Comments Add Comment

ग्यास बचत गर्न गृहणीलाई १२ टिप्स

How to save LP gas

भारतीय नाकाबन्दीका कारण इन्धनको संकट गहिरिएका बेला धेरै गृहणीहरु ग्यासको खपत कम गर्ने उपायहरुको खोजीमा लागेका छन् । धेरै काठमाडौंबासीको चुल्होमा ग्यास सकिइसकेको छ भने केहीले जसोतसो पुर्‍याइरहेका छन् । धेरैको टेन्सन छ-ग्यासको खपत कसरी कम गर्ने ? उनीहरुलाई उपयोगी हुने १२ प्रभावकारी उपायहरु यहाँ प्रस्तुत गरिएको छ ।

१. बर्नरमा राख्नुअघि भाँडाकुडालाई राम्रोसित पुछ्नुस । भाँडामा पानी लागेको भए त्यसलाई सुकाउन लाग्ने अतिरिक्त ग्यासको वचत हुन्छ । भाँडा बसाल्नुअघि नै पकाउन आवश्यक सामग्रीहरु वरिपरी राख्नुस । ग्यास बालेपछि नून-तेल खोज्न अल्मलिनु हुँदैन । फ्रिजमा रहेका तरकारीहरु अगाडी नै बाहिर निकालेर राख्नुपर्छ । तरकारी धेरै चिसो भयो भने तात्न समय लाग्छ ।

२. बसालेको खानेकुरा तातिसकेपछि ग्यासको बर्नरलाई मिडियम वा स्लो मोडमा राखेर पकाउनु ठिक हुन्छ । ह्वार्र ग्यास बाल्दैमा चाँडो पाक्ने होइन, ग्यास खेर मात्रै जान्छ । सानो ग्यासमा पकाएका खानेकुरा राम्रोसित पाक्ने र स्वाद पनि मिठो हुन्छ ।

३. ग्यास वचन गर्नका लागि खुल्ला मुख भएका भाँडोमा सकभर नपकाउनु राम्रो हुन्छ । बिर्को भएका भाँडामा पकाउँदा ताप खेर जाँदैन । त्यसैले संभव भएसम्म कराईमा भन्दा प्रेसर कुकरमा पकाउनु राम्रो हो । अर्को महत्वपूर्ण कुरा, भाँडा धेरै सानो हुनुहुँदैन । आगोको लप्का भाँडाभन्दा बाहिर गयो भने ग्यास खेर जान्छ ।

४. दाल-तरकारी पकाउँदा पहिल्यै धेरै पानी हाल्नु हुँदैन । पानी धेरै हाल्दा खानेकुरा पाक्न समय लाग्छ । पाकिसकेपछि आवश्यक परिमाणमा पानी तताएर मिसाउँदा ग्यास वचत हुन्छ । बिद्युतीय यन्त्र वा सोलारबाट तताएको पानी प्रयोग गर्नु राम्रो ।

५. विद्यूतीय सामग्रीहरुको बढिभन्दा बढि प्रयोग गर्नुपर्छ । पानी उमाल्ने काममा सकभर ग्यास प्रयोग नगरौं । राइस कुकरमा भात पकाउनुभयो भने ग्यासै चाहिदैन । प्रेसर कुकरमा नै पकाउने हो भने पनि विद्युतीय उपरकणमा पानी उमालेर प्रयोग गर्न सकिन्छ । राइसकुकरमा भातमात्र हैन, धेरै कुरा पकाउन सकिन्छ ।

६. खाना पकाइसकेपछि रेगुलेटर बन्द गर्नुपर्छ । रेगुलेटर, पाइप, बर्नरहरुलाई नियमित रुपमा सफा गर्ने र लिक भए नभएको चेक गर्ने गर्नुपर्छ ।

७. घरमा फ्रिज छ भने तपाईंले ग्यासको खपत धेरै कम गर्न सक्नुहुन्छ । एकैपटक धेरै परिमाणमा तरकारी पकाएर फ्रिजमा राखिदियो भने अर्को पटक त्यसैलाई तताएर खान सकिन्छ । घरमा भएको बिद्युतीय माइक्रोओभनबाटै धेरै खानेकुरा तताउन सकिन्छ ।

८. आगोको ज्वाला सामान्यतया रंगहिन वा निलो रंगको हुनुपर्छ । यदी ज्वाला पहेँलो छ भने ग्यासले राम्रोसित आगो र तापक्रम पैदा गर्न नसकेको ठहरिन्छ । त्यस्तो बेला जान्ने मान्छेलाई देखाउनु आवश्यक छ ।

९. माटोको भाँडोमा भन्दा धातु (जस्तै स्टेनलेस स्टिल)को भाँडोमा चाँडै खानेकुरा पाक्छ किनकी धातुहरुमा तापको तीव्र प्रसार हुन्छ । त्यसैले सकभर धातुकै भाँडामा पकाउनु आवश्यक छ ।

१०. सामान्यतया नेपालीहरुले दाल, भात, तरकारी र अचार खाने चलन छ । उर्जा कम भएका बेला भान्सामा यी सवै खानेकुरा पकाउनुको साटो कुनै एउटा परिकार कम गर्नु बुद्धिमानी हुन्छ । इन्धनको प्रयोग नहुने अचार र दाल वा तरकारीमा झोल हाल्ने बिधि पनि उपयुक्त हुन्छ ।

११. सानो परिवार छ भने, राइस कुकरमा भात पकाउने बेलामै आलु वा अण्डा हालेर उसिन्न पनि सकिन्छ । चामल र दाल एकैसाथ पकाउने विधि पनि उपयुक्त हुनसक्छ । पकाउन समय लाग्ने दालजन्य चिजलाई पहिले नै पानीमा भिजाएर राख्नुभयो भने छिटो पाक्छ ।

१२. यदि तपाइँसँग खुला ठाउँ छ भने व्रिकेट वा कोइलाको माध्यमबाट पनि खाना पकाउन सक्नुहुन्छ । काठमाण्डुमा अहिले धेरै परिवारले दाउराबाट खाना पकाउन पनि थालिसकेका छन् । यो अन्तिम अबस्थामा पुग्नु अगावै थोरै भए पनि अाफुसँग रहेको ग्यास जोगाउन सक्नुभयो भने केही दिन दाउरा बाल्ने स्थितिमा पुग्नुपर्ने छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment