+
+
Shares

धर्मबारे देउवा, धर्म गौतमबारे गगन

काठमाडौंमा आइतबार देउवा समूहको भेला समापनका दिन उनले आफूलाई ‘हिन्दू हुँ’ भनेर तीनपल्ट घोषणा गरे । आइतबारै काठमाडौंको अर्को कार्यक्रममा कांग्रेस सभापति गगनकुमार थापाले बीपी कोइरालासँगै मेलमिलाप नीति लिएर स्वदेश फर्कने पुराना प्रजातान्त्रिक योद्धा धर्म गौतमको पुस्तक विमोचन गरे।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ३१ गते १८:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कांग्रेस पूर्वसभापति शेरबहादुर देउवाले काठमाडौंमा आयोजित समूह भेलामा आफू हिन्दू रहेको घोषणा गर्दै धार्मिक स्वतन्त्रताको पक्षमा आफ्नो धारणा सार्वजनिक गरे।
  • कांग्रेस सभापति गगनकुमार थापाले बीपी कोइराला र गणेशमान सिंहका विचारलाई कसैको पदीय स्वार्थअनुकूल व्याख्या गरेर निजीकरण गर्न नहुने धारणा राखे।

३१ साउन, काठमाडौं । कांग्रेस पूर्वसभापति शेरबहादुर देउवाले राजनीतिक पुनरुत्थानका लागि धर्मको घुमाउरो सहारा लिन खोजेका छन् । काठमाडौंमा आइतबार देउवा समूहको भेला समापनका दिन उनले आफूलाई ‘हिन्दू हुँ’ भनेर तीनपल्ट घोषणा गरे ।

आइतबारै काठमाडौंको अर्को कार्यक्रममा कांग्रेस सभापति गगनकुमार थापाले बीपी कोइरालासँगै मेलमिलाप नीति लिएर स्वदेश फर्कने पुराना प्रजातान्त्रिक योद्धा धर्म गौतमको पुस्तक विमोचन गरे । धर्म गौतमलिखित ‘बीपी र विद्रोहका ती दिन’ विमोचनमा सभापति थापाले बीपी र गणेशमान सिंहका विचारलाई केही व्यक्तिले निजीकरण गर्न खोजेको भन्दै आपत्ति जनाए ।

थापाले आज आफूलगायत नेताहरूका भाषणलाई हेडलाइन नबनाइ धर्म गौतमको पुस्तक तथा समग्र योगदानले महत्त्व पाउनुपर्ने तर्क गरे ।

पहिले देउवाकै कुरा गरुँ। समूह भेलामा देउवाले ‘हरेक आस्थाको सम्मान गर्ने आफू हिन्दू रहेको’ घोषणा गरेका थिए। उनी बोल्ने छेकमै धर्मको विषयलाई लिएर उनीपक्षीय नेताहरू विमलेन्द्र निधि र प्रकाशशरण महतबीच बाझो चलेको थियो । बाझ्दाबाझ्दै उनीहरू धर्मका बारेमा अघि सारिएको दस्तावेज लुछालुछ गर्ने तहसम्म उत्रिएका थिए ।
त्यसपछि देउवा र अरु नेताहरुले हस्तक्षेप गर्नु परेको थियो ।

निधि यसअघि कांग्रेसका तत्कालीन उपसभापति तथा नीति अध्ययन प्रतिष्ठान प्रमुख रहेका बेला संघीयता, धर्मनिरपेक्षतासहितको गणतन्त्रको पक्षधर रहेर दस्तावेजहरु प्रकाशन गरेका थिए । महतसँग उनको गलफत्ती परेको विषय धर्मकै बारेमा थियो ।

देउवा समूहले यसअघि कांग्रेसले २०१२ सालको वीरगन्ज महाधिवेशनयता अंगीकार गर्दैआएको धर्मनिरपेक्षताको नीतिबाट एक कदम अघि बढ्ने संकेत गरेको छ । देउवा स्वयंले आइतबार यसको उद्घोष गरेका छन् ।

उता धर्म गौतमको पुस्तक विमोचनमा बहालवाला कांग्रेस सभापति गगन थापाले भने आफ्नो राजनीतिक करिअरकै सर्वाधिक निन्दा पछिल्ला तीन दिनमा भएको भन्दै असन्तोष जनाए । उनले कांग्रेस र यसका मान्यतालाई वैचारिक बहसभन्दा बढ्ता व्यक्तिका पेवाजसरी चित्रित गर्न खोजिएकामा आफू लगायत नयाँ पुस्ताले यस्तो गर्न नदिने घोषणा गरे ।

‘बीपी गणेशमानलाई कसैको घरभित्र कैद गर्न हुँदैन । आफ्नो पदीय स्वार्थअनुकूल उहाँहरुका विचारलाई व्याख्या गर्नु अनुचित हो । आफूलाई जहाँनिर चाहिन्छ, त्यहाँ आफैं भन्न नसकेर बीपीको नाम लिनु उचित होइन,’ थापाले भने, ‘लाभहानिको हिसाब गरेर रातारात बीपी सम्झिनेहरु यहाँ छन् । उनीहरुले बीपीले यसो भन्नुभएको थियो भनी तोडमोड गर्दा कतिपयले पत्याइदिनुपर्ने बाध्यता छ ।’

थापाले बानेश्वरमा यसो भन्दैगर्दा देउवाले सुकेधारामा ‘म हिन्दू हुँ, आफ्नो धर्मबारे बोल्न पाउनु मेरो अधिकार हो’ भनेका थिए । नेपालका अरु धार्मिक पहिचानप्रति सम्मान रहेको भन्दै उनले आफू हिन्दू धर्म संस्कार अनुसार नै बिहे व्रतबन्ध, मन्दिर आदि सामेल हुने गरेको बताए । ‘मैले म हिन्दू धर्म मान्न पाउनुपर्छ, मानेको छु, तर अरुले आफ्नो धर्म मान्न पाउनुपर्छ । नेपाल हिन्दुराष्ट्र बनाउने कि नबनाउने भन्ने विषय नेपाली जनताको विषय हो ।’

कांग्रेसमा शंकर भण्डारीलगायत केही नेताहरुले हिन्दूराष्ट्रका पक्षमा वकालत तथा गतिविधि गर्दै आएका छन् । कतिपयले भने धार्मिक विषयमा पार्टीले मुखर बन्नुसाटो नागरिकका अरु आवश्यकतामै केन्द्रित हुने पार्टी नीतिले निरन्तरता पाउनुपर्ने मत राखेका छन् । धार्मिक स्वतन्त्रता तथा धर्मपन्थ निरपेक्षतामा कांग्रेसले विश्वास गर्दै आएको यसका दस्तावेजहरुले देखाउँछन् । संयोगवश सभापति थापा र पूर्वसभापति देउवाले एकै दिन पार्टीका आधारभूत मुद्दाहरूबारे मुख खोलेका छन् ।

थापाले बीपीका विचारहरुलाई एक घर, एक गाई अनि सुमाखरको स्मल इज ब्युटिफुलदेखि अहिलेको एआई क्रान्तिसम्म आफैंले सिर्जनात्मक अर्थ लगाउँदै जानुपर्ने बताएका छन् । उनले आजको युगका समस्याहरुउपर आजका नेताहरुले घोत्लिनुपर्ने, अनि समाजमा गएर संवाद गर्नुपर्ने मत राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?