Comments Add Comment

समीक्षा: नचाखी नहुने ‘पशुपति प्रसाद’

khagendra-lamichane
सर्वाधिक चोरीको आरोप लाग्ने गर्छ, नेपाली चलचित्र क्षेत्रलाई । प्रायः नेपाली चलचित्रमा समावेश हुने दृश्य, गीत, कथा, पोस्टर लगायत सामग्री कुनै हलिउड, बलिउड वा अन्य कुनै विदेशी चलचित्रको नक्कल भएको चर्चा हुँदै आएका छन् । यसैले पनि होला, पछिल्लो समय मौलिक कथावस्तु बोलिएका नेपाली चलचित्र रुचाइएको पाइएको छ ।

लुट, कबड्डी, कबड्डी कबड्डी, टलकजंग भर्सेस टुल्के, नाइ नभन्नु लका सिक्वेल, ६ एकान ६, वडा नम्बर ६ लगायत फिल्म पछिल्लो समय आफ्नै शैलीका कारण चर्चामा रहे ।

नेपाली दर्शकले अर्गानिक चलचित्र खोजिरहेका बेला शुक्रबारदेखि ‘पशुपति प्रसाद’ प्रदर्शन भएकाे छ । जसको चर्चा हामी यहाँ गर्दैछौा ।

कथावस्तु

भूकम्पका कारण बाबुआमाको निधन भएपछि काठमाडौं छिरेको पशुपतिप्रसाद (खगेन्द्र लामिछाने) को वरिपरि कथा घुम्छ । पशुपति प्रसादको परिवारलाई ५० हजार ऋण लागेको छ । उसका मीतबाबु पशुपति परिसरमा लास पोल्ने काम गर्छन् । मीतबाबुकै साथ लागेर पशुपति प्रसादले ५० हजार ऋण चुक्ता गर्ने इलम गर्छ । ऊ पशुपति परिसरमा बारम्बार त्यहाँका गुन्डा नाइकेबाट पिटिनु पनि पर्छ । भष्मे (बिपिन कार्की) नामक पात्रको निसानामा पर्दै सुन खोज्नेदेखि कपडा बेच्ने कामसम्म गर्छ ।

पशुपति प्रसाद एक युवतीको प्रेममा पनि पर्छ । उसको र बुनु (वर्षा सिवाकोटी) को प्रेम कलेजबस र पशुपतिको गेट वरिपरि घुमिरहेको हुन्छ ।

पशुपति प्रसादको प्रयास छ, सेकेन्ड ह्यान्ड ठेलागाडा किन्ने । अनि, सपना छ- बाबुआमाले मर्नुअघि लगाएको ऋण तिरेर उनीहरूका लागि स्वर्गको ढोका खोल्ने ।

तर, आफ्नै मीतबाबुको रक्सी पिउने लतका कारण उसको धोको अधुरो हुन्छ । गुन्डानाइके, मीतबा, प्रेम र सपनाको वरिपरि पशुपति प्रसादको जीवन कसरी अगाडि बढ्छ ? बाबुआमाको ऋण तिरेर स्वर्गको ढोका खोल्छ या खोल्दैन ? यही नै चलचित्रको सार हो ।

Pashupati Prasad Premier (10)

हेर्न लायक
पशुपति प्रसादको कथा कतैबाट आयातीत होइन । एक पुरुषले पशुपति परिसरमा भोगेका जीवनका अनेक भोगाइलाई नै चलचित्रमा देखाउन खोजिएको छ । यसैले दर्शकलाई यो कथा मौलिक लाग्छ । चलचित्रको सफल पक्ष संवाद हो ।

पशुपति प्रसाद अर्थात् खगेन्द्रका संवादले दर्शकलाई हसाउँछन् र बाँधेर पनि राख्छ । मन परेको फूल सुके पनि रसिलो, गाला जोडिएर के गर्नु छाला जोडिँदैन आदि संवाद सुन्न रमाइला लाग्छन् ।

हाम्रै परिवेशका कथालाई निर्देशकले मन छुने किसिमले पस्केका छन् । पशुपति प्रसाद हाम्रो आफ्नै समाजको पात्र हो । जसले इमानदारपूर्वक बाबुआमाको ऋण तिर्ने अठोट बोकेको छ । बाबुआमाको ऋण तिर्ने नैतिकताको पाठ सिकाएको छ चलचित्रले ।

अमेरिकाको सम्पन्न जीवनभन्दा बाबुआमालाई सन्तानले एउटा छाप्रोमा दिने माया नै ठूलो हुन्छ भन्ने दरिलो पाठ चलचित्रले दिन्छ । आफ्नो छोराले अमेरिकाबाट ल्याइदिएको उपहार नलिने एउटी आमाले भावनाले छोरा बन्न आइपुगेको पशुपति प्रसादले बाथको औषधि दिँदा खुसी हुन्छिन्, यो सााच्चिकै मन छुने खालको छ । चलचित्र चल्नका लागि एक्सन, गीत-संगीत चाहिन्छ भन्ने फर्मुलाबाट पर छ, पशुपति प्रसाद । तर, दर्शकलाई हसाउँछ र हसाँउदाहसाँउदै रुवाउँछ ।

उत्कृष्ट निर्देशन

निर्देशक दीपेन्द्र के खनालले प्रशंसनीय काम गरेका छन् । भलै उनले केही पात्रलाई चलचित्रमा फराकिलो बनाउन कञ्जुस्याँइँ गरेका छन् । फेरि पनि स-साना कुरामा ध्यान दिएर सामान्य कथालाई उत्कृष्ट प्रस्तुति दिएका छन् ।

हाम्रै समाजमा रहेको कथावस्तुलाई निर्देशकले टपक्क टिपेर जसरी पस्केका छन् र मानिसलाई बाँधेका छन्, त्यो आफैँमा उत्कृष्ट छ ।

एक दिनका लागि हनुमान बनेका पशुपति प्रसादले हनुमानले नै बोल्ने बोली बोल्छन् । यसका लागि निर्देशकले पशुपति प्रसादलाई सुरुवातमै हनुमानको क्यारिकेचर गर्न सक्ने बनाएका छन् । गीत, एक्सन बिना नै दुई घन्टा ११ मिनेट निर्देशकले दर्शकलाई बाँधेर राख्ने खुबी देखाएका छन्, यो तारिफयोग्य छ ।

कमजोरी

‘पशुपति प्रसाद’ राम्रा कुराले मात्र भरिएको चलचित्र होइन । निर्देशकले पशुपति प्रसादको क्यारेक्टरलाई मात्र उठाउँदा अन्य क्यारेक्टरको विकास भएको छैन । भष्मे ‘डन’ किन हनुमानसँग डराउँछ ? यसको पृष्ठभूमि केलाइदिएको भए अझ राम्रो हुने थियो ।Pashupati Prasad Premier (2)

अभिनेत्री वर्षा सिवाकोटीलाई निर्देशकले सामान्य भूमिकामा मात्रै सीमित गराएका छन् । हरेक दिन उनी कलेजबाट फर्कदा उनका बसका साथीहरू बोल्छन् र बिदा हुन्छन् । सामान्यतः बोल्न नसक्ने मानिस बोल्ने मानिस भएको कलेजमा पढ्दैनन् । वर्षा भने सोही कलेजमा किन भर्ना भइन् ? उनी जन्मजात नै बोल्न नसक्ने थिइन् या पछि कुनै कारणले नसक्ने भइन् ? यसको पृष्ठभूमितर्फ पनि निर्देशकले थोरै ध्यान नदिएको देखिन्छ ।

बाबुआमाको ५० हजारको ऋण तिर्न आएको एक युवक किन पशुपति परिसरमै सीमित भयो, किन उसले आफूलाई पशुपति परिसरबाट बाहिर लैजान सकेन, प्रश्न उठ्छ ।

दर्शकले कतिपय अवस्थामा उसलाई पशुपति परिसरबाट बाहिर पनि देख्न चाहन्छन् । बारम्बार एउटै दृश्य दोहोरिने, मीतबाको कोठामा मासु काट्दै र भाडा माझ्दै गरेका दृश्य धेरै देखिने, ठेलामा समोसा बेच्नेसँग बारम्बार पशुपतिले कुरा गरिरहनु, पात्र र स्थान कम हुनुको परिणाम हो । यस्ता सामान्य कमजोरीले यो चलचित्र पनि अछुतो छैन ।
०००
समग्रमा चलचित्रलाई उत्कृष्ट मान्न सकिन्छ । खगेन्द्र लामिछाने, बिपिन कार्कीको अभिनय, संवाद, निर्देशकीय क्षमताका कारण चलचित्र हेर्न लायक बनेको छ । समाजबाट हराउँदै गएको नैतिकता, इमानदारितालाई चलचित्रले व्यंग्य गरेको छ । धनी मन नै सर्वाधिक गरिब हुन्छ भन्ने चलचित्रले देखाउन खोजेको छ । केही दृश्यले दर्शकलाई सोच्न बाध्य पार्छ । जस्तो, जलाउन ल्याइएका मृतकको औाठी समेत आफन्तले छाड्दैनन् । पशुपति प्रसाद नेपाली मनले हेर्ने चलचित्र बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment