Comments Add Comment

नारायण वाग्लेले महन्थलाई सोधे-तमलोपा भारतले नै बनाएको हो ?

MAHANTHA THAKUR, PRADIP GIRI, PRSHANT

१२ पुस, काठमाडौं । जुन मञ्चमा तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुरले मधेसलाई अलग राष्ट्रको रुपमा व्याख्या गर्दै थिए, त्यही मञ्चमा उभिएर पत्रकार नारायण वाग्लेले उनलाई सोधे, ‘के तमलोपा भारतले बनाएको पार्टी हो ?

हिन्दुस्तान टाइम्सका लागि रिपोर्टिङ गर्ने पत्रकार प्रशान्त झाको पुस्तक गणतन्त्रको संघर्षमा उल्लेखित प्रसंगलाई लिएर वाग्लेले सो प्रश्न गरेका हुन् । वाग्लेका अनुसार झाको पुस्तकमा ‘उपेन्द्र यादवसित अविश्वास बढेपछि महन्त ठाकुरको नेतृत्वमा भारतले तमलोपा निर्माण गरिदिएको’ उल्लेख छ । वाग्ले सो पुस्तकको नेपाली संस्करण विमोचन कार्यक्रममा टिप्पणीकारका रुपमा बोल्दै थिए ।

पत्रकार वाग्लेको प्रश्नमा ठाकुरले कुनै जवाफ नदिइकन टारे । उनले आफूहरु भारतसित नजिक रहेको भने स्वीकार गरे । ‘हामी मात्रै किन अरु पनि त भारतसित नजिक हुन खोजीरहेका छन्,’ ठाकुरले भने ।

विमोचित पुस्तकमाथि पत्रकार वाग्लेले थुप्रै सवालहरु खडा गरेका थिए । यो पुस्तक समकालिन इतिहासको बारेमा लेखिएको भए पनि यसका विवरणहरुले गणतन्त्रको आन्दोलनमा संलग्न बहुतप्कालाई समेट्न नसकेको उनले बताए ।

‘लेखकले एउटा पक्ष लिएर लेखेका छन्, राजनीतिक दृष्टिकोणको चश्मा लगाएका छन् । त्यसैले यो नेपालको समकालिन इतिहासको ऐना होइन,’ वाग्लेले भने । पुस्तकले नेपालका हरेक महत्वपूर्ण निर्णयहरुमा भारतीय भूमिका र सक्रियतामा भएको देखाएर नेपालका संघर्षशील राजनीतिकर्मीहरुलाई निरिह सावित गर्न खोजेको उनले आरोप लगाए ।

पुस्तकको हवाला दिँदै वाग्लेले भने, ‘प्रधानमन्त्रीबाट हटेपछि प्रचण्डले लण्डन, सिंगापुर, मलेशीयासम्म गएर रअका प्रतिनिधीलाई भेटेर बाबुरामलाई प्रधानमन्त्री बनाउने आश्वासन दिएको दावी पुस्तकमा गरिएको छ । तर धोविघाट भेलाबाट बनेको गठवन्धनलाई वेवास्ता गरिएको छ ।’

हिन्दुस्तान टाइम्सको लेखबारे प्रश्न

वाग्लेले लेखक झाको हिन्दुस्तान टाइम्समा प्रकाशित विवादस्पद लेखबारे पनि प्रश्न गरे । उनले भने, ‘मेरा हजुरबा भारतीय हुनुहुन्थ्यो र उहाँलाई तुल्सी गिरीले नेपाली बनाइदिए भन्ने कुरा कुनै हिच्किचाहट बिना लेखकले अभिव्यक्त गर्नुभएको छ । यहाँसम्म ठिक छ । तर के उहाँले हिन्दुस्तान टाइम्समा लेख लेखेर ‘नेपालमाथि भारतले बल प्रयोग गर्नुपर्छ’ भन्न मिल्छ ? नेपाल सार्वभौम राष्ट्र होइन भन्न मिल्छ ?’

झाले यसको जवाफ दिन लामै पृष्ठभूमि बाँधे । नेपालमा भएका सबै ठूला-साना राजनीतिक घटनाक्रमहरुमा भारत संलग्न रहेको फेहरीस्त प्रस्तुत गर्दै अहिले पनि भारतले चुपचाप हेरेर बस्न नसक्ने उल्लेख गरे ।

मधेसी मोर्चासित गिरिजाप्रसाद कोइरालाले गरेको आठबुँदे सहमतिको खाका पनि लैनचौरस्थित इन्डिया हाउसमा बनाइएको भन्दै १२ बुँदे समझदारी पनि भारतले गराएको स्मरण गरे । ‘नेपालका हरेक ठूला-साना राजनीतिक परिवर्तनमा भारत संलग्न छ,’ झाले भने , ‘अहिलेको मामलामा उसलाई अछुतो राख्न मिल्दैन ।’

यी पनि पढ्नुहोस्
मधेस अलग्गै राज्य हो, सवै मापदण्ड पुगेको छ- महन्थ ठाकुर

महेन्द्रले दिएको उपहार-धोती

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment