Comments Add Comment

डाक्टरको बयानः सुशीलले ५ सातादेखि अक्सिजन लिइरहनुभएको थियो

२६ माघ, काठमाडौं । पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई क्यान्सर लाग्दादेखि नै उनको स्वास्थ्यमा अहोरात्र सेवा गर्दै आएका डा. करवीरनाथ योगी पछिल्लो समयमा पनि सुशीलको साथमै थिए । आखिर सुशीललाई किन अस्पताल लगिएन र उनलाई के-कस्तो औषधि प्रयोग गरिएको थियो भन्ने अनलाइनखबरको जिज्ञासामा डा. योगीले यस्तो जानकारी दिए-

KarbirNath-Yogi-and-Sushil-Koiralaधपेडीका कारण पछिल्ला दिनहरुमा उहाँ निकै गल्नुभएको थियो । मैले उहाँलाई राजनीतिक व्यस्तता कम गर्न पटक-पटक सल्लाह दिँदै आएको थिएँ । भेटघाट मात्र होइन, फोनमासमेत कुरा गर्न बन्द गर्नुस भनेको थिएँ । यद्यपि, पार्टीको महाधिवेशनका कारणले गर्दा उहाँको व्यस्तता घट्नुको साटो झन् बढ्दै गयो ।

कोइराला पहिलेदेखि नै विभिन्न दीर्घरोगबाट ग्रस्त हुनुहुन्थ्यो । उहाँमा क्यान्सर, क्षयरोग, ब्रोनकाइटिस (सीओपिडी) र आइएलडी (इन्ट्रेस्टिटयल लङ डिजिज) अर्थात फोक्सोको समस्यासमेत थियो ।

त्यसैले धेरै मानिसहरुसित उठवस गर्दा संक्रमण बढ्न सक्ने जोखिम हुन्थ्यो । स्वास-प्रश्वासमा समस्या भएकाले पछिल्ला पाँच सातादेखि उहाँ नियमित अक्सिजन लिइरहनुभएको थियो । राति सँधै अक्सिजन लिएरै सुत्नुहुन्थ्यो । दिउँसो पनि घरमा रहेका बेला अक्सिजन लिनुहुन्थ्यो ।

गत शनिबारदेखि चिसोले गर्दा उहाँ थप अस्वस्थ हुनुभयो । मैले उहाँको निवासमै पुगेर स्वास्थ्यपरीक्षण गरेँ । उहाँमा रुघा लाग्नुका साथै खकार निस्कने र हाछ्यू आइरहने समस्या थियो । निमोनिया देखिएपछि मैले त्यही दिनबाट एन्टिबायोटिक चलाएको थिएँ । सोमबार पनि म निवासमा गएँ । त्यसदिन उहाँले खाना खान मान्नुभएन । बाँकी कुराहरु ठिकै थिए ।

तेस्रो दिन सोमबार भने उहाँले राम्रैसित खाना खानुभएको हो । बिहान एक कचौरा र दिउसो दुई कचौरा जाउलो खानुभएको थियो । बेलुका भने खान मान्नुभएन । उहाँको रगतमा अक्सिजनको मात्रा निरन्तर घट्दै जानु चिन्ताको विषय बन्यो । निवासमै २-३ जना डाक्टरहरु बसेर सल्लाह पनि गर्‍यौं । एन्टिबायोटिकलाई निरन्तरता दिने कुरा भयो ।

KarbirNath-Yogi-and-Sushil-Koirala-2बेलुकासम्म उहाँ सामान्यरुपमै कुराकानी गरिरहनुभएको थियो । राति साढे ११ बजेसम्म राम्रो होसमा हुनुहुन्थ्यो । साढे ११ बजे उहाँले पिशाब गर्नुभयो । त्यसपछि ‘दिशा गर्छु’ भन्नुभयो । उहाँको मुखबाट मैले सुनेको अन्तिम आवाज त्यहि थियो । उहाँले दिशा गर्नुभयो र पल्टिनुभयो । त्यसपछि १२ बजेतिर अचानक खकार वा थूक अड्केको जस्तो ख्वाक्क गर्नुभयो र एकाएक अचेत हुनुभयो । अनि पो हामी सबै आत्तियौं ।

उहाँ अचेत बनेपछि अस्पताल लैजानका लागि एम्बुलेन्स खोजी गर्न थालियो । तर, एम्बुलेन्सको व्यवस्था गर्न नभ्याउँदै १२ः५० मा उहाँको निधन भयो । समयमै अस्पताल किन लगिएन भन्ने कुराहरु आइरहेका छन्, पहिले हामीले अस्पताल लैजाने विषयमा सोचेनौं । किनभने लगिहाल्नुपर्ने अवस्था थिएन । जब व्यथाले च्याप्यो, त्यसपछि मात्रै एम्बुलेन्स खोज्नतिर लागियो । तर, भ्याइएन ।

उहाँ विभिन्न रोगहरुबाट पीडित भए पनि मृत्यूको कारण भने निमोनिया हो ।

(अनलाइनखबरसँग कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment