सुवास पण्डित
१ कात्तिक, तनहुँ । तनहुँ जिल्लाको दोस्रो अग्लो चुचुरो मिर्लुङकोट पर्यटकीय गन्तब्य बन्न थालेको छ । समुन्द्री सतहबाट १६५४ मिटर उचाइमा रहेको मिर्लुङकोट र यसको आसपासका डाँडाहरूबाट तनहुँ जिल्लाको बिभिन्न स्थानका साथै लम्जुङ, गोरखा, मनाङ र कास्कीका बिभिन्न स्थानहरू सजिलैसँग देख्न सकिन्छ । सुन्दर प्राकृतिक भूबनोट भित्र दक्षिण फर्किएर रहेको मिर्लुङको उत्तर भाग प्राकृतिक सुन्दरताका दृष्टिकोणबाट अनुपम छ ।
तनहुँको डुम्रे बजारबाट प्रवेश गरी भन्सार, सेपाबगैचा, चन्द्रवती हुदै मिर्लुङ जान सकिन्छ । डुम्रेबाट मिर्लुङसम्मको दुरी १८ किलोमिटर छ । चन्द्रवती बजारबाट बिभिन्न ५ वटा सहायक मार्ग मार्फत मिर्लुङका बिभिन्न स्थानहरू रतनपुर, आरवाजे, राइपाली भञ्याङ जान सकिन्छ । लम्जुङको सुन्दरबजार, भोटेओढार जानका लागि केही बर्ष अघिसम्म पैदल मार्गका रूपमा यसलाई प्रयोग गरिन्थ्यो ।
यस्तै चन्द्रवती बजारबाट घलेछाप, ओख्ले हुँदै बयापानी भञ्याङ, कवाजीत हुँदै बयापानी, आहाले हुँदै बयापानी, पोखरीछाप हुँदै बयापानी जान सकिन्छ । मिर्लुङकोट जानका लागि बयापानीबाट पैदल यात्रामा निस्कनुपर्ने हुन्छ । कोटसम्म पुग्नका लागि ढुंगाको पेटी बनाइएको छ । मिर्लुङकोट क्षेत्र प्राकृतिक, साँस्कृतिक, धार्मिक र जैविक विविधतामा धनि छ ।
सूचना केन्द्र स्थापना
२०६७ सालमा सुशीलचन्द्र भण्डारीको अध्क्षतामा मिर्लुङकोट सूचना केन्द्र गठन गरेपछि बल्ल यसको चर्चा हुन थालेको हो । नेपाल सरकारले पनि सूचना केन्द्र मार्फत लगानी बढाउँदै लगेको छ ।
मिर्लुङकोट सूचना केन्द्रले पर्यटन विभाग मार्फत गठन भएकै बर्ष ३ लाख, आर्थिक बर्ष २०६८/६९ मा ५ लाख, २०७०/७१ म्ाा ७ लाख र ०७१/७२ अहिले १० लाख रकम ल्याएर मिर्लुङकोटको पर्यटन विकासमा लगाइएको छ । पर्यटन सूचना केन्द्रका लागि जग्गा खरिद, भवन निर्माण, कम्पाउण्ड र आँगनमा ढुंगा छाप्ने काम, मिर्लुङकोट जाने सिँढी मार्ग निर्माण गरेको छ ।
१० बर्षे गुरु योजना
तनहुँ, लम्जुङ, कास्कीका २५ गाविस र लेखनाथ नगरपालिकालाई मिर्लुङकोट पर्यटन विकासले जोडेको छ । चर्चित अन्नपूृर्ण पदमार्गभन्दा सुरक्षित र राम्रो रहेको मिर्लुङकोट पर्यटन पदमार्ग शुरुवात आदिकवि भानुभक्त आचार्यको जन्मभूमि कर्मभूमिबाट शुरु हुन्छ ।
पर्यटन पदमार्गको भिजुअलाइज गरी अंग्रेजी र नेपालीमा तयार गरी प्रचारप्रसारको कामलाई तीव्र पारिएको सूचना केन्द्रका अध्यक्ष सुशील भण्डारीले जानकारी दिए ।
मिर्लुङको पर्यटन बिकासलाई एकीकृत गर्न १० बर्षे गुरुयोजना निर्माण थालिएको छ । स्थानीय जनसमुदायको बिकास, रोजगारीको सिर्जना, पूर्वाधार बिकास गरी मिर्लुङकोटको बिकास गर्ने गरी गुरूयोजना निर्माण थालिएको हो । होमस्टेहरुको निर्माण, स्थानीय रितिरीवाज, भाषा, सँस्कृतिको संरक्षण गर्ने उद्देश्य पनि राखिएको छ । मिर्लुङकोटको पर्यटन पदमार्गमा होर्डिङ बोर्डहरु राख्ने, पर्यटकहरुकेा सहजताका लागि हाते नक्सा बनाउने, बास बस्ने स्थानहरुको पहिचान गर्ने लगायतका कार्य अघि बढेको छ ।
प्राकृतिक सुन्दरता
मिर्लुङको उत्तरी भेग राइपाली भञ्याङ, चोकडाँडा, चिहानडाँडा, बयापानी भञ्याङ, मिर्लुङकोट, पोखरीछाप पर्यटकीय केन्द्र हुन् । यि भेगमा चिसो बतास दिनभर नै चलिरहन्छ । निरन्तर चलिरहने बताससँग सल्लाका पातहरु सुसाइरहेको पनि सुन्न सकिन्छ । बनजंगलमा हिउँदको समयमा लालीगुराँस छपक्कै डाँडाभरि फूल्ने गर्दछ । डाँडाभरि लालीगुराँस फूल्ने भएका कारणले पनि मिर्लुङ ४ बयापानीका सष्ट्रा स्वर्गीय क्षेत्रप्रताप अधिकारीले ‘म त लाली गुरास भएछु बनै भरि फूली दिन्छु मनै भरि फूली दिन्छु,’ भनेर गीत लेखे ।
बन काफल फल्ने स्थान पनि यहि छ । वनजंगलमा चाप, धयरा, ऐसेलु, सतिसाल, सल्ला, चुत्रो, कटुस जस्ता वोटविरुवा तथा फलफूल मात्र होइन, पाँचऔले, कुरीलो जस्ता जडिबुटीहरु समेत यहाँ पाइन्छ । बिभिन्न छहरा र पहराहरुको आकर्षणका साथै बिभिन्न भञ्याङ, देउराली, मठमन्दिर र मस्जिदहरु यस क्षेत्रका गहना तथा पर्यटकका सारथी बन्न सक्छन् ।
यहि स्थानबाट मनोरम हिमश्रृङ्खला अवलोकन गर्न सकिन्छ । धौलागिरी हिमाल, गणेश हिमालदेखि बिभिन्न चुरे महाभारत श्रृङ्खलाहरूको दृश्यावलोकन गर्न सकिन्छ । अन्यत्र कहिबाट पनि नदेखिने तिब्बत र मनाङबीचको बोर्डर हिमाल जसलाई ग्रेड हिमाल पनि भनिन्छ उक्त हिमाल पनि यहिँबाट सजिलैसँग देख्न सकिन्छ ।
मिर्लुङकोटबाट लम्जुङका सुन्दर बजार, भोटेओढार, बाहुनडाँडा सजिलैसँग देख्न सकिन्छ । नाउदी र पाउदी तथा मर्स्याङ्दी नदीको सुसाइले थप रोमाञ्चक बनाउँछन । यस्तै चोक चिसापानी गाविसमा पर्ने चोककोट थामाचुली गढीबाट सूर्योदय समेत हेर्न सकिन्छ । लम्जुङको जीता गाविसमा पर्ने धार्मिक एवं ऐतिहासीक स्थल सप्तधारा, पञ्चमन्दिर, छानापाखा, इजार गाउ, जिताकोट, भयरथाने, तान्द्राङ्ग टक्सारमा रहेको जल्पादेवी मन्दिर, तामाखानी गाउँ, तान्द्राङ्गकोट, नागभैरव मन्दिर प्रमुख आकर्षणहरु हुन् ।
सँस्कृतिको संरक्षण
मिर्लुङमा बिभिन्न जातजातिहरु गुरुङ, मगर, बाहुन क्षेत्री, दमाई, कामी, सार्की, मुसलमान, नेवारहरु बसोबास गर्दछन् । बिभिन्न जात जाति, धर्म समुदाय र सम्प्रदायको अलग-अलग भेषभूषा, रहनसहन, चालचलन, धर्म र सँस्कृति यसका थप गहना हुन् । ति भित्रको अन्तरघुलन र एकता साँच्चै नै रहरलाग्दो र लोभलाग्दो छ । कुनै रिसराग र जातीय द्वेष छैन । सामाजिक सदभाव एकताको प्रतीक भन्दा हुन्छ मिर्लुङलाई ।
उनीहरूको आ-आफ्नै मौलिक सँस्कृतिहरू छन् । स्थानीयस्तरको साँस्कृतिक पक्षको संरक्षण गरी लोपोन्मुख सोरठी, घाँटु, कौरा, दोहोरी, बालन, चुड्का, भजन, लाखे, ठाडोभाका जस्ता गीत संगीतहरूको संरक्षणलाई प्राथमिकतामा राखिएको छ ।
यहि क्षेत्रमा अत्यन्तै संकटमा परेको रामायणमा समेत उल्लेख भएको बालन नाच नाच्ने गरिन्छ । गुरूङ र मगर बस्ती बाक्लो रहेका कारणले रोदी बस्ने चलन अझैसम्म जीवीत छ यो भेगमा । बिषेश गरी गुरूङ समुदायको सोरठी र घाटु नृत्य यस क्षेत्रमा बिषेश चर्चित छ । स्थानीय जनसमुदायले गाउने ठाडोभाका, लोकदोहरी, सोरठी, पाउदुरे, घाटु, चुड्का, मारुनी लागयतका लोकभाका सुन्न र नाचहरु हेर्नसमेत यस क्षेत्रमा देख्न पाइन्छ । चुड्का र भजनको पनि उदगमस्थल यहि हो भन्दा फरक पर्दैन ।
ऐतिहासिक महत्व
मिर्लुङकोटको चुचुरोमा राजा धर्मागत सेनले शासन गरेको र उनको दरवारको भग्नाबशेष देख्न पाइन्छ । राजा धर्मागत सेनको दरवार अगाडि ऐतिहासिक रानीपोखरी रहेको छ । आकाशवाट परेको पानीबाट बनेको यो पोखरीमा पानी कहिल्यै पनि सुक्दैन । यो पोखरी सामुदि्रक सतहबाट १५३९ मिटर अग्लो स्थानमा छ ।
मिर्लुङको ठुलढुंगामा ऐतिहासिक सिद्ध गुफा रहेको छ । मिर्लुङकोट पर्यटन पदमार्गमा आदिकवि भानुभक्तको जन्मस्थान, जन्मघर, भानु संग्राहालय मात्र होइन बसन्तपुरको चर्चित थानीमाई मन्दिरसमेत पर्दछ । कात्तिक महिनाको पहिलो सोमवारदेखि पुष र बैशाख, जेष्ठ, असार, साउन, भाद्र, असोज बाहेकका बाँकी महिनाको प्रत्येक सोमवार थानीमाईको भाकल गरि फूलको डोली लैजाने परम्परा छ ।
मिर्लुङको पश्चिम तर्फ शक्तिदेवको रुपमा मानिने शिखर कटेरी भयरको मन्दिर त्यसको ठीक उत्तरतर्फ नेपालको प्रजातान्त्रिक आन्दोलनमा शहादत प्राप्त गरेका शहिदहरुको जन्मस्थल पुलिमराङमा शहिद पार्क रहेको छ ।
रिस्ती गाविस-७ मा रहेका यो शहिद स्मारक ११५० मिटरको उचाइमा छ । सतिश्वारा गाविसमा पर्ने ऐतिहासिक दर्गा जामे मस्जिद बिक्रम सम्वत १७१३ मा राजा मुकुन्द सेनकी श्रीमती तिलोत्तमा रानीले निर्माण गर्न लगाएकी थिइन्, यो पनि आकर्षणको केन्द्र हो । तान्द्रागकोट नागभैरव मन्दिरमा महापुरुष अमरसिंह थापाले विक्रम संवत १८९७ मा चढाएको घण्टा अझै पनि सुरक्षित छ ।
यस्तै करपुटारमा रहेको इशानेश्वर महादेवको मन्दिर भएको स्थानमा महादेव पत्नी सतीदेवप्को अंग पतन भएको थियो । धार्मिक स्थलहरुमा यो पशुपतिनाथ जतिकै महत्वपूर्ण मान्न सकिन्छ ।
बर्षेनी महोत्सव
मिर्लुङकोटको पर्यटन विकासका लागि मात्र नभइ यसको पहिचानलाई राष्ट्रिय रुपमा नै स्थापित गर्ने जमर्कोहरु थालिएका छन् । भौगोलिक दृष्टिकोणबाट केही समस्या भए पनि मिर्लुङकोटलाई चिनाउन हरेक बर्ष ‘मिर्लुङकोट पर्यटन महोत्सव’ गर्ने गरिएको छ ।
मिर्लुङकोट सूचना केन्द्रका अध्यक्ष सुशीलचन्द्र भण्डारीको नेतृत्वमा हरेक बर्ष मिर्लुङमा महोत्सव गरिएको हो । २०६७ साल चैत २८ गते स्थापना भएको मिर्लुङकोट २०७० सालमा फागुन १९, २० र २१ ग्ाते मिर्लुङकोट पर्यटन महोत्सव आयोजना गरियो भने २०७१ म्ाा फागुन २७ देखि २९ गतेसम्म ३ दिन महोत्सव गरिएको थियो ।
प्रतिक्रिया 4