Comments Add Comment

एउटा बबुरो ‘एलिट बाहुन’को बकपत्र

चाकरले बोकेर उत्पीडित भएकालाई ढाकर बोक्नेहरु एलिट लाग्छन्

भारतीय नागरिकसँग बिहे गरेकी नेपाली चेलीले ११ वर्ष भइसक्दा पनि त्यहाँको नागरिकता नपाएको समाचार नेपाली मिडियामा आउँदा एक नेपाली मूलकी विदेशी नागरिक भने आफ्नो क्यानडेली प्रेमीबाट जन्मिने सन्तानले नेपालमा वंशजको नागरिकताको हक पाउनुपर्ने जिकिर गर्दै थिइन् ।

मात्रिका पौडेल
मात्रिका पौडेल

संयोगवश भारतीयसँग विहे गरेका नेपाली चेलीले नागरिकता नपाएको समाचार र क्यानडेली भइसेकी ती घरानीय पूर्वनेपाली महिलाले आफ्नो विदेशी सन्तान पनि वंशजकै नागरिक हुनुपर्ने अन्तर्वार्ता एउटै पत्रिकामा पढ्न पाइयो ।

नेपालको संविधानले नेपालीसँग बिहे गरेर आउने विदेशी महिलालाई दोस्रो तहको नागरिकता दिएको भनेर भारतीय संस्थापन पक्षकै शैलीमा ‘यो मेरो संविधान होइन’ भन्ने ट्रेण्ड चलाइरहेकी ती अधिकारकर्मी महिलाले भारतमा नेपाली चेलीले बुहारी भएर नागरिकता नपाएको विषयमा सम्भवतः बोल्दिनन् । किनकि त्यसो गर्दा नेपालको संविधान भारतको भन्दा प्रगतिशील भन्नुपर्ने हुन्छ,जुन कुरा भन्दा उनको दानापानी बन्द हुन्छ ।

जो यो देशको नागरिकनै होइन, उसले यो संविधान मेरो होइन भनेर ट्रेण्ड चलाइनुले पनि नेपालको संविधान बिरुद्ध अन्तर्राष्ट्रिय मिसनरी कसरी लागेका छन् र यो अभियानमा करोडौं डलर,युरो र भारु भित्रिँदै छ भन्ने सहज अनुमान लगाउन सकिन्छ । त्योभन्दा पनि खतरनाक पक्ष चाहिँ के देखिन्छ भने नेपाल विरुद्ध षडयन्त्रका सामु एउटा ठूलो स्वार्थ-समूह खडा भएको छ, जसले पावर एलिट खडा गरिरहेको छ ।

प्रपोजल पढेर उत्पीडित भएकाहरु

अचेल सामाजिक सञ्जाल र आमसञ्चार माध्यममा समेत निकै चल्तिमा रहेको शब्द छ ‘एलिट’ । विशेष गरी यो शब्द तिनीहरुले नै प्रयोग गरिरहेका छन्, जो राजसी सुखसयलमा हुर्किए, सेन्ट जेभियर्स र बुढानीलकण्ठ जस्ता स्कूलमा पढे अनि हारवर्ड, अक्सफोर्ड र ओस्लो जस्ता विश्वविद्यालयमा पढेर ठूला परियोजनाको नेपाली कन्सल्ट्यान्ट भएर फर्किए ।

गरिवी, अभाव, उत्पीडन, थिचोमिचो र पछौटेपनका बारेमा युएनडीपीले संग्रह गरेका तस्वीर वा पश्चिमा परियोजनाहरुले तयार पारेका प्रपोजल पढेर मात्र थाहा पाएका तिनीहरुको मिसनको प्रतिवाद गर्नेहरुलाई ‘एलिट’को दर्जा दिएर अंग्रेजीमा ट्वीट गर्छन् । अनि पश्चिमा र भारतीय मिडियामा नेपाल विरुद्ध एकतर्फी प्रोपोगाण्डा मच्चाउँछन् ।

कुनै अमूक जात, भाषा, लिंग वा समुदायको पहिचान नामका पछाडि झुण्ड्याएपछि उनीहरु उत्पीडित हुने र कुनै अमूक जातको पहिचान नामका पछाडि झुण्डिएकै कारण ढाक्रे, भरिया र हरुवाचरुवा नै भए पनि थरकै कारण एलिट हुने उनीहरुको परिभाषा मान्न कत्ति पनि सैहृय भएन । त्यसैले के हो एलिट र को हुन् एलिट भनेर बहसमा उत्रिनु परेको हो ।

एलिट बाहुनको बकपत्र

बाहुन जात भएकै कारण केही सम्भ्रान्त वर्गका ‘उत्पीडित’ले मलाई एलिट बाहुन भनेर एकोहोरो हान्न थालेपछि बकपत्र दिनैपर्ने भयो । मेरो विचारको प्रतिवाद विचारबाट होइन, लान्छनाबाट हुन थालेपछि अरु उपाय रहेन । रामेछापको विकट लेकमा जन्मिएर एसएलसी पछिमात्र शहर देखेको र जिन्दगीभर सरकारी शिक्षालयभन्दा बाहिर एक अक्षर पनि पढ्न नपाएको ढाक्रेले विश्वकै उच्चतम शिक्षा प्राप्त गरेका ‘उत्पीडित’सँग प्रतिवादमा उत्रिएकोमा माफ होस् ।

हो, म ढाक्रेनै हुँ, किनकि मैले तीन दिन लगाएर जिरीबाट ढाकरमा नुन बोकेर विद्यार्थी जीवन बिताएको हुँ । यहाँहरु सेन्ट मेरिज र सेन्ट जेभियर्समा प्रभुको प्रार्थना गर्दै स्टार होटलसरहको कक्षा कोठामा पढ्नुभो । हामीले सोलावनका पाखामा डुलेर घाँसको भारी घरमा बिसाउँदै ढिँडोको डल्लो गोजीमा हालेर चित्राले बेरेको स्कूलमा पढ्यौं ।

यहाँहरु नोकर चाकरबाट बोकिएर हुर्किनुभो हामी ढाकर बोकेर हुर्कियौं । यहाँहरुलाई देश विदेशका महँगा स्कूल र कलेजमा पढाएर उत्पीडनमा पारियो, हामीलाई आफ्नै गाउँमा स्कूल नबनाएर जन्मिँदै शासकको ताज पहिराइयो । यहाँहरुले अंग्रेजी जान्नुभो, ठूला ठूला प्रोजेक्ट हान्नुभो, त्यसैले यो राज्य बलियो बनाउँ भन्नेलाई एलिट भन्न पाउनुभो ।

हामीले चार कक्षामा पुगेपछि एबीसीडी जान्यौं, यहाँहरुले बिदेशका महँगा विश्वविद्यालय ताक्दा हामी आफ्नै बारीमा डल्ला फोर्दा फोर्दै थाक्यौं । आफ्नै देशको संविधान विरुद्ध विदेशी स्वार्थ बमोजिम अंग्रेजीमा ट्रेण्ड चलाउन नसक्दा हामी एलिट भयौं । संविधानबाट हाम्रा एजेण्डा सम्बोधन भएनन्, हामी माथिको बिभेद अन्त भएन भन्ने भावनात्मक कोणबाट उठेको जनमतलाई ‘क्यास’ गरेर आफ्नो व्यक्तित्व बनाउन खोज्नेहरुको अचेल बिगबिगी छ । यो बिगबिगीमा दिनहुँ नयाँ पात्रहरु आउनु स्वभाविक हो ।

विषय वा प्रसंगले अर्को अर्थ नलागेमा क्यानडा निवासी लेखिका मन्जुश्री थापा र दिल्ली निवासी लेखक प्रशान्त झा नेपालको संविधानविरुद्ध अन्तर्राष्ट्रिय जनमत सिर्जना गर्न लागेका दुई प्रतिनिधि मात्र हुनुहुन्छ । उहाँहरुहरुको नियोजित अफवाहको ट्वीटरमा प्रतिवाद गर्दा पर्साका श्रमजीवी पत्रकार भुषण यादवलाई दिल्लीबाटै प्रशान्त झाले एलिटको ताज पहिराइदिनुभो । मलाई क्यानडाबाटै मन्जुश्री थापाले एलिट करार गर्दै ब्लक हान्नुभो । त्यसपछि एलिट शब्दको वास्तविक अर्थ जान्न मन लाग्यो ।

के हो एलिट ? को हुन एलिट ?

नेपाली शब्दकोष अनुसार एलिट भन्नाले कुलीन वर्ग भन्ने जनाउँछ । जसले जन्मजात अभिजात्य वर्गको सेवा सुविधा पाउँछ, दुःख गर्नु पर्दैन, ऊ कुलिन हो । यदि महाशयहरुको शब्दकोष अर्को छैन भने एलिट हामी होइन, उहाँहरु नै हो । संविधान नमानेपछि शब्दकोष पनि मानिँदैन भन्ने तर्क गर्नेहरु भने उहाँहरुका लागि हामी एलिटनै हौं, बहुसंख्यक नेपाली एलिट नै हुन् ।

क्याम्बि्रजको डिक्सनरीका अनुसार एलिट भन्नाले धनाढ्य, सबैभन्दा शक्तिशाली, उच्च शिक्षित अथवा दक्ष तालिम प्राप्त समूहलाई एलिट भनिँदोरहेछ । यस्तो एलिट समूह राजनीति, बौद्धिक जगत सबैतिर हुन्छन् ।

सम्पत्तिका नाममा गाउँको पाखो बारी र शिक्षाका नाममा त्रिभुवन विश्वविद्यालयको डिग्री बोकेर हिँडेका एलिट कि, काठमाडौंको कुलिन परिवारमा जन्मिएर विश्वकै महँगो विश्वविद्यालयका डिग्री होल्डर पीएचडीधारीहरु एलिट भन्ने बहस सायद निरर्थक छ । तर, पनि जन्मजात एलिटहरुले कर्मयोगीहरुलाई एलिट भन्नुचाहिँ रिसाएको बाख्राले खाँबो चिथोरे जस्तै हो ।

आजभोलि एउटा फेसन नै चलेको छ,राज्य र संविधान विरुद्ध बोलेपछि, लेखेपछि वा कुनै हर्कत गरेपछि अधिकारवादी वा पहिचानवादी भइहाल्ने । सिंहदरबारको भित्तामा रातो पोतेर होस् वा संविधानमा आगो झोसेर होस् मान्छेहरु अधिकारको वकालत गर्छन् । त्यति गरेपछि उत्पीडित भइहाल्ने, अनि जे जस्ता गैरकानुनी अपराध गरे पनि अधिकारको लडाइँमा दर्ज हुने । कानुन विपरीत काम गर्नु अधिकार होइन भन्यो भने त्यो एलिट भइहाल्ने ।

सामान्यतः संक्रमणकालीन राज्यमा हुने आम प्रवृति हो यो । तर, नेपालमा पछिल्लो समयमा यो प्रवृत्तिको प्रवर्तक र संरक्षक भने समाजमा स्थापित भएका, कुस्त कमाएर अधिकारको आन्दोलनका अगुवा भएकाहरु नै देखिन्छन् । जसका छोराछोरी विदेशका महँगा स्कूल र कलेजमा पढ्छन् उनीहरु नै उत्पीडित समुदायका अगुवा बनेर उग्र भाषण गर्छन् ।

जो युगौंदेखि अधिकारबाट बञ्चित छ, जसका छोराछोरीले स्कूल र कलेज देख्न पाएका छैनन्, जो विरामी हुँदा सिटामोल खान नपाएर मर्छ, ऊ सम्पूर्णरुपमा बेखबर छ । तर उसका नाममा सीमित व्यक्तिहरुको स्वार्थ समूहले संगठित रुपमा धन्दा चलाएर पहिचान र अधिकारको फर्जी लडाइँ देखाएर कमाउ धन्दा चलाइरहेको छ ।

झा थर हुँदैमा काठमाडौंमा जन्मी हुर्की गरेको व्यक्तिलाई मधेसको पीडा के थाहा ? तर, उसले मधेसीका नाममा प्रपोजल हालेर काठमाडौंमा अर्को महल तयार पार्छ । झा थर हुनासाथ उत्पीडित भइहाल्ने गज्जबको परिभाषा उसले सेट गरेको छ ठाउँ ठाउँमा । यसको भण्डाफोर गर्न कुनै यादव वा झा अघि सर्‍यो भने उसले भुषण यादवलाई जस्तै सहजै भन्दिन्छ-यो पहाडेको एजेन्ट हो, एलिट हो । आम शोषित पीडित उत्पीडितको दैनिक जीवन जतिसुकै कष्ठकर होस् उसलाई बाल मतलव छैन । उसलाई फगत यति थाहा छ- यो एजेण्डा र आन्दोलन चलेसम्म उसको पसल चलिरहन्छ ।

पावर एलिटहरुको बिगबिगी

अमेरिकी समाजशास्त्री सी राइट मिल्सको परिभाषा नेपालका पावर एलिटहरुको सन्दर्भमा पनि मेल खान्छ । यी यस्ता एलिटहरु हुन्, जसले राज्यभित्र उठेका विभिन्न एजेण्डा र आवाजहरुलाई अपहरण गर्छन् र तिनलाई भँजाएर आफ्नो स्वार्थ समूहको भाँडो भर्छन् ।

त्यस्ता पावर एलिटहरु नेपालमा कुनैबेला माओवादी विद्रोहलाई भजाउँथे, कुनैबेला आदिवासी जनजाति आन्दोलनलाई भजाउँथे र पछिल्लो समय मधेस आन्दोलनलाई भँजाउन उद्यत भए ।

खासमा यिनीहरुको कुनै विचार, सिद्धान्त वा निष्ठा हुँदैन । जुनबेला जुन एजेण्डा बिक्छ, त्यसको बौद्धिक भरिया बन्ने र पैसाको भारी कुम्ल्याउने बाहेक यस्ता बौद्धिक एलिटहरुको अरु कुनै स्वार्थ हुँदैन ।

खासमा समाजमा थिचोमिचो र उत्पीडन अनि असन्तुष्टी रहिरहोस् र त्यही असन्तुष्टीको आगोमा इन्धन थप्न पाइयोस् भनेर ढुकेर बस्नेहरुको जमात आज संविधानमा प्रकट भएका जनताका विभिन्न कोणका असन्तुष्टीलाई आफ्नो कुण्ठाको भट्टीमा सेकाउन चाहिरहेका छन् ।

पछिल्लो समय आदिवासी जनजाति अभियानमा किन दाताले पैसा दिन छाडे र ती दाताहरु भिन्न संस्थाको भेषमा किन तराई मधेसका भित्री बस्तीमा कोठे गोष्ठी गर्दैछन् भन्ने कुराले पनि नेपालका पावर एलिटहरुको छेपारे प्रवृत्ति छरपष्ट हुन्छ । यस्ता पावर एलिटहरुको समूहमा त्यस्ता व्यक्तिहरु हुन्छन्, जो दायित्वविहीन र हुँडार मनोवृत्तिबाट ग्रसित छन् ।

लगानी गर्नेले पनि त्यस्ता व्यक्ति खोज्छ, जसको बोली र लेखाइ बिक्छ, जो नेपालको परम्परागत कुलीन घरानासँग निकट होस् । जसले राज्य सञ्चालन गर्ने प्रमुख राजनीतिक शक्ति विरुद्ध आगो ओकलोस् । उनीहरु त्यस्तो पावर एलिट निर्माण गर्दा नामको पछाडि झुण्डिने जात र थरमा ध्यान दिन्छन् । जसले ओकल्ने आगोले विभिन्न समुदाय र वर्गका जनताको असन्तुष्टिलाई लपक्कै लपेटेर मुलुकलाई अस्थिरता, अराजकता र गृहयुद्धको बाटोमा अनन्तकालसम्म धकेलोस् ।

त्यसैले विदेशी टीभी च्यानलले तिनै हुँडार खोजी खोजी विज्ञका रुपमा प्रतिक्रिया लिन्छन् । तिनका मिडियामा उनीहरुकै लेख छापिन्छन् त्यो पनि लेखनवृत्तिका रुपमा । अर्को रोचक कुरा के पनि हो भने यी एलिटहरु खास समयमा खास समुदाय वा व्यक्तिको आत्मसम्मानमा चोट पुर्‍याउन जुन शव्द प्रयोग गर्दा दुःख्छ, त्यही शब्द प्रतिपादन गरेर आलोचनामा होमिन्छन् । तर, यिनको कसैले आलोचना गरेको सहन सक्दैनन् । अनि आफ्नो आलोचना वा प्रतिवाद गर्नेलाई एलिट, यथास्थितिवादी, पहिचान विरोधी आदि इत्यादिको ताज पहिराउन अघि सर्छन् ।

तसर्थ, पावर एलिटहरु अवसरवादीमात्र होइन, असहिष्णु र अपराधिक मनोवृत्तिबाट ग्रस्त हुन्छन् भन्न सकिन्छ ।

कसरी भिड्ने एलिटसँग ?

नेपालको संविधान कति प्रतिशत प्रगतिशील र कति प्रतिशत बिभेदकारी छ भनेर बहस गर्न आवश्यक छैन । मुलुकको एउटा नागरिकको दायित्व अनुसार सार्वभौमसत्ता सम्पन्न संविधानसभाले जारी गरेको संविधान मान्नु र त्यसको स्वागत गर्नु मेरो अधिकार हो ।

यदि यो देशको संविधान मान्छु भन्दा एलिट भइन्छ भने त्यो पनि स्वीकार्य छ । तर, पुस्तौनी एलिटहरुले आफ्नो व्यापार टिकाउन र बिकाउनका लागि चलाएको नेपाल बिरोधी र संविधान बिरोधी अभियानका डटेर बिरोध गरिन्छ ।

फरक यत्ति हो, उनीहरुको पहुँच र हिमचिम दाताहरुसँग त्यसैले दाता रिझाउन संविधानको विरोधमा झूठका प्रपोजल लेख्छन् । हाम्रो पहुँच आवाजविहीन नेपाली जनतासँग छ, त्यसैले उनीहरुसँगै हिमचिम गछौर्ं र उनीहरुको न्यायका लागि समाचार लेख्छौं ।

सम्भ्रान्त एलिटहरु प्रपोजल लेखेर डलर समाउँछन् । हामी ढाक्रे एलिटहरु समाचार लेखेर जनताको माया कमाउँछौं । हामीले मधेसी जनतामाथि भएको विभेद र सीमान्तिकरणको बारेमा लेखेका समाचारका कटिङ पेष्ट गरेर प्रपोजल हाल्ने अनि डलर गोज्याउनेहरुले उत्पीडित समुदायको मसिहा बन्नसम्म त सुहाउला । तर, आफैं उत्पीडित सूचीमा बसेर वास्तविक उत्पीडितको भाग खोस्न त लाज हुनुपर्ने हो ।

मधेसी, जनजाति, दलित र गरीव निमुखामाथिको विभेदबारे तर्कमा होइन, तथ्यमा गएरै लेखिन्छ । रामेछापकी डिल्लीमाया तामाङको आर्तनाद तिनले होइन, हामीले लेखेको हो । सर्लाहीका मंगल रायको बिलौना तिनले होइन, हामीले लेखेको हो । मुगुका कल्से कामी र मंगली बिकको भोकको कथा तिनले होइन, हामीले देखेको र लेखेको हो । दाङकी रुपनी चौधरीमाथिको अत्याचार तिनले होइन, हामीले लेखेको हो ।

त्यसैले पावर एलिटको प्रतिवाद मैदानबाटै गर्ने हो, ट्वीटर र फेसबुकका भित्तामा पनि तिनलाई छाड्ने चाहिँ होइन । त्यसैले पावर एलिटले केही भन्छन् कि भनेर खुम्चिन जरुरी छैन । उनीहरुसँग पनि कलम छन्, हामीसँग पनि कलम । फरक यत्ति हो उनीहरुको कलमको बिमा डलर, युरो र भारुमा गरिएको हुन्छ । हाम्रो कलम स्वयंसेवामा चल्छ । उनीहरु अंग्रेजीमा लेख्छन्, हामी नेपालीमै लेखौंला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment