Comments Add Comment

प्रधानमन्त्रीले कोइरालालाई भने-जुवाको एउटा पारी म बोक्छु, अर्को पारी तपाई बोक्नुस्

KP Oli

३० असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘हात्ती, घोडा जे चाहिन्छ लिएर’ सरकारमा आउन नेपाली कांग्रेसलाई आग्रह गरेका छन् । कांग्रेस र एमालेको प्रतिस्पर्धा मुलुकले धान्न गाह्रो हुने उनले बताए ।

गैरआसवासीय नेपाली संघ एनआरएनएको सातौं विश्व सम्मेलनको समापन सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एमाले सत्तारुढ र कांग्रेस प्रतिपक्षको अवस्था धेरै दिन नरहने बताए ।

ओलीले सम्बोधन गर्दै गर्दा कांग्रेस सभापति सुशील कोइराला कार्यक्रम पुगेका थिए । प्रधानमन्त्री ओली आफैंले उद्घोषकको भूमिका निभाउँदै ‘पूर्वप्रधानमत्रीजी आउनु भो । आसन ग्रहण आग्रह गर्छु’ भनेका थिए ।

एमाले अध्यक्ष समेत रहेका ओलीले अहिले कांग्रेस डिलमा बसेर प्रतिपक्ष जस्तो टिप्पणी गरेपनि यो धेरै दिन नरहने बताए । ‘सुपारी दिएर मिठाइ चढाएर निम्तो गर्छु’ भन्दै प्रधानमन्त्री ओलीले भने-‘जुवाको एउटा पारी म बोक्छु, अर्को पारी सुशीलजी बोक्नुस, आउनुस् मिलौं ।’

कांग्रेसलाई राष्ट्रपति समेत दिन तयार रहेको संकेत गर्दै प्रधानमन्त्री ओलीले ‘हात्ती, घोडा जे चाहिन्छ लिएर’ सरकारमा आउन आग्रह गरेका छन् ।

उनले दशजगा क्षेत्रमा आन्दोलन गरेर जनतालाई दुःख दिनुभन्दा वार्ता र सम्वादमा आउन मधेसवादी दलहरुलाई आग्रह गरे । वार्तामा आए आफू रातो कार्पेट ओछ्याएर स्वागत गर्न तयार रहेको उनले बताए ।

मधेस केन्द्रीय दलहरुको सबै माग पुरा नहुने तर, मिलेर जान आफू तयार रहेको भन्दै प्रधानमन्त्री ओलीले सुरुमा हात्ती किनिदिन भन्ने र पछि झोलामा राख्न भने जस्तो नगर्न आग्रह गरे ।

सडकमा मोटरसाइकल गुडेको देखिने तर, गाडीहरु कम चल्ने गरेको भन्दै उनले नाकाबन्दी छ कि छैन भनेर पशुपतिनाथले पनि भन्न नसक्ने अवस्था आएको बताए ।

कार्यक्रममा निवर्तमान प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालाले प्रतिपक्षमा बसेपनि कांग्रेसले विरोधका लागि विरोध नगर्ने बताए ।

मधेसमा समस्या रहेको र त्यसलाई समाधान गर्नुपर्ने भन्दै उनले त्यसमा सरकारलाई कांग्रेसको सहयोग हुने बताए । देशमा अहिल असहज परिस्थिति रहेको भन्दै उनले सबैलाई मिलाएर अघि बढ्न ओलीलाई सुझाव दिए ।

प्रधानमन्त्रीमा उम्मेदवारी दिएपछि धेरैले सुशील महत्वकाक्षी भयो कि भन्ने गरेको भन्दै उनले आफूले लोकतान्त्रिक अभ्यासमा मात्र गरेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment