Comments Add Comment

युएईमा हप्तैपिच्छे कार्यक्रम, नेपाली समुदायलाई घाटै घाटा

युएई । युएईको नेपाली समुदायमा हरेक साता कुनै न कुनै कार्यक्रम आयोजना भइरहेको हुन्छ । शुक्रबार यहाँ सार्वजनिक विदाको दिन । धेरै कार्यक्रम सोही दिन आयोजना हुन्छ ।

एकैदिन तीन-चार वटासम्म पनि कार्यक्रम आयोजना भएका छन् । विभिन्न समुदायका सांस्कृतिक पर्व, कला, संगीत, साहित्य, अवार्ड वितरण तथा महोत्सवका अवसरमा कार्यक्रम हुने गर्छ ।

पछिल्लो एकमहिनाको बीचको दुई ठूला संगीतीक कार्यक्रम भए । मार्च ८ अर्थात फागुन २४ मा नेपाल आइडल सिजन -२ का बिजेता मध्येका टप ४ जनाको साथमा दुबईर्मा गोर्खाली नाइट २०१९ को आयोजना गरियो । त्यस्तैको ठीक एकसातापछि मार्च १५ अर्थात चैत १ मा नेपथ्यको उपस्थितिमा कन्सर्टको आयोजना भयो । त्यसयताका सातामा पनि अन्य कार्यक्रम भए । डम्फु साँझ र धुर्मुस-सुन्तली साँझ आयोजनाको तयारीमा छ ।

यस किसिमका कार्यक्रममा नेपालबाट कलाकार बोलाउने चलन नौलो होइन । यहीँ कार्यरत स्थानीय कलाकारलाई बेवास्ता गरियो भन्ने गुनासो यदाकदा सुनिदै आएको छ ।

दर्शक र प्रायोजक घाटामा

करिब अढाई लाख नेपाली यहाँ कार्यरत छन् । अधिकांशको कमाइको स्तर मध्यम छ । हप्तामा एकदिन पाएको सार्वजनिक विदा आराम, सरसफाइ र घरपरिवारसँगको कुराकानीमा बित्छ । तर, कतिपयले समयको व्यवस्थापन गरेर यहाँ आयोजना हुने कार्यक्रममा सहभागिता जनाएकै छन् ।

महिनामा कम्तिमा ४ वटा कार्यक्रम आयोजना भएकै हुन्छ । कतिपय समयमा एकैदिन ३-४ वटा कार्यक्रम आयोजना हुन्छ । यसअघि सामान्य दर्शकका लागि २०, ३० र भीआईपीहरुका लागि ५० दिरामका दरले टिकट बेच्दिै आएको थियो ।

अहिले सामान्य टिकटको दर नै ५० दिराम राख्न थालिएको छ । हप्तैपिच्छे एक-एक कार्यक्रममा सहभागी हुँदापनि महिनामा ४ वटा कार्यक्रम हुन्छ । ५० का दरले टिकटमा मात्र २ सय दिराम खर्च हुन्छ ।

कार्यक्रम स्थलसम्म जाने आउने, चिया नास्ता जोड्दा महिनाको ४-५ सय दिराम खर्च हुन जान्छ । सामान्य कमाई हुने मानिसका लागि यो खर्च धान्न निकै समस्या छ ।

हप्तैपिच्छे हुने यस्ता कार्यक्रममा केहीले राम्रा उद्धेश्य राखेका हुन्छन् भने, केहीले नितान्त व्यवसायिक लाभ मात्र हेर्नछन् । मनोरञ्जनका नाममा केही कार्यक्रम कमाउनकै लागि आयोजना हुन थालेको टिप्पणीहरू हिजोआज सुनिन थालेको छ ।

कार्यक्रममा सहभागिता जनाउने दर्शकको उपस्थितिलाई पूर्वअनुमान गरेर टिकटको दर निर्धारण हुँदै आएको गुनासो उतिकै छ ।

स्याङ्जाका प्रकाश ढकाल युएईको नेपाली समुदायमा आयोजना हुने प्राय कार्यक्रममा सहभागी भइरहेका हुन्छन् । उनी आफै विभिन्न सामाजिक संस्थासँग आवद्ध छन् । ढकाल भन्छन्- संस्थामा आबद्ध भएका कारण कतिपय कार्यक्रममा आयोजकबाट निमन्त्रणा आउँछ । कतिपय ठाउँमा अतिथिका रुपमा बोलाइन्छ । कहिलेकाही साथीभाइको आग्रहमा रमाईलोका लागि जान्छु ।

संघसंस्थाका कार्यक्रमहरुमा बाध्यताले टिकट काट्ने गरेको उनी बताउँछन् । समूहमा जाँदा टिकट काटेर सहभागी हुनुपर्छ । अरु समयमा आयोजकबाट व्यवस्थापन हुने गर्छ, उनी थप्छन् । तर, आयोजकले निर्धारण गरेको टिकटको शुल्क निकै महँगो हुन थालेको ढकालको भनाइ छ ।

कार्यक्रम प्रायोजकका व्यथा पनि कम छैन । हप्तै पिच्छेका कार्यक्रमले प्रायोजकहरुलाई निल्नु न ओकल्नु हुन्छ । यहाँ कार्यक्रम प्रायोजन गर्ने मुख्य रुपमा विभिन्न व्यवसायी, ट्राभल एजेन्सी, रेस्टुरेन्ट, र केही प्रतिष्ठित व्यक्तिहरु हुन् ।

युएईमा व्यवसाय गरिरहेका पासाङ शेर्पा व्यवसाय मात्रै गर्दै आएकाहरुलाई यस्ता कार्यक्रमले निकै मार परेको बताँउछन् । उनी भन्छन् – ठूलो कारोबार गर्नेहरुले मोटो रकम खर्च गर्न सक्छन् । तर, सामान्य व्यवसाय गर्नेहरु मारमा छन् । प्रायोजकमा राखेपछि सय पचास दिएर हुँदैछ । चिनजानका साथीभाइ आउँछन्, नकार्न सकिन्न् ।

आयोजक भन्छन् : कलाकार र व्याण्डमा खर्च हुन्छ

यहाँ कार्यक्रम गर्नुपुर्व स्थानीय निकायको अनुमति लिनुपर्छ । कार्यक्रमको बारेमा सम्पूर्ण जानकारी गराएपछि मात्र सम्बन्धित निकायको स्वीकृति पाइन्छ । त्यसपछि कार्यक्रम स्थलमा लाग्ने खर्च, आवश्यक सामाग्रीको व्यवस्थापन, कलाकारको भिसा, टिकट र पारिश्रमिक लगायतका कुरालाई आयोजकले निर्धारण गर्छन् ।

सामान्यतया संघसंस्थाको वाषिर्क भेला, साधारणसभा लगायतका कार्यक्रम आयोजना गर्दा १० हजार दिराम माथि खर्च हुने गरेको सम्बन्धित संस्थाहरुको भनाइ छ ।

नेपालबाट कलाकार ल्याएर कार्यक्रम गर्दाको हकमा झनै खर्चिलो हुन जान्छ। त्यसमा भने कलाकारको माग र लोकपि्रयता अनुसार कार्यक्रमको खर्च निर्धारण हुने आयोजक बताउँछन् ।

दुबई नेपाली रक्सका संयोजक यमन गुरुङ भन्छन् -नेपालबाट एकदुईजना मात्र कलाकार ल्याएर कार्यक्रम आयोजना गर्दा १५ हजार दिरामसम्म खर्च हुने गर्छ । नाम चलेको कलाकार र व्याण्ड ल्याउँदा ३० हजार दिरामभन्दा धेरै खर्च हुने गर्छ ।

गत चैत १ मा दुबईमा आयोजना भएको नेपथ्यको कार्यक्रममा मात्र १ लाख ९५ हजार दिराम खर्च लागेको गुरुङले जनाए ।

नेपथ्यको कार्यक्रममा ३ हजार बढि दर्शकको सहभागिता थियो । तर, पनि उक्त कार्यक्रमबाट आफूहरु घाटामा रहेको आयोजक बताउँछन् ।

टिकट खर्च मँहगो भएको सन्दर्भमा कलाकारको व्याण्ड र ब्राण्ड अनुसार निर्धारण हुने गुरुङको प्रतिकृया छ । उनले भने, ‘चल्दै नचलेको कलाकार अथवा व्याण्ड ल्याए टिकट महँगो गर्न मिल्दैन । कार्यक्रमको सम्पुर्ण व्यवस्थापनमा लाग्ने खर्च केही प्रायोजक संस्था र टिकटबाट जुट्ने हो ।’

संस्थागत पहलको आग्रह

पछिल्लो समय यहाँ आयोजना हुने कार्यक्रमहरु आवश्यकता भन्दाबढि हुन थालेको महसुस सबैले गर्न थालेका छन् । यसमा सम्बन्धित संस्थाहरुले ध्यान दिनुपर्ने आवाज उठ्न थालेको छ ।

यहाँको नेपाली समुदायमा सबैभन्दा ठुलो संस्थाका रुपमा रहेको गैरआवासीय नेपाली संघ हो । त्यस्तै जिल्लागत रुपमा खुलेका संस्था, राजनीतिक दलका प्रवासी संगठन, साहित्यिक संस्था लगायत गरी ८० को हाराहारीमा सामाजिक संस्था छन् ।

गैरआवासीय नेपाली संघ युएई, नेपाली एसोसियसनका नाममा युएईमा दर्ता भएको छ । कानुनी मान्यता पाएपछि यसले अन्य संघसंस्थासँग छलफल तथा परामर्श पनि गरिरहेको छ । यो विषयमा सबैभन्दा ठूलो संस्थालेे पहल गर्नुपर्ने यहाँका नेपाली बताउँछन् ।

साझा संस्थाका रुपमा नेतृत्व लिइ महिनामा निश्चित कार्यक्रम गरेमा सबैलाई सहज हुने झापाका डिजी शर्माको धारणा छ । उनी भन्छन् – परदेशमा नेपालीपन झल्कने कार्यक्रम गर्नु खुशीको कुरा हो । तर रोजगारदाता कम्पनी भन्दा ज्यादा नेपाली संस्था छन् । जिल्ल्ाातह भन्दा सानो इकाइमा समेत सामाजिक संस्था गठन हुँदा आफ्नो संस्था बाहेको कार्यक्रममा नजाने परिपाटी बस्न थाल्यो । सिमित संस्थाले निश्चित उद्देश्य राखेर कार्यक्रम गरेमा सबैले अपनत्व ग्रहण गर्ने उनको बुझाइ छ ।

तर धेरै संस्थाहरु रहेकाले थोरै संख्यामा कार्यक्रम आयोजना हुन नसकेको व्यवसायी पासाङ शोर्पाको बुझाइ छ । जिल्लागत, पाटीगत, जातिगत संस्थाका नियमित भेला, साधारणसभा लगायत गर्नुपर्ने कारणले यो रोक्न उनी समस्या देख्छन् ।

युएईमा रहेका समाजिक संस्थालाई एकतावद्ध गरी निश्चित समयमा कार्यक्रम गर्ने अभियानमा आफुहरु लागि परेको नेपाली एसोसियसन युएईका अध्यक्ष रमेश श्रेष्ठले बताए । नयाँ वर्षदेखि वाषिर्क कार्यक्रमको क्यालेण्डर तयार पार्ने र सोही अनुसारका कार्यक्रमका बारेमा जानकारी पाउन सकिने उनले जनाए ।

युएईमा आयोजना हुने धेरै कार्यक्रमबाट आयोजकले भारतीय व्यवसायलाई मोटो रकम तिर्नु परिरहेको छ । नेपाली आयोजकलाई घाटा भइरहेको अवस्थामा नेपाली एशोसिएसनमार्फत कार्यक्रम गर्दा शुलभ, सहज र व्यवस्थित बनाउन सकिने श्रेष्ठको भनाइ छ ।

नेपाल एशोसिएसन युएइले सामाजिक, सांस्कृतिक, खेलकुद, मनोरञ्जन र सेवा सहयोगको क्षेत्रमा काम गर्न पाउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment