Comments Add Comment

उम्मेदवारी नमिल्दा अखिलमा गुटभित्रै गुटबन्दी

२६ माघ, काठमाडौं । एमाले सम्वद्ध विद्यार्थी संगठन अनेरास्ववियुको २२ औं महाधिवेशन कांग्रेस सभापति सुशील कोइरालाको निधनका कारण एक दिन पर सरेको छ ।

Dipak-Gautam-and-Nabina-Lamaबुधवार उदघाटन हुने भनिएको महाधिवेशन पूर्वप्रधानमन्त्रीको निधनमा सरकारले शोक घोषणा गरेका कारण विहीबारका लागि सरेको महाधिवेशन प्रचार प्रसार संयोजक ऐन महरले जानकारी दिए ।

महाधिवेशनका प्रतिनिधिहरु काठमाडौं आइसकेका कारण एक दिनभन्दा बढी स्थगन हुन नसक्ने मूल व्यवस्थापन समितिका संयोजक दीपक गौतमले बताए । महाधिवेशनको सबै तयारी पूरा भइसकेको छ ।

महाधिवेशन उदघाटन समारोहलाई अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, बरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र महासचिव ईश्वर पोखरेलले सम्बोधन गर्ने तय भएको महासचिव नविना लामाले बताइन् ।

महाधिवेशनमा करीब ६० लाख रुपैयाँ खर्च हुने अनुमान अखिलले गरेको छ । महाधिवेशनको उदघाटन भृकुटीमण्डप र बन्दसत्र प्रज्ञा भवनमा हुने महरले बताए ।

गुट व्यवस्थापनमा केन्द्रित

महाधिवेशनमा करीव १६ सय प्रतिनिधिले भाग लिने प्रतिनिधि व्यवस्थापन समिति संयोजकसमेत रहेकी लामाले जानकारी दिइन् । महाधिवेशनको व्यवस्थापनमा भन्दा अखिलका नेताहरु चुनावी जोडघटाउ र गुट व्यवस्थापनमा केन्द्रित भएका छन् । अखिलमा आफ्नो पक्ष जिताउन एमालेका संस्थापन पक्ष र माधव नेपाल पक्षका प्रभावशाली नेताहरु जमेर लागेका छन् ।

संस्थापन पक्षबाट अध्यक्षको उम्मेदवार नविना लामा र माधव नेपाल पक्षबाट अध्यक्षको उम्मेदवार दीपक गौतम छन् ।

त्यस्तै संस्थापन पक्षबाट उपाध्यक्षमा सुनिता बराल, रश्मी आचार्य, महेश बर्तौला र शैलेष लामा उम्मेदवार हुने भएका छन् भने महासचिवमा ऐन महर अघि सारिएका छन् । महर अध्यक्षका दावेदार थिए । नविनालाई जिताउने गरी आफू महासचिव बन्न लागेको उनले बताए ।

संस्थापन पक्षबाट सचिवमा टुंगो लाग्न बाँकी छ । समिक बडाल, आरसी लामिछाने, बसन्त ढकाल, तुलसी मैनाली र मकर खड्कामध्ये चारजना खुला सचिव र एकजना अनुशासन आयोगको अध्यक्षमा उम्मेदवार हुनेछन् ।

कोषाध्यक्षमा पाटन क्याम्पसका स्ववियु सभापति झपीन्द्र खत्रीको नाम टुंगो लागेको छ । त्यस्तै महिला सचिवमा कमला बोहोरा, मधेसीमा दुर्गानन्द ठाकुर र जनजाति सचिवमा अमृत बुढा उम्मेवार हुने भएका छन् ।

लेखा आयोग र निर्वाचन आयोगको अध्यक्षका लागि सम्झना अधिकारी, निशा अधिकारी, गोविन्द गिरी र धमेन्द्र रोकायामध्ये दुई छानिनेछन् ।

आफ्नो समूहमा उम्मेदवारीका कारण कुनै असन्तुष्टि नरहेको र बलियो एकता कायम भएको सचिवालय सदस्यका उम्मेवार यमराज पाण्डेले बताए । पाण्डे अर्थमन्त्री विष्णु पौडेलका स्वकीय सचिव समेत हुन् । उनी लुम्बिनीबाट सचिवालय सदस्यका एक्लो दाबेदार हुन् ।

माधव नेपाल पक्षबाट अध्यक्षमा दीपक गौतम पहिले नै अघि बढिसकेका छन् । तर, महासचिवमा उम्मेदवार मिलाउन समस्या परेकाले केही आकांक्षीहरु असन्तुष्ट बनेका छन् ।

महासचिवमा राधिका खतिवडा र जीवन राईको प्रबल दाबेदारी थियो । तर, उपाध्यक्ष थोमस बास्तोलाले दीपक गौतमलाई छाड्नु परेपछि महासचिव आफ्नो हुनुपर्ने भन्दै अब्दुल हुसेन खाँको नाममा अडान लिएको स्रोतले जनाएका छन् ।

जीवन राईलाई महासचिव बनाउने राजेन्द्र राई र यज्ञराज सुनुवारको प्रयाससमेत विफल बनाउँदै थोमस निकट हुसेन महासचिव उम्मेदवार भएका छन् । हुसेन महासचिव उम्मेदवार तय भएपछि उपाध्यक्षमा राधिका खतिवडा, जीवन राई, सरोज यादव र नीलकण्ठ आचार्यको नाम नेपाल पक्षले तय गरेको छ ।

आफूलाई उपाध्यक्षमा समेत नसमेटिएपछि हालकी सचिव भक्तकुमारी लामाले नेपाल समूहमै विद्रोह गर्दै आफू महासचिवकै उम्मेदवार बन्ने बताएकी छन् । नेपाल पक्षबाट सचिवमा झन् धेरै आकांक्षी भएकाले उम्मेदवारी मिलाउन ढीला भएको छ ।

बुधवारसम्म सबै उम्मेवारको टुंगो लाग्ने अध्यक्षका उम्मेदवार दीपक गौतमले बताए । उनले आफ्ने समूहमा कुनै विवाद नरहेको दावी गरे ।

गौतम प्यानलबाट सचिवका लागि आरती लामा, अशेष घिमिरे, सुदेश पराजुली, गौतम राई, हिरेन्द्र शाही, ज्ञानु भण्डारी, चन्द्र शाही, दीपक आचार्य, यशु लामा, वसिम आलम, शिवजी गुप्तालगायतको दाबी छ । त्यस्तै सचिवालयमा करुणा पराजुली लगायत आकांक्षी छन् ।

एमालेका दुबै गुटले अखिलमा आ-आफ्नो समूह जिताउन टिम बनाएका छन् । संस्थापन पक्षले उम्मेवार मिलाउने तथा आफ्ना पक्षधर विद्यार्थी जिताउनका लागि संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकालको संयोजकत्वमा टिम बनाएको छ ।

अखिलका पूर्वमहासचिवसमेत रहेका ढकाल नेतृत्वको टिममा अखिलका पूर्वअध्यक्ष खिमलाल भट्टराई, माधव ढुंगेल, पूर्वमहासचिव तथा सचेतक गोकुल घर्तीमगर र वर्तमान अध्यक्ष किशोरविक्रम मल्ल छन् ।

त्यस्तै नेपाल पक्षले अखिलका पूर्वअध्यक्ष राजेन्द्रकुमार राईको संयोजकत्वमा पूर्व अध्यक्षहरु ठाकुर गैरे, रामकुमारी झाँक्री तथा पूर्वनेताहरु रचना खड्का, सुधीर साह र लक्ष्मण लम्साल रहेको समिति गठन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment