Comments Add Comment

दीपकराजको सम्झनामा सुशीलः फूटबल खेल्दा मैदान छाड्न मान्नुभएन, भेट्दा बच्चाजस्तै रमाउनुभयो’

dipakraj-giri
नेपालगञ्जमा सम्पन्न सांस्कृतिक महोत्सवमा सहभागी भएर काठमाडौं फर्किदै थिए हाँस्य कलाकार जोडी दीपकराज गिरी र दीपाश्री निरौला । नेपालगञ्ज एअरपोर्टमा आइपुग्दा दीपक र दीपासँग हात मिलाउनेदेखि सेल्फी खिच्नेहरुको तछाडमछाड चल्यो । प्लेनमा बसेपछि पनि एकछिन फोटोसेसन भयो ।

फोटोसेसन सकिएपछि सबै आ-आफ्नो सिटमा थिए । दीपकराजकै छेउमा थिए, सेता दाह्री पालेका एक वयोवृद्ध । अलिक नियालेर हेर्दा चिरपरिचित व्यक्ति रहेछन् ।

‘सुशीलदा, नमस्कार’ दीपकले अभिवादन गरे । सुशील कोइरालाले भने हात लम्काए । कसिलो हात मिलाउँदै उनले भने, ‘हेल्लो दीपकजी, के छ ?’

कोइरालासित दीपकको यो पहिलो साक्षात्कार थियो । त्यतिबेला कोइरालासित आफूलेे भनेको दीपक सम्भिmन्छन्, ‘हाम्रो भन्दा तपाईहरुको जिम्मेवारी बढी छ । हामीलाई हँसाए पुग्छ । तपाईहरुले सिंगै मुलुकको लागि काम गर्नुपर्छ ।’

कोइरालाले जवाफ दिएका थिए, ‘दीपकजी, हाम्रो पेशा भन्दा त तपाईहरुको पेशा धेरै सम्मानित छ । हामीलाई जति गरे पनि सुख छैन । अपजस मात्रै पाउँछौं ।’

त्यो यात्रामा लामै कुरा गरे दीपकराजले कोइरालासँग । उनी भन्छन् ‘हामीसँग कुरा गर्दा उहाँ एकदमै उत्साहित हुनुहुन्थ्यो । उहाँको बडी ल्याङ्ग्वेजबाटै बुझिन्थ्यो, उहाँको कला क्षेत्रप्रति रुची छ ।’

त्यतिबेलै कोइरालाले तीतोसत्य लगायत दीपकराजका धेरै कार्यक्रम हेर्ने गरेको सुनाएका थिए । त्यसपछि भने कोइरालासित उनको त्यति बाक्लो भेट भएन । बीचमा ३/४ पटक भेट भए पनि गफिने अवसर नमिलेको बताउँछन् गिरी ।

मैदान छोड्न मानेनन्
भुकम्प पीडितको सहयोगार्थ हलचोकमा भएको नेता र कलाकारबीचको मैत्रीपूर्ण फुटबल खेलमा प्रधानमन्त्री कोइराला खेलाडीकै जर्सीमा मैदानमा प्रवेश गरेका थिए । कोइरालाको विपक्षी टिममा थिए दीपकराज ।

पाँच मिनेट जति खेलेपछि सुरक्षाकर्मीले आएर कोईरालालाई भने ‘हजुर अब बाहिरिनुपर्छ । तपाई थाक्नु भयो ।’ कोईरालाले वास्तै गरेनन्, बलको पछिपछि कुँदिरहे ।

दीपकराज भन्छन् ‘म आफैं थाक्न लागिसकेको थिएँ, तर, उहाँ कुदिरहनु भयो ।’ एकछिनपछि फेरि तिनै ब्यक्ति आएर भने ‘ए हजुर जाउँ ।’ कोईरालाले हप्काउदै भने ‘तिमी चुप लाग, म खेलिराछु ।’

दीपक भन्छन् ‘कोइरालाले २० मिनेटसम्म मैदान छाडेनन् ।’ धेरै वेर खेलेपछि भने कलाकारकै टोलीले सल्लाह गर्‍यो । ‘बुढा मान्छेलाई केही भैहाल्यो भने त अप्ठयारो पर्छ ।’

सबैले आग्रह गरेपछि भने कोइराला मैदानबाट बाहिरिएका थिए । प्याराफिटमा बसेर गेम हेरिरहेका कोइरालाले तत्कालिन राष्ट्रपति डा. रामबरण यादबसँग भनेका थिए ‘मलाई त फेरि मैदानमा जान मन लाग्यो ।’

फुटबल खेलेर जम्मा गरेको पैसा बुझाउन दीपकराजसहित कलाकारको टोली बालुवाटार पुग्यो । दीपकराज सम्झन्छन् ‘उहाँ त हामीलाई देखेपछि बच्चा जस्तै खुसी हुनु भयो ।’

कलाकारहरुसँग पालो-पालो फोटोसेसन गरेका कोइरालाले कलाकारसँग भनेका थिए, ‘मधेशको मुद्दा मिलाउदै छु । त्यसपछि राम्रो हुन्छ ।’

अस्पष्ट आवाजमाथी व्यङ्ग्य
कोइरालाको अस्पस्ट आवाजमाथी गिरीले पटक-पटक व्यङ्ग्य गरेका छन् । गिरी भन्छन्, ‘उहाँको अस्पष्ट आवाजमाथि मैले पटक-पटक व्यङ्ग्य गरेको छु तर, कहिल्यै गुनासो गर्नुभएन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment