृत्यु भएमा खाल्डो खनेर छाड्ने वा पोखरीका साहुलाई कारबाही हुनुपर्छ । कानुनी कारबाही भए मात्र यसलाई न्यूनीकरण गर्न सकिन्छ,’ उनले भने ।

सडक मर्मत नगरेको भन्दै जनकपुरमा प्रदर्शन – Online Khabar

बालबालिका डुब्ने मधेशको भयावह समस्या भए पनि न यो विषय प्रदेशसभामा प्रवेश पाएको देखिन्छ, न त संघीय संसद्‌मा । प्रदेशसभामा समेत अहिलेसम्म कुनै सांसदले यस विषयमा नबोलेको र सम्बन्धित महिला बालबालिका संसदीय समितिमा यसबारेमा अहिलेसम्म विषय प्रवेश नपाएको समितिकी सभापति रुपा यादवको स्वीकारोक्ति छ ।

‘मधेशमा बालबालिका डुबेर अकाल मृत्युवरण गर्नुपर्ने विषय अहिलेसम्म समितिमा प्रवेश पाएको छैन । न त यसबारे छलफल नै भएको छ,’ उनले स्वीकार गरिन् ।

टेन्डरमार्फत हुने काममा ठेकेदारहरू बढी जथाभावी खाल्डो छाड्ने गरेको उनको गुनासो छ । अब बस्ने समितिको बैठकमा यसबारे छलफल गरिने र कानुन निर्माणबारे अघि बढ्ने उनको भनाइ छ ।

लेखक
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?