Comments Add Comment

प्रथम राष्ट्रपतिले किन रोजेनन् ललितपुरको आफ्नै घर ?

Rambaran-yadav-Presedent-of

११ कात्तिक, काठमाडौं । व्यवस्थापिका संसदमा बुधबार दिउँसो ११ बजे नयाँ राष्ट्रपतिको मतदान प्रक्रिया सुरु हुँदैगर्दा शीतलनिवासबाट एउटा टोली ललितपुरको एकान्तकुनातर्फ लाग्यो ।

‘निवर्तमान हुनै लागेका राष्ट्रपतिज्यूका लागि डेरा फेला परेकाले अवलोकन गर्न त्यहाँ टोली खटाइएको हो,’ शीतलनिवास स्रोतले अनलाइनखबरसँग भन्यो, ‘भैंसेपाटी र एकान्तकुनाको आसपासमा एउटा घर फेला परेको छ, त्यसैले उपयुक्त हुन्छ कि हुँदैन भनेर हेर्न लागिएको हो ।’

नयाँ राष्ट्रपतिका लागि निर्वाचन प्रक्रिया प्रारम्भ भएको दिनसम्म यादवका लागि डेराकै चिन्ता छ । दसैंपछि लगत्तै राष्ट्रपतिको चुनाव हुने पूर्वजानकारी भए पनि समय छँदासम्म काम नगर्ने र अन्तिम घडीमा दौडधूप गर्ने नेपाली प्रचलन राष्ट्रपतिको डेरा खोज्दासमेत कायमै रह्यो ।

पूर्वराष्ट्रपतिको आवासका लागि ठूलो कम्पाउण्ड एवं सुरक्षाकर्मीहरु समेत बस्न मिल्ने संरचना भएको ठाउँ चाहिएकाले डेरा भेटाउन सकस परेको शीतलनिवास स्रोतले अनलाइनखबरलाई बतायो ।

ललितपुरमा आफ्नै घर छ

धनुषामा जन्मेका प्रथम राष्ट्रपति डा. रामवरण यादवको राजधानीमा घरै नभएको चाँहि होइन । ललितपुरको भैंसेपाटी नजिकै डा. यादवको आफ्नै घर छ ।

तर, आफ्नो निजी निवासमा नबसेर उनी सरकारले आजीवन भाडा तिरिदिने आवास गृहमा सर्न लागेका हुन् ।

ललितपुरको एकान्तकुनास्थित खाद्य गोदामभन्दा पूर्वपट्टकिो हाउजिङमा डा. यादवको घर छ । राष्ट्रपति हुनुभन्दा अघिसम्म उनी सोही घरमा बस्थे ।

तर, अहिले सो घर साँघुरो हुने भएकाले त्यहाँ बस्न नसकिने यादव निकट स्रोतले अनलाइनखबरलाई बतायो । स्रोतले भन्यो- ‘उहाँको सो घर भूकम्पले बस्नै नहुने बनाइदिएको छ ।’

प्रथम राष्ट्रपतिको नजीर

रामवरणमाथि राज्यले दिन लागेको यो सुविधा दोस्रो राष्ट्रपतिका हकमा पनि लागु हुनेछ ।

अब बन्ने राष्ट्रपतिको कार्यकाल आउँदो दुई वर्षमा सकिनेछ, त्यसपछि राज्यले दुई जना राष्ट्रपतिलाई पाल्नुपर्ने हुन्छ ।

उसो त म्यानमारकी लोकतान्त्रिक नेतृ आङ सान सुकीले नेपाल आउँदा ८ जना पूर्वप्रधानमन्त्रीहरु देखेर आश्चर्य जनाएकी थिइन् । तर, अब नेपालले डा. रामवरण यादवजस्तै पूर्वराष्ट्रपतिहरुको समेत संख्या बढाउँदै जानेछ, जसको व्यवस्थापनका लागि राज्यकोषमा व्यवभार यसैगरी थपिँदै जानेछ ।

प्रथम राष्ट्रपतिले राज्यलाई कम व्यवभार हुने गरी आफ्नै आवासमा सामान्यरुपमा बस्ने इच्छा जनाएको भए यसले अन्य नेताहरुलाई पनि राम्रो सन्देश दिने थियो । र गरीव देशले धेरै नेताहरु पाल्नुपर्ने बाध्यता कम हुने थियो कि ? यसमा बहस आवश्यक देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment