Comments Add Comment

उद्योगपति स्वर्गीय लूनकरणदास चौधरीको आर्यघाटमा अन्त्येष्टी

CG Lunkarandash Chaudhary

२२ माघ, काठमाडौं । नेपाली उद्योग व्यवसाय क्षेत्रका शिखर पुरुष एवं समाजसेवी स्व. लूनकरणदास चौधरीको शुक्रबार पशुपतिनाथस्थित आर्यघाटमा अन्त्येष्टी गरिएको छ । चौधरी ग्रुपका संस्थापक अध्यक्ष चौधरीको ९४ वर्षको उमेरमा काठमाडौंको नर्भिक इन्टरनेशनल हस्पिटलमा बिहीबार तीन बजे निधन भएको थियो ।

चौधरीको पार्थिव शरिरलाई ठमेलस्थित उनकै निजी निवास सरस्वती सदनमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो । अन्तिम श्रद्धाञ्जली पश्चात दिउँसो आर्यघाटमा दाहसंस्कार गरिएको हो ।

चौधरीको पार्थिव शरिरमा उनका जेष्ठ सुपुत्र विनोद चौधरीले दागबत्ती दिएका थिए । त्यतिबेला स्व. चौधरीका माइला सुपुत्र बसन्त चौधरी र कान्छा सुपुत्र अरुण चौधरी पनि साथमा थिए ।

स्व. चौधरीलाई अन्तिम श्रद्धाञ्जली दिन आर्यघाटमा चौधरी परिवारका सदस्यहरु, मुलुककका लब्ध प्रतिष्ठित व्यक्तिहरुका साथै सर्वसाधारणहरुको बाक्लो उपस्थिति रहेको थियो । त्यसअघि चौधरीको निजी निवास सरस्वती सदनमा समेत स्वं. चौधरीको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जली दिन मुलुकका लब्ध प्रतिष्ठित व्यक्तित्वहरु पुगेका थिए ।

स्व. चौधरी नेपाली व्यवसायिक एवं औद्योगिक फाँटका एक दुरदर्शी र अग्रणी उद्योगपति मात्रै नभएर औद्योगिक क्षेत्रको उदाहरणीय व्यक्तित्व थिए । नेपाली उद्योग व्यवसायका क्षेत्रमा झण्डै डेढ शताब्दीपूर्व अर्थात राणाकालीन युगमै कपडाको व्यापारबाट व्यवसाय आरम्भ गर्ने स्व. भूरामल चौधरी र उनकी धर्मपत्नी स्वं सरस्वतीदेवी चौधरीको कोखबाट स्व. लुनकरणदास चौधरीको जन्म वि.सं. १९७९ सालमा काठमाडौंको मखनटोलमा भएको थियो ।

घरमै स्वअध्ययन गरेका स्व. चौधरीले चौधरी गु्रप अन्तर्गत सञ्चालित विभिन्न ५ दर्जन भन्दा बढी औद्योगिक-व्यापारिक संस्थाहरुको जग बसाले ।

चौधरी ग्रुप, नेपालका संस्थापक अध्यक्ष रहेका स्व. चौधरी औद्योगिक-व्यापारिक संस्थाहरु स्थापना गरेर मुलुकका सात हजारभन्दा बढी जनसंख्यालाई प्रत्यक्ष रोजगारको समुचित व्यवस्था गर्नुका साथै राष्ट्रिय औद्योगिक विकासको मूलप्रवाहमा संलग्न भई राष्ट्रको आर्थिक मेरुदण्ड सुदृढ पार्न सक्रिय थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment