Comments Add Comment

प्रधानमन्त्रीलाई पत्रः मधेस गएर जनताको आवाज सुन्ने प्रयास गर्नुस्

सम्माननीय श्री केपी शर्मा ओली ज्यू

प्रधानमन्त्री, नेपाल सरकार

सिंहदरवार, काठमाडौं ।

विषयः मधेसका जनताको संघर्ष सम्बोधन गर्ने र हिउँद अगाडि हिमाल र विकट पहाडमा खाद्यान्न र इन्धन भण्डारण सहजीकरण बारे ।

सम्माननीय प्रधानमन्त्री ज्यू,

एउटा सजग र जिम्मेवार नागरिकको हैसियतले यहाँलाई यो पत्र अनुरोध लेखेर राष्ट्रको तत्कालीन हावी भएको मानवीय संकटबारे ध्यान केन्द्रित गराउँदै समस्या समाधानतर्फ कदम चाल्न प्रेरित गर्ने प्रयास गर्दैछु ।

सन्तोष साह
सन्तोष साह

विगत दुई महिनादेखि तराईमा निरन्तर आन्दोलन, बन्द तथा हत्या हिंसा भइरहेको यहाँलाई विभिन्न सञ्चार माध्यममार्फत अवगत नै होला । इन्धन र अत्यावश्यक सामाग्रीको अभावले शक्तिशाली र धनाढ्यलाई त्यती साह्रो असर नपरेपनि राजधानी, पहाड, हिमाल र स्वयं तराईका सार्वसाधारणको जीवन कष्टकर भएको र आन्दानीको स्रोतमा ह्रास आएको कुरा यहाँले बुझ्नु भएको होला भन्ने आशा गर्दछु ।

हिउँद मौसमभरिको लागि हिमाल र विकट पहाडका गाउँहरुमा आसोज कात्तिक महिनामै खाद्यान्न, इन्धन, औषधि आदि भण्डारण पनि सम्भव हुँदैन र हिमपातका कारण गोरेटो बाटो पनि अवरुद्ध हुने गर्छ ।

हाल इन्धनको अभावका कारण हवाइजहाजहरु आवश्यकता अनुसार यी गन्तव्यमा पुग्न सकेको छैनन् । केदी दिनभित्र यी क्षेत्रमा ती सामाग्री भण्डारण गर्न सकिएन भने जानतालाई यो हिउँद काट्न नै जीवन मरणको परिस्थितिमा सिर्जना हुनजान्छ । यी क्षेत्र मध्ये थुप्रै गत वैशाखको विनाकाकारी भूकम्पबाट प्रभावित क्षेत्र पनि पर्दर्छन् ।

मधेस, पहाड, हिमाल र राजधानी सबै ठाउँका जनता मेरा लागि बराबर छन् । मधेस केन्द्रीत राजनीतिक दलहरुसँग मेरो कुनै लिनु दिनु छैन । तर, जनतासँग मेरो राष्ट्रियताको नाता छ । आन्दोलनमा उत्रिएका थुप्रै जनताहरु पनि पार्टी राजनीतिभन्दा पर केवल नागरिक-जिम्मेवारी र राष्ट्र धर्मकै पक्षमा आन्दोलनरत छन् । मधेस केन्द्रीत दलहरुसँग एक राजनीतिज्ञको नाताले औनौपचारिक रुपमा विभिन्न नेताहरुसँग पक्कै पनि यहाँको सम्वाद भइरहेका होला । मेरो अनुरोध यो छ कि मधेसका जनतासँग पनि यहाँले यथाशिघ्र सम्वाद र साक्षात्कार गर्ने बेला भइसकेको छ ।

२०६३ बैखाशमा तत्कालीन राजा ज्ञानेन्द्रको एकलौटी शासनविरुद्ध भएको जनआन्दोलन पनि २-३ हप्तामै थोरै जनधनको क्षतिमा निष्कर्षमा पुगी लोकतन्त्रको बहाली भएको थियो । तर, हाल भइरहेको तराई आन्दोलन २ महिना वितिसक्दा पनि निष्कर्षमा पुग्न सकेको छैन । आज सरकारले आन्दोलनरत जनताको कुरा सुन्छ, भोलि सुन्छ भन्दाभन्दै यतिका समय बितिसक्यो । ४६ जना नेपाली जनताले ज्यान गुमाइसके, सयौं घाइते भएका छन् ।

एक पटक तराईको आन्दोलनरत कुनै पनि स्थानमा गई जनताको आशा, आकांक्षा र आवाज सुनेर उहाँहरुको आग्रह बुझ्ने प्रयास गर्नुहोस् । मधेसको भोगाइ र पीडा वास्तविक हुन् । मधेसी जनताको संघर्षको मूल मर्म बुझ्ने र ममन गर्ने प्रयास गर्नु हुनेछ भन्ने मेरो अपेक्षा छ ।
भिडन्तमा परेका आन्दोलनकारी र प्रहरी दुबै हाम्रो देशकै नागरिक हुन् । विना कारण उनीहरु एकअर्कासँग भिड्नु पर्ने वातावरण सिर्जना भएको छ । यो दुई महिनाको अवधिमा ज्यान गुमाएका जनता र प्रहरीका परिवारलाई भेटेर उहाँहरुको दुःख र पीडामा सरिह हुन पनि तपाईको अहिलेको जिम्मेवारी हो ।

राजनीतिको गणित र विधिको शासनको सतरन्जी खेलभन्दा एक स्तरमाथि उठेर मानवता र नागरिकको स्तरमा मनबाट निर्णय दिने बेला आएको छ । मानवताको दृष्टिबाट सही निर्णय लिनु हुनेछ भने मेरो आशा छ । प्रधाानमन्त्री पद जनताप्रति नै उत्तरदायी हुन्छ । त्यसैले ती जनतालाई सम्बोधन गर्नु हुनेछ भन्ने मेरो अपेक्षा छ ।

भारतसँगको कुटनीति र मधेसी जनताको विषय फरक फरक पाटा हुुनु पर्ने हो । तर, नेपाल र भारतको कूटनीतिक असफलतालाई मधेसका सिधासाधा जनतामाथि दोष थुपारेर कर्तव्यबाट पलायन भएको देखिन्छ । भारतसँगको समस्या समाधानका लागि सरकारी स्तरबाट नै ठोस र सफल कूटनीतिक पहल आवश्यकता छ । मधेस, पहाड, हिमाल र राजधानीका जनतालाई दसैं, तिहार र छठ पर्व सुखद र भावपूर्ण रुपमा मनाउने वातावरण सिर्जना गर्न ठोस पहल गर्न अनुरोध गर्दछु ।

भेदभाव र टुटफुट गराएर राज गर्ने राजनीतिको शैली अब पुरानो र असान्दर्भिक भइसक्यो । नयाँ राजनीति भनेको जनतालाई एकताको मालामा गाँसेर देशलाई शान्ति र विकासतर्फ नेतृत्व गर्नु हो । अहिलेको मानवीय संकटलाई समस्या र चुनौतीभन्दा पनि जनतालाई सेवा पुर्‍याउने र राष्ट्रिय धर्म पुरा गर्ने अवसरको रुपमा यहाँले लिनु हुनेछ भनि आग्रह गर्दछु । धन्यवाद

सन्तोष साह
बरहथवा, सर्लाही

(मधेसका पत्रकार एवं विश्लेषक साहले सोमबार प्रधानमन्त्रीलार्इ पठाएको पत्र । उनले प्रधानमन्त्रीको सचिवालयमा दर्ता गराएका छन् । )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment