
तिमीले ‘देश’ भन्दा,
म ‘सुदूर’ सम्झिन्छु
तिमीले नेपाल भन्दा
म सुदूर सम्झिन्छु ।
जहाँ नदी तर्ने तुइनमा अडिएको छ मेरो पहिचान, सेतीको छालहरू जस्तै आक्रोशले बगेको छ मेरो मन।
जहाँ महाकाली सुसाउँदै सुनाउँछ सिमानाका कथाहरू, जहाँ कैलालीका बाँझा खेतहरू, अछामका उराठ पाखाहरू, बैतडीका निराश पाटनहरू सोध्छन्, ‘खोइ, कहाँ छन् तिमीहरूका मसिहा ?’
खोइ कहाँ छ मेरो लालपूर्जा ?
भोट माग्ने बेलामा झन्डै विकास भइसकेको यो ठाउँले सोध्छ, ‘किन हाम्रा भागमा सधैं परिरहे दु:खका सखिया नाचहरू मात्रै ?’
कञ्चनपुर ठेठ देउडा भाकामा गाउदै सुनाउँछ, बझाङ, बाजुरा, डोटीका पर्वतहरू पनि चिच्याउँछन्, दार्चुला पनि आफ्नै अस्तित्वमा प्रश्न गर्दै भन्छ, ‘हामी किन केवल भूगोलको नक्शामा मात्रै सीमित भयौँ ?’
अलि माथिबाट अपि र सैपाल हाँस्दै भन्छन्,
‘देशको नक्सामा अट्दैमा, देशमा अटिन्छ र ?’
त्यसैले, तिमीले देश भन्दा
म सुदूर सम्झिन्छु, खप्तड, बडिमालिकाको सौन्दर्य सम्झिन्छु ।
र सम्झिन्छु, कि कसरी तिमीहरूले हामीलाई सिमाना मात्रै देख्यौ, हाम्रो सिङ्गो भूगोललाई राजनीतिक दृष्टिकोणले हेर्यौ, यहाँका मान्छे तिमीहरूलाई आफ्ना लाग्दैनन्, यहाँको गरिबी देख्दा तिमीहरूलाई घिन लाग्छ ।
तर, लिपुलेक र लिम्पियाधुरा भन्नासाथ, उम्लिन्छ तिम्रो राष्ट्रभक्ति, र सम्झिन्छौ दशगजा ।
त्यसैले तिमीहरूले लिपुलेक हाम्रो हो भन्दा, म सिङ्गो सुदूर सम्झिन्छु, यहाँका युवाहरू सम्झिन्छु, जो नुन खान भारतका सडकमा पसिना बगाइरहेका छन् ।
यहाँका कथाहरू सम्झिन्छु
जो तिम्रो सरकार, सदन र संविधानले देखेको छैन
र पो तिमीले ‘देश’ भन्दा
म ‘सुदूर’ सम्झिन्छु ।
प्रतिक्रिया 4