Comments Add Comment

को हुन् गच्छदारलाई ‘गद्दार’ घोषणा गर्ने मृगेन्द्र ?

१ कात्तिक, सप्तरी । अन्ततः फोरम लोकतान्त्रिक पार्टीका पूर्वमहासचिव मृगेन्द्रसिंह यादवले विजयकुमार गच्छदारलाई ‘गद्दार’ घोषित गरेका छन् । मधेसी जनताको रगतमा लत्पतिएर गच्छदार सरकारमा गएको भन्दै यादवले आइतबार राजबिराजस्थित आफ्नै घरमा पत्रकार सम्मेलन गरेर पार्टी परित्याग गरेको घोषणा गरे ।

Mrigendra-Sing

पूर्वमहासचिव यादवको नेतृत्वमा सप्तरीका अधिकांश कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । फोरम लोकतान्त्रिकका जिल्ला अध्यक्ष सत्यनारायण यादवले ५१ सदस्यीय जिल्ला समितिमध्ये सचिव भोगेन्द्र चौधरी र कोषाध्यक्ष बिन्दु यादवबाहेक सबैले एकसाथ पार्टी परित्याग गरेको बताएका छन् ।

त्यस्तै क्षेत्रीय समिति, गाउँ समितिका पनि ९० प्रतिशतले पार्टी छाडेको यादवले बताए । यसअघि सिरहा, बारा, पर्सा जिल्लाका फोरम लोकतान्त्रिकका सम्पूर्णले पार्टी परित्याग गरिसकेका छन् ।

गच्छदारले गद्दारी गरेको आरोप

पूर्वमन्त्रीसमेत रहेका यादवले मधेस र थरुहटको भावना विपरीत विजय गच्छदारले काम गरेको बताएका छन् । पार्टी अध्यक्ष गच्छदारलाई उनले ‘गद्दार’ को संज्ञा दिए ।

‘उनी अब जनताको नेता रहेनन्’ यादवले भने, ‘गच्छदार त सत्ताको पूजारी भए, जनतालाई धोका दिए ।’

स्वायत्त थरुहट-मधेश प्रदेश, जनसंख्याका आधारमा निर्वाचन क्षेत्रको निर्धारण, राष्ट्रिय सभामा प्रदेशको जनसंख्याको अनुपातमा सिट निर्धारणका साथै संविधानमा रहेका अन्य थरुहट-मधेस बिरोधी प्रावधानहरुको अन्त्यका लागि जारी आन्दोलनले सार्थक निष्कर्ष प्राप्त गरिनसक्दै आन्दोलनलाई नै समाप्त गर्ने गरी गच्छदारले आत्मघाती निर्णय गरेको उनको आरोप छ ।

पार्टीको केन्द्रीय कार्यसमिति, राजनीतिक समिति, पदाधिकारी समिति लगायत कुनै पनि आधिकारिक अंगको परामर्श वा निर्णय दलिई थरुहट-मधेस बिरोधी शक्तिसँग गठबन्धन गरी गच्छदार उपप्रधानमन्त्री पदमा बहाल भएपछि कार्यकर्ताहरु मर्माहत भएको यादवले बताए ।

‘मधेस र थरुहटका मुद्दालाई तिलाञ्जली दिँदै गच्छदार रगतले लत्पतिएको कुर्सीमा विराजमान भएपछि आफ्नो आत्माले पार्टीमा बसिरहन मानेन्’ उनले भने, “४५ जना मधेसी जनताको रगतले लत्पतिएको सत्तारुपी कुर्सीमा आफ्नै पार्टीका नेता बिराजमान हुन्छन् भन्ने कुराको कल्पनासमेत गरेको थिइनँ ।’

‘जसरी जनताले रगत बगाएका छन्, त्यो रगतको कुनै मतलव नै अध्यक्षले दिएनन्’ उनले भने, “रगतमा पौडी खेलेर सत्तासम्म पुग्नु जनतासँग धोका मात्र होइन, महापाप हो ।”

उनले भने, “जे उद्देश्यका लागि फोरम लोकतान्त्रिकको गठन भएको थियो, त्यो पूरा गर्नेतर्फ पार्टीले कुनै पहलकदमी गरेन । बारम्बार पार्टीमा मधेसका मुद्दालाई स्थापित गराउनका लागि आवाज उठे पनि अध्यक्ष गच्छदारले कुनै ध्यान नदिनु र सत्ताकै लागि मरिहत्ते मात्र गर्न खोजेपछि गच्छदार सत्ताकै लागि मात्र राजनीति गरिरहेको पनि प्रष्ट हुन्छ ।”

को हुन् मृगेन्द्र ?

फोरम लोकतान्त्रिकको महासचिव परित्याग गरेका यादव पुराना राजनीतिज्ञ एवं मधेसका जमिन्दार हुन् । खानदानी राजनीतिक परिवारका सदस्य यादवका पिता स्व. शत्रुघनसिंह यादव पनि पञ्चायतकालमा सकृय राजनीतिज्ञ मानिएका थिए ।

राजनीतिसँगै दानी मानिएका उनका पिता स्व. शत्रुघनले १११ विघा जग्गा बोदे बर्साइनस्थित विद्यालयलाई २०११ सालमा दान दिएका थिए । अहिले जिल्लामै सर्वाधिक धनी रहेको यो उमाविको विकासमा यादव परिवारको योगदान जान्छ ।

आफ्ना पिता नै राजनीतिज्ञ भएपछि राजनीतिमा होमिन सहज भएको बताउने मृगेन्द्रले शुरुमा नेपाल सदभावना पार्टीबाट राजनीति शुरु गरेका थिए । गजेन्द्रनारायण सिंहका साथमा रहेर राजनीति शुरु गरेका यादव ०६१ सालमा राजा ज्ञानेन्द्रले ‘कु’ गर्दा भने राजातिर लागे । त्यसबेला उनी सगरमाथा अञ्चलको प्रशासक भए ।

जनआन्दोलन पश्चात केही दिनभित्रै उनी मधेस आन्दोलन पश्चात उदय भएको फोरम नेपालमा समाहित भए । पहिलो संविधानसभाको निर्वाचनमा सप्तरी क्षेत्र नम्बर ६ बाट निर्वाचित उनी मन्त्रीसम्म बन्न पाए ।

कृषि मन्त्री बनेका यादव फोरमको विभाजनपछि उपेन्द्र यादवलाई छाडेर गच्छदारतिर लागे । फोरम लोकतान्त्रिक गठनसँगै सप्तरी जिल्ला अध्यक्षको जिम्मेबारी सम्हाल्दै केन्द्रीय महासचिवसम्म बने । फोरम लोकतान्त्रिकमा आएपछि दोस्रो संविधानसभा निर्वाचनमा उनी सप्तरी क्षेत्र नम्बर ६ मा पराजित भए ।

सदभावना र तमलोपामा नगए नयाँ शक्ति

अब कुन पार्टीमा जाने ? भनेर सञ्चारकर्मीहरुले राखेको जिज्ञासामा यादवले तत्कालै कुनै पार्टीमा जाने सोच नरहेको प्रतिकृया दिए ।

तर, उनले दुईवटा मधेसवादी पार्टीसँग आफू सम्पर्कमा रहेको बताए । तर, तत्कालै कुनै पार्टीमा नजाने उदघोष गरे । यादवले तराई मधेस लोकतान्त्रिक पार्टी र सदभावना पार्टीको सम्पर्कमा आफू रहेको बताए ।

‘अहिले कुनै पार्टीमा जाने सोच छैन । पार्टी परित्याग गर्ने अन्य जिल्लाका नेता/कार्यकर्ताहरुसँग छलफल गरेर मात्रै कुनै निर्णय गर्नेछु,’ उनले भने, ‘नेता/कार्यकर्ताहरुले जे सल्लाह दिन्छन् त्यही गर्छु, सबैले पार्टीमै जान भने पार्टीमै जान्छौं, छुट्टै बनाउन भने छुट्टै बनाउँछौं ।’

छुट्टै शक्ति बनाउनेबारे पनि छलफल भइरहेको यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment