समाचार टिप्पणी
३० असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री बनेको एकहप्ता बितेको छ । यसवीचमा न सरकारले पूर्णता पाउन सक्यो, न त नाकाबन्दी र हडतालको सास्तीबाट जनताले छुटकारा पाउने स्पष्ट संकेत देखियो ।
यो अवधिमा ओली सरकारले मन्त्रिमण्डल विस्तार आजै हुन्छ र भोलि हुन्छ भनिरहे पनि सत्तारुढ दलभित्रकै आन्तरिक किचलोका कारण मन्त्रिपरिषद विस्तार अभियान दसैंपछिसम्म जारी रहने देखिएको छ ।
सरकारमा सामेल हुने नेताहरुको दसैं रमझमपूर्ण हुने देखिए पनि जनताका लागि यो दसैं दसा सरह हुने परिस्थिति कायमै रहेको छ । तेलको अभावका कारण दसैंमा घर जान नपाइने चिन्ताले राजधानीबासी छटपटाइरहेका छन् ।
भारतले लगाएको नाकाबन्दी खुलाउन परराष्ट्रमन्त्री कमल थापा शनिबार दिल्लीतर्फ लागेका छन् । यद्यपि भारतले विगतका सबै प्रतिवद्धता कार्यान्वयन गराउने भन्दै प्याकेजमै नेपालसँग डिल गर्ने सन्देश दिएको छ । यो स्थितिमा परराष्ट्रमन्त्रीले नाकाबन्दी खुलाउनुको साटो प्रधानमन्त्री ओलीको आशन्न भारत भ्रमणको तारतम्यमात्रै मिलाएर र्फकने सम्भावना बढी छ ।
नयाँ सरकारले यो साता गरेको अर्को नयाँ काम भनेको आन्दोलनरत मधेसवादी दल र थारु नेताहरुलाई वार्ताका लागि गरेको पत्राचार हो ।
सरकारले पत्र पठाए पनि मधेसवादी नेताहरुले आन्दोलन रोक्ने संकेत गरेका छैनन्, उनीहरुले प्रधानमन्त्री ओलीले जमिन्दारीपन देखाएको आरोप लगाएका छन् । यसले गर्दा दसैंअघि नै मधेसवादी दलसँग सरकारको समझदारी हुने, नहुने अनिश्चित छ । यो अनिश्चितता सँगै मधेसमा बन्दको सास्ती हट्ने विषय पनि अनिश्चित नै छ ।
सभामुखमा सहमति, कांग्रेसको बार्गेनिङ
यसअवधिमा सभामुख र उपसभामुखको चुनावका विपक्षी दल नेपाली कांग्रेसले सहमति जनाएर सर्वसम्मपति कायम गर्नु सरकारको उपलब्धि हो ।
अब सरकारले दसैंपछि हुने राष्ट्रपति र उपराष्ट्रपतिसँग पनि यसैगरी विपक्षी दलहरुसँग सहमति गर्न सक्यो भने त्यो अर्को उपलब्धि हुनेछ । राष्ट्रपति र उपराष्ट्रपतिको चुनावमा विपक्षीसँग सहमति भयो र मधेसवादी दलहरु पनि सहमतिमा आए भने त्यसपछि यो सरकारलाई राष्ट्रिय सरकारको स्वरुप दिने अर्को सम्भावनाको ढोका खुल्न सक्छ ।
तर, यस्तो सहमतिका लागि कांग्रेसलाई राष्ट्रपति र मधेसी दलहरुलाई उपराष्ट्रपति दिन सत्तापक्ष सहमत हुन सक्नुपर्ने हुन्छ । सत्तापक्षले त्यसो गर्न सक्छ या सक्दैन अहिल्यै भन्न सकिँदैन ।
सभामुखको चुनावमा सहमति जनाएर कांग्रेसले राष्ट्रपतिका लागि बार्गेनिङ गर्ने आधार बढाएको छ, जसले सत्तापक्षलाई लचिलो हुन बाध्य पारेको छ ।
एमाले नेता माधव नेपालले कांग्रेसलाई राष्ट्रपति दिन सकिने संकेत गरेर सरकारलाई अझै रक्षात्मक बनाइदिएका छन् । अब दसैंभरिको अवधिमा प्रधानमन्त्री केपी ओली सत्तारुढभित्रको मन्त्रीहरुको बार्गेनिङ र कांग्रेसबाट राष्ट्रपतिको बार्गेनिङमा फस्ने देखिएको छ ।
प्रधानमन्त्रीमाथि अर्को दबाव मधेसको बन्द हडताल र नाकाबन्दी हटाउनु हुनेछ भने भारतले कमल थापामार्फत पठाउने शर्तनामाहरु प्याकेज अर्को दबावको विषय बन्ने सम्भावना छ ।
प्रधानमन्त्री बनेको एक साताभित्र प्रधानमन्त्री ओली साइत नहेरिकन बालुवाटार सरिसकेका छन् । बालुवाटार त्यस्तो ठाउँ हो, जसले सरकार प्रमुखलाई कहिल्यै चैनसँग निदाउन दिने छैन ।
शारीरिक हिसाबमा धेरै धपेडी गर्न नमिल्ने प्रधानमन्त्री ओलीका लागि मानसिक चाप त छँदैछ, शनिबार एकै दिन ३/४ वटा कार्यक्रम उदघाटन र पुरस्कार वितरणको दौडधूपलाई हेर्दा उनी यसैगरी उदघाटनहरुमा दौडधूप गरे भने कामकुरो एकातिर, कुम्लो बोकी ठिमीतिर भनेजस्तो हुन सक्छ ।
शनिबार प्रधानमन्त्री ओलीले विहान प्रहरी दिवसको उदघाट गरे भने दिउँसो सातदोबाटोमा पुगेर खेलाडीहरुलाई पुरस्कार वितरण गरे । त्यसपछि उनी सोल्टी होटलमा एनआएनको कार्यक्रममा सहभागी भए ।
प्रतिक्रिया 4