+
+
Shares

ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड

एकातिर विक्रेतालाई ग्यास नदिने र अर्कातिर अनुगमनको बहानामा दु:ख दिने सरकारी रवैयाका कारण बजार भद्रगोल बनेको महासंघको ठहर छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ३१ गते १३:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ग्यास विक्रेता महासंघले उद्योग र विभिन्न केन्द्रबाट भइरहेको प्रत्यक्ष ग्यास बिक्री तत्काल रोक्न सरकारसँग माग गरेको छ ।
  • महासंघ अध्यक्ष ज्ञानेश्वर अर्यालले डिलर मार्फत मात्र वितरण गर्दा उपभोक्ताले पाइरहेको सास्ती अन्त्य हुने दाबी गरे ।
  • विगत चार महिनामा ६० हजार टन ग्यास कम आयात भएको र बजारमा नयाँ सिलिन्डरको अत्यधिक चाप रहेको महासंघले जनाएको छ ।

३१ साउन, काठमाडौं । देशभरि खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला ग्यास विक्रेता महासंघ नेपालले उद्योग र विभिन्न नामका बिक्री केन्द्रबाट भइरहेको ग्यासको प्रत्यक्ष बिक्री तत्काल रोक्न सरकारसँग माग गरेको छ ।

महासंघ अध्यक्ष ज्ञानेश्वर अर्यालले प्रभावकारी वितरण च्यानल (विक्रेता/डिलर) पन्छाएर उद्योग र विभिन्न केन्द्रमार्फत आफैं ग्यास बेच्ने निर्णयले अभाव थप जटिल बनेको र उपभोक्ताले अनावश्यक सास्ती खेप्नुपरेको भन्दै त्यस्तो कार्य तत्काल रोक्न माग गरेका हुन् ।

एकातिर विक्रेतालाई ग्यास नदिने र अर्कातिर अनुगमनको बहानामा दु:ख दिने सरकारी रवैयाका कारण बजार भद्रगोल बनेको महासंघको ठहर छ ।

‘सरकार, उद्योग र बिक्री केन्द्रका नामबाट आफैं ग्यास बिक्री गर्ने, अनि अनुगमनका नाममा आम विक्रेतालाई अनावश्यक दु:ख दिने सरकारी रवैयाप्रति ग्यास विक्रेता महासंघ घोर आपत्ति प्रकट गर्दछ,’ महासंघबाट जारी विज्ञप्तिमा छ ।

महासंघले तत्काल ग्यास उद्योग र विभिन्न नामका बिक्री केन्द्रहरू बन्द गरी विक्रेता मार्फत मात्रै बिक्री वितरण सहज गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

डिलरमार्फत वितरण प्रणाली मिलाए मात्र उपभोक्ताले पाइरहेको सास्ती अन्त्य हुने र वास्तविक समस्या समाधान हुने महासंघको दाबी छ ।

यसका साथै विगत चार महिनामा करिब ६० हजार टन ग्यास कम आयात भएको तथ्यांक पनि महासंघले सार्वजनिक गरेको छ ।

बजारमा आवश्यकता भन्दा बढी (करिब ८० लाख) नयाँ सिलिन्डर छरिएकाले पनि अहिलेको स्थिति उत्पन्न भएको विज्ञप्तिमा उल्लेख छ ।

अहिले पनि नयाँ सिलिन्डर बिक्री नरोकिएको भन्दै महासंघले यसलाई तत्काल नियन्त्रण नगरिए आगामी वर्षहरूमा ग्यास अभावको समस्या झन् विकराल बन्ने निश्चित रहेको चेतावनी दिएको छ ।

सम्बन्धित निकाय नेपाल आयल निगम, वाणिज्य मन्त्रालय र सरकारले वास्तविक समस्या समाधान गर्नुको सट्टा अनावश्यक प्रचारबाजी मात्र गरिरहेको महासंघको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?