Comments Add Comment

केपी ओली बाउसे, प्रचण्ड प्राविधिक, हरिबोल किसान !

Haribol-Gagurel

१३ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली खेतमा आली लगाउन सिपालु मानिस हुन् भन्ने तथ्य आइतबार कृषिमन्त्रीले खुलासा गरे । ओलीले खेतमा आली लगाउँदा एक गह्रो सिध्याएपछिमात्रै ढाड उठाउने गरेको कृषिमन्त्री हरिबोल गजुरेलले बताए ।

मन्त्री गजुरेलले अर्को पनि के स्पष्ट पार्ने भने केपी ओली आली लगाउन सिपालुभएजस्तै एमाओवादी अध्यक्ष प्रचण्ड स्वयं कृषि प्राविधिक हुन् भने मन्त्री गजुरेल चाँहि कृषि कर्म गरेका अनुभवी किसानसमेत हुन् ।

कृषिमन्त्री गजुरेलले अहिलेको सरकारमा कृषि क्षेत्र र कृषकलाई बुझेका मानिसहरु रहेको दाबी गरे । मन्त्री गजुरेलले आफू सफल कृषक भएको, प्रधानमन्त्री केपी ओली पनि कृषक नै भएको र पार्टी अध्यक्ष प्रचण्डले कृषि प्राविधिक विषय पढेको आइतबार मन्त्रालयमा पत्रकारहरुलाई सुनाए ।

‘मैले कही समयअघि मात्रै कृषिकै विषयमा प्रधानमन्त्रीसँग एक घण्टाभन्दा बढी भेटवार्ता गरेँ,’ मन्त्री गजुरेलले भने, ‘सो अवसरमा प्रधानमन्त्रीले आफू किसानकै छोरो भएको र सानोमा खेतमा आली लगाउँदा एउटा गह्रो आली लगाएपछि मात्रै ढाड उठाउने गरेको बताउनुभयो ।’

मन्त्री गजुरेलले थपे- ‘उहाँ (प्रधानमन्त्री) ले धानको बिउ काढ्दा पनि सबैभन्दा छिटो र राम्रोसँग काढ्ने गरेको सुनाउनुभयो ।’

कृषि विकास मन्त्रालयका प्रतिवद्धताहरु-२०७२ सार्वजनिक गर्दै आइतबार मन्त्री गजुरेलले भने- ‘प्रधानमन्त्रीले पनि कृषिलाई यथार्थमा बुझ्नुभएको छ, उहाँ कृषि क्षेत्रको विकासमा निकै संवेदनशील हुनुहुन्छ ।’

त्यसैगरी, आफू पनि सफल कृषक व्यवसायी भएको उनले दाबी गरे । कृषिमन्त्रीले भने- ‘म पनि डिप्लोमा सकेर कृषि गर्न गाउँ गएको थिएँ, दुई वर्ष सफल कृषक भएर काम गरेँ । त्यसपछि क्रान्तिमा होमिएको हुँ । त्यसैले म कृषि क्षेत्रलाई राम्रोसँग बुझ्छु । यो क्षेत्रका समस्या समाधान गर्न गम्भीर छु ।’

कृषिको क्षेत्रमा क्रान्ति गर्ने उद्देश्यले नै पार्टी अध्यक्ष प्रचण्डले आफूलाई कृषि मन्त्रालयको जिम्मेवारी दिएको गजुरेलले बताए । ‘कृषि मन्त्रालय धेरैले आँखा नलगाएको मन्त्रालय हो । तर, म र हाम्रो पार्टीले कृषि क्षेत्रमा परिवर्तन गर्नुपर्छ भनेर नै हामीले यो मन्त्रालय सम्हालेका हौं,’ उनले भने- हाम्रा पार्टी अध्यक्ष प्रचण्ड कृषिकै विद्यार्थी हो, उहाँले कृषि क्षेत्रको विकासलाई निकै जोड दिनुभएको छ ।’

नेता भ्रष्ट नभए कर्मचारी भ्रष्ट हुँदैनन्

‘कर्मचारीतन्त्रमा व्यापक भ्रष्टाचार छ, यस्तो अवस्थामा कसरी कृषि क्षेत्रको विकास हुन सक्छ ?’ पत्रकारहरुको प्रश्नमा मन्त्री गजुरेलले भने- ‘नेताले भ्रष्टाचार नगर्ने हो भने कर्मचारीले भ्रष्टाचार गर्न सक्दैनन् ।’

भ्रष्टाचार र बेतिथिको दोष कर्मचारीलाई मात्रै लगाउन नहुने गजुरेलले बताए । ‘मुलुकको शासन सञ्चालनको मुहान राजनीति हो, राजनीति राम्रो भए सबैकुरा राम्रो हुन्छ,’ उनले भने- ‘त्यसैले कर्मचारीबाट बिगि्रएको नभई राजनीतिक दल र तिनका नेताबाटै कुरो बिगि्रएको हो ।’

‘लाइनै बसेर ग्यास लिएँ’

समाज बदल्न पहिले आफैं बदलिनुपर्ने मन्त्री गजुरेलले बताए । उनले आफू मन्त्री हुँदाहुँदै पनि लाइनै बसेर ग्यास लिएको बताए । मन्त्री गजुरेलले भने- ‘म मन्त्री हुँ, एक कल फोनको भरमा निवासमै ग्यास आउँछ, तर मैले लाइनमा बसेर ग्यास लिइरहेको छु ।’

यस्तो छ कृषिमन्त्रीको योजना

किसानलाई पेन्सन दिने कृषिमन्त्रीको घोषणा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment