News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेता अनुज पाण्डेले अभिनयलाई चरित्र निभाउने माध्यमभन्दा पनि पात्रभित्रको मान्छे खोज्ने र सत्यलाई प्रकट गर्ने साधनाका रूपमा लिएका छन् ।
- दश वर्षभन्दा लामो अनुभव सँगालेका पाण्डेले अब आफ्नो स्वभावभन्दा बिल्कुलै भिन्न र जटिल पात्रको खोजीमा रहेको उल्लेख गरे ।
अनुज पाण्डेका पछिल्ला दुई नाटकहरू महिनादिनको अन्तरमा मञ्चन भए ।
ती दुवैमा बिल्कुलै फरक भूमिका निभाएका उनले आफ्नो अभिनयको परिधि देखाउन सकेका छन् । एउटामा उनी अत्यन्तै लाउड सुनिए भने अर्कोमा शालिन।
अहिले मञ्चन भइरहेको उनी अभिनित नाटक हो, जोलिन । यो नाटकमा उनी श्रीमान र प्रेमीको भूमिकामा छन् । जो प्रेममा गलेको छ । कमजोर छ ।
यो नाटकमा उनी लामो समयसम्म स्थिर बस्नुपर्ने छ । सहकलाकार गतिशील छ । तर अनुज कुनै हलचल नगरी चुप बसिरहनुपर्छ । त्यो बेला उनले दर्शकको मनस्थिति बुझ्न सक्छन् । अथवा मानसिक र काल्पनिक रूपमा उनी मञ्च बाहिर हुन सक्छन् । आफ्ना जीवनमा हिसाबकिताब गर्न सक्छन् ।
पङ्क्तिकारको यो जिज्ञासालाई सम्बोधन गर्दै उनी भन्छन् – मैले अब कति बेला हात उठाउनुपर्ने हो ? कति बेला अरु रेगुलर एक्ट गर्नु पर्ने हो ? कतै अर्को पात्रसँग ठोक्किने त होइन ? यी यस्तै सोचि बस्छु । जोनभन्दा बाहिर हुन्न ।
अर्थात्, मञ्चमा लामै समय मौन हुँदा उनी पात्रमै बसिरहन्छन् । उनको यो बाहिरी सचेतता त हो नै । त्योभन्दा बढी उनको भित्री ध्याउन्न हो – मञ्चमा कृत्रिम नबन्ने ।

अर्थात्, उनलाई मञ्चमा कृत्रिम बन्न मन लाग्दैन । भलै नाटकको मञ्च, पात्रहरू सबै कृत्रिम हुन् । तर, उनी तिनमा सजिवता देख्छन् । सजिवताका लागि प्राण चाहिन्छ । उनी पात्रले गर्ने कार्यको कारणमा मञ्चको प्राण देख्छन् । र त चाहेर उनले कहिल्यै हात हल्लाउँदैनन् । त्यसमा कसैले चिमोट्नै पर्छ अथवा अर्थोक केही गर्नै पर्छ ।
यही कारण मञ्चमा आफू कदापी बनावटी हुन नसक्ने उनको भनाइ छ । र, उनको खासियत यही यथार्थमै अडेको छ ।
अनुज वास्तविक जीवनमा शान्त र अपरिचित देखिन चाहन्छन् । उनको स्वभाव अन्तरमूखी छ । तर, मञ्चमा उभिँदा उनको यो वैयक्तिक लेभल कता पो जान्छ ! जीवन विपरीत पूर्णत फरक पात्र आएछ भने पनि उनी त्यसलाई साँचो जसरी प्रस्तुत गर्छन् ।
भनौं, यिनी जब मञ्चमा उत्रिन्छन्, तब पूर्णरूपमा अर्कै अस्तित्वमा फेरिन्छन् । किनकि यिनका लागि मञ्च कला प्रदर्शन गर्ने थलोभन्दा केही बढी हो । यिनि मञ्चलाई मान्छे हुनुको जटिलता र सत्यलाई नढाँटी प्रकट गर्ने एउटा पवित्र साधनास्थल मान्छन् ।
धेरैका लागि अभिनय कुनै चरित्र निभाउनु हो तर उनका लागि अभिनय भनेको चरित्रभित्रको मान्छे खोज्नु हो ।
उनी भन्छन्, ‘क्यारेक्टर भन्दा मलाई मञ्चमा मान्छे देख्नुपर्छ जस्तो लाग्छ । दर्शकले पनि मञ्चमा एक्टरको स्किल वा पर्फर्मेन्स मात्र हेर्न जाने होइन, बरू त्यो एक्टर कसरी मान्छे भइरहेको छ ? कसरी रियाक्ट गरिरहेको छ? भनेर हेर्न जानु पर्छ ।’
र, अभिनयकला, मञ्च प्रतिको उनको वैचारिकी क्रमिक फैलिँदो छ ।

उनको बाल्यकाल भोजपुरको दावा गाउँमा बितेको थियो । त्यहाँ टिभीमा फिल्म हेरिरहँदा उनी अर्कै सोच्थे । अहिले अर्कै । प्रभावमा पनि यो छुटिन्छ । किनकि त्यसबेला उनी फिल्मका पात्रहरूसँग लपक्कै जोडिन्थे । उनको दिमाग नै फिल्मझैं चल्थ्यो ।
दर्पण छाया हेरेपछि चस्मा किनेर अन्धो बनेर हिँड्नु, ममीले गाली गर्दा पनि ढोका लगातार फाइटको हिरोझैं लात हानिरहनु, साथीहरूसँग हिरो-गुन्डाको खेल खेल्नु – उनको नियमित दैनिकी जस्तै भइसकेका थिए ।
अर्को, त्यसबेला उनी पात्र निभाउने कलाकार भन्दा पात्रलाई नजिक ठान्थे । यही भएर शाहरुख खानझैं हिरो बन्ने उनले रहर राखेनन् । बरू शाहरुख खानले निभाएका पात्रहरू उनलाई मन पर्थ्यो । तिनको कथा र जीवन बाँच्न मन पर्थ्यो ।
अलि पछि उनले बुझे – ती पात्रहरू झैं उनी कहिल्यै बन्नै सक्दैनन् । तिनको परिवेश फरक छ । सन्दर्भ अलग छ । तर, उनी ती पात्र बन्न सत्प्रयास गर्ने कलाकार भने पक्कै बन्न सक्थे । यसपछि उनलाई लाग्न थालेको हो – अभिनय भनेको सत्यको खोजी हो ।
मञ्च होस् अथवा क्यामेरा – आजकल उनले यही कुरालाई आफ्नो मन्त्र बनाएका छन् ।

१९ वटा नाटक, १५ फिल्ममा अभिनय र ४ सर्ट फिर्म निर्देशन गरिसकेका उनले यी क्षेत्रमा समय बिताएको १० वर्ष बढी भइसकेको छ । काठमाडौंमा आएर अनुप बरालबाट ३ महिने अभिनय कक्षा लिएर सुरु गरेको अभिनयको यात्राले यी दुवै क्षेत्रको थोरबहुत अनुभव उनलाई दिएको छ ।
अब उनी आफ्नो सामान्य जीवनभन्दा अलग देखिने पात्र निभाउन चाहन्छन् । उनलाई लाग्छ – उनले अहिलेसम्म निभाएका सबै पात्रहरू आफूभन्दा कतै फरक छैन । चाहे बोल्ने शैलीमा, हिँड्ने शैलीमा या सोच्ने शैलीमा होस् – उनी आफूले निभाउने पात्रहरूमा समानता भेट्छन् । अब आफूसँग केही पनि नमिल्ने बिल्कुलै फरक पात्र उनलाई निभाउन मन छ ।

अनि उनलाई थाह छ – कला र जीवनसँगसँगै चल्छ । यिनलाई कहिल्यै छुट्याउन सक्दिनँ । अनि आफू जति पाको हुँदै जान्छु, सोच/विचार त्यति नै विस्तारित हुँदै जान्छ । र, यसले मेरो कामलाई राम्रो बनाउँदै लान्छ ।
अर्थात् उनी पात्र भित्र मान्छे बन्ने दौडमा छन्।
फोटो: शंकर गिरी


प्रतिक्रिया 4