Comments Add Comment

अभागी जनता, भाग्यमानी सरकार !

छहरा दवाडी 
बढ्दो कालोबजारी, बढ्दो लोडसेडिङ, बढ्दो घुसखोरी र भ्रष्टाचार, इन्धनको बढ्दो अभाव लगायतका धेरै समस्याहरुले वर्तमान ओली सरकार र सरकार चलाउने जिम्मा पाएकाहरुको गैरजिम्मेवारीपन र औचित्यमाथि नै धेरै प्रश्नहरु उब्जिरहेका छन् ।

२०७२ साल असोजको ३ गते सबै नेपालीहरुको घर आँगन सजियो । सबैका घर, चुलाचौका सिङगारिए । जताततै उत्साह र उमङगका आवाजहरु घन्किए । मैनबत्तिको उज्यालोले घरहरु धपधप बले अनि बेहुली झैं सजियो हाम्रो नेपाल । आतिसबाजी गरियो ।

Chhahara Dawadi
छहरा दवाडी

सबै नेपाली देशले नयाँ संविधान पाएको खुशियालीमा मस्त रमाए , मस्त झुमे । हरेक नेपालीको मन रमायो । संसारका कुना कुनामा छरिएका सबै नेपाली एक भएर संविधानको भव्य स्वागत भयो ।

करिब सात दशक लामो आफनो संविधान आफैंले छानेका जनप्रतिनिधिद्धारा सविधान लेख्ने नेपालीहरुको इच्छा पूरा भएको दिन सविधानको अर्थै बुझ्ने उमेर नभएका नाबालक देखि बृद्धबृद्धासम्म सबै खुशीले गदगद भए ।

लामो समयको प्रतिक्षापछि बनेको संविधानबाट को पो खुशि थिएन होला र रु १० वर्ष लामो जनयुद्ध, जताततैको हत्या हिंसा, आन्दोलन, बन्द, हड्ताल, असुरक्षा, अशान्ति र दुई-दुई पटक  भएको संविधान सभाको चुनावले समेत सविधान दिन नसकिरहेका दल र नेताहरुको जताततै भईरहेको आलोचनाका बाबजुत अन्तत नेपालीहरुले सविधान पाइ छाडे ।

सायद व्यग्र प्रतिक्षा पश्चात बनैकै भएर पनि होला सविधानको त्यति धैरै स्वागत भएको पनि । संविधान निर्माणका क्रममा सविधान समयमा नै बन्न नदिनका लागि विभिन्न बाहिरी तत्वहरुको हस्तक्षेपका विरुद्धको सामना गर्दै, अन्तत दलहरुले वाहवाही लुटे । जहिल्यै पनि जनताबाट गालीमात्रै पाएका मुख्य राजनीतिक दल र नेताहरुले जनताको ताली पाए ।

सबै नेपालीहरु किन रमाए त यतिधैरै ? यसका धेरै कारणहरु छन् । सबैलाई लाग्यो, अब हाम्रो देश बन्ने छ । अशान्तिको मार्ग छोडी शान्तिको बाटोमा हिँड्ने छ । विकासको बाटोमा अग्रसर हुने छ । अब कोही पनि नेपाली आफ्नो श्रम बेच्न विदेशिनु पर्ने छैन । अब कसैले पनि विदेशी भूमिमा अकालमा ज्यान गुमाई कफिनमा फर्किनु पर्ने छैन ।

अब नेपाल स्वालम्बी बन्नेछ । रोजगारको अवसर जुट्नेछ, नयाँ नयाँ उद्योगधन्दा खुल्नेछन् । बेरोजगारी हटेर जानेछ अनि गरिबीको मारमा कोही नेपाली पिल्सिनुपर्ने छैन । देशमा नै लगानीको बाटो खुल्नेछ । गुणस्तरीय शिक्षाको अवसर सबैका लागि प्राप्त हुनेछ ।

यस्तै यस्तै सपना बुनेर नै सारा नेपालीहरु संविधानको स्वागतमा दिल खोलेर लागे । नयाँ बनेको संविधान युवाहरुको जोश बनेर आयो, नयाँ नेपाल बन्ने सपनाका साथमा नयाँ आशाहरु बोकेर आयो ।

नयाँ संविधानले देशलाई मुख्यत नयाँ महिला राष्ट्रपति, नयाँ महिला सभामुख र नयाँ कार्यकारी प्रधानमन्त्री र नयाँ नेतृत्वको समूह दियो । त्यो समयमा देशलाई आफ्नो व्यक्तिगत स्वार्थभन्दा धैरै माथि उठेर र कुर्सीमोह त्यागी देशको अग्रगामी विकासमा जोड दिने नेतृत्वको खाँचो थियो ।

संविधान त केबल एउटा सिँढी मात्र हो, जसको खुड्किला टेकेर देशको विकासको गतिलाई तिव्र बनाउने जिम्मा सविधान कार्यान्वयन गर्ने नेतृत्वकै काँधमा थियो । र, सबै नेपालीको आशाके किरण बनेर आयो ओली सरकार, जसको जिम्मेवारी केबल पावरमा आएर पदको स्वाद चाख्नुमात्र थिएन, सम्पूर्ण नेपालीलाई विकासको स्वाद चखाउनु पनि थियो ।

नेपालीको मन विनाशकारी भुकम्मबाट थिलथिलो बनेको र क्षतिग्रस्त संरचनाबाट छियाछिया भएको बखत भुकम्पले दुई धारमा विभाजित दलहरुलाई एक गराइदियो र दुखेका घाउहरुमा मलमको रुपमा आयो नयाँ सविधान । तर, बिडम्वना, संविधानबाट असन्तुष्ट मधेसी मोर्चाको नाकामा भएको निरन्तरको धर्ना र नेपालको संविधान निर्माणबाट बेखुष छिमेकि राष्ट्र भारतको अघोषित भन्ने गरिएको नाकाबन्दीको चरम मारमा पुन मुलुक फस्यो जसको प्रत्यक्ष असर अहिलेसम्म पनि नेपाली जनताले भोगिरहेका छन् । नाकाबन्दी सुरु भएसँगै नेपालीका महान चाडहरु आए ।

दसैं आयो, तिहार आयो, छठ आयो, नुदया भिन्तुना आयो । परिवार आफन्तजन भेट हुने समय आयो । सबैको बर्ष दिनमा  घर जाने दिन आयो । ज्यान जोखिममा राखेरै भए नि सक्नेहरु घर गए । ग्यास थिएन, पेट्रोल थिएन, खानेकुराको सहज आपूर्ति थिएन । पूर्वदेखि पश्चिम नेपालका विभिन्न भागहरु आन्दोलनको आगोमा जलिरहेको बखत ठाउँ ठाउँमा एम्बुलेन्स तोडिए, सयौं निर्दोषको ज्यान गयो, कही कोही नेपाली जिउँदै जले । कसैको परिवारलाई जिन्दगीभरि जल्ने घाउको कारण बन्यो ।

तर, पनि जे छ, जति छ, त्यसैमा नेपालीहरुले चाड मनाए । अनगिन्ति समस्याका बाबजूत पनि कहीँ कतै सरकार र सरकार चलाउने दायित्व बोकेकाहरुप्रति गुनासोसम्म हुन दिएनन् नेपाली जनताले । निरन्तर एउटै सामुहिक आवाजमात्र आयो । नेपाल कसैका सामू न झुकेको थियो, न त झुक्छ नै नझूक नेपाली  ।

नाकाबन्दीको विरोधमा या भनौं भारतको विरोधमा विश्वभरिका नेपालीहरुले बोले । विरोधस्वरुप सामाजिक सञ्जालमा विश्वव्यापी विभिन्न ट्रेन्डहरु चले । सबै एकजूट भएर समस्या सग जुधे यही आशामा कि नेतृत्व गर्ने ओली सरकार र प्रतिनिधिहरु देशका लागि समाधानको बाटो खोज्दै छन् र नेपाललाई यो समस्याबाट चाँडै जोगाउनेछन् ।

तर, परिस्थिति विपरीत भयो । नेपालीहरुको पलाएका आशाहरुमा तुषारापात हुँदैछ । मधेसी मोर्चाको आन्दोलन, नाकाबन्दी र संविधान बनेको  यतिका महिना भसक्दा पनि वर्तमान ओली सरकार सत्ता लम्बाउने खेलमा होमिएको छ । यो सरकारले जनताले राखेका आशाहरुलाई कुल्चिँदै भएका मन्त्रालयलाई जबरजस्ती टुक्राटुक्रा पार्दै नेपालीको मनलाई टुक्राउने नमिठो गल्ति गरिसकेको छ ।

kp oli

विगतमा कुर्सीमोहलाई टिकाउने ध्याउन्नमा सानासाना दललाई मन्त्रालय बाड्ने जुन काम भएको छ, यस्तो लाग्छ वर्तमान ओली सरकार नेपालीहरुको सपनालाई चक्लेटको टुक्रा सम्झेर लुछातानी गर्दै छ । आधा सिलिन्डर ग्यास पाउनका लागि युद्ध लडेझै संघर्ष गर्नुपर्ने अहिलेको समयमा जति नै यसका सफल हुने आधार भएपनि घरघरमा चुलोचुलोमा ग्यासको पाइप पुरयाउने योजना अपत्यारिलो नै लाग्छ । यस्तो लाग्छ निरन्तर यो सरकार मीठा मीठा शब्दजालमा केबल जनता भुलाउने खेल खेल्न चाहन्छ ।

त्यसो भए के नेपालीहरु साँच्चिकै अभागी नै हुन् त रु यो प्रश्नको उत्तर खोज्न र उत्तर दिन जति सजिलो छ , उतिकै कठिन पनि । सबैका आफ्ना आफ्नै तर्क होलान् । देशको अर्थतन्त्र जर्जर भएको र भुकम्प, नाकाबन्दी जस्ता लगातारका आपतले पुरा नेपाल नै थिचिएको पिल्सिएको यो विषम परिस्थितिमा पनि सुखभोग गरिरहेका ठुलाठाला सामन्ती वर्गलाई त कहाँ लाग्ला र आफु अभागी भएको रु दुखको छिटासम्म नपरी देशमा राज गर्नेहरु त आफुलाई सौभाग्यशाली ठान्ने नै भए ।

तर, यथार्थ यही हो कि आजका नेपाली पुस्ताले आफुलाई अभागी सम्झिन थालेको छ । भाग्यमानी सम्झिउन् पनि कसरी रु सामान्य नागरिकले पाउने कुनै अधिकार पाएका पनि त छैनन् । न सहज बिजुलीको आपुर्ति , न खानेपानी , न ग्यास न पेट्रोल, न मट्टीतेल, न गुड्ने सुविधा न उड्ने सुविधा, न पढ्नेको टुङगो न जागिरको  । गुणस्तरीय शिक्षाको त कल्पनै रहेन अब   ।

सायद विश्व ब्रहाण्डमा खोज्ने हो भने यस्ता जनता बिरलै भेटिएलान् जसले दैनिक अत्यधिक १८ घण्टासम्मको  लोडसेडिङ सहँदै पनि किताबका पानामा लेखिएका सुनौला अक्षरहरु पढि नै रहेका छन् कि नेपाल जलस्रोतको धनी देश हो ।
बलिउडका हस्तिहरुका फिल्मले बक्स अफिसमा व्यापारको सुइरो बिस्तारै घुमाएजस्तै यो साल पनि लोडसेडिङको सुइरो बिस्तारै बढदैछ । सर्पले काँचुली फेरेजतिकै फेरिने लोडसेडिङको तालिका मोबाइलमा राख्दा राख्दा बरु मेमोरी सकिएला तर, तालिका बदलिइ नै रहन्छ । यसमा शंका नै रहेन ।

दिनको ८ घण्टाबाट सुरु भएको लोडसेडिङ १४ घण्टा पुग्न कति नै  समय पो लाग्यो र रु आज्ञाकारी जनता भएर लोडसेडिङको तालिकालाई स्वीकार गरैकै पनि हो । तर, अब त अति भो । एकदिनमा बिजुली आउने जति समय हुन्छ त्यसमा पनि १०्१० मिनेटको अन्तरमा बिजुलीले खेल्ने जुन नमीठो लुकामारी छ, यस्तो लाग्छ, कोहि बिजुली छोडदै,फेरि काट्दै गजबको गेम खेल्दै छ ।

पेट भर्न ग्यास भए त ठिकै थियो , पेटका लागि पनि  त्यही बिजुली चाहिने भएपछि यो भन्दा सायद दुखको अर्को नाम नहुँदो हो ।  एकै बर्षमा लोडसेडिङ हटाउने भाषणलाई सार्थक बनाउनलाई खै के काम भयो त आजसम्म रु मीठा मीठा शब्द र भाषणको जालोमा मात्र जेलिएको लोकतन्त्रको के नै अर्थ भयो र ?

जनता भोकभोकै मर्न लागेको बेला बिजुली समेत दिन नसक्ने गफ साँच्चै नै धैरै भो अब । घोषित नाकाबन्दीको अघोषित विद्युत कटौतीको मार खेपेका नेपालीले खै आफूलाई भाग्यमानी देख्ने पो कसरी ? तर, खबरदार आजसम्म नेपाली जनता त्यति हदसम्म निरीह भइसकेका छैनन् कि नेतृत्व निरन्तर राज्यको ढुकुटीमा सत्ताको गेम खेलिरहोस र जनता टुलुटुलु हेरिरहुन् ।

अभागी नेपाली जनताले कसरी आफ्नो अधिकार माग्दा नपाए अधिकारका लागि लडेर आफूलाई भाग्यमानी साबित गर्ने गरेका छन् । यो त इतिहास साक्षी छ ।  अझै पनि समय समाल्नै नसकिने गरी नघर्किएको यर्थाथमा वर्तमान सरकारको ध्यान जाओस् ।

अन्यथा यो माघको ठण्डीमा  त्रिपालमा रात काट्दै राज्यको सहयोग पर्खी बसेका भुकम्पपीडितको बलिन्द्र आँशुको श्राप पखाल्ने तीर्थस्थल संसारको कुनै कुनामा नभेटिन सक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment