Comments Add Comment

चिनियाँ लेखक काठमाडौंमा, प्रज्ञा प्रतिष्ठानको स्वागत

Chinese-Writers-in-Nepal

काठमाडौं । नेपाल प्रज्ञा-प्रतिष्ठानको निमन्त्रणामा चिनियाँ लेखकहरुको एक प्रतिनिधि मण्डल पाँच दिने औपचारिक भ्रमणका क्रममा शनिवार काठमाडौं आएको छ । चिनियाँ लेखक संघ सिर्जना तथा सम्पर्क विभागका महानिर्देशक निबन्धकार-समालोचक फङ स्ये मिङको नेतृत्वमा आएको पाँच सदस्यीय भ्रमण दलमा लिन लान, काओ खाइ, काओ वइ र स्यु फङ सम्मिलित छन् ।

दुई देशबिच साहित्यिक आदान-प्रदान गर्ने उद्देश्यले नेपाल भ्रमणमा आएका चिनियाँ लेखकहरुको सम्मानमा प्रतिष्ठानले शनिवार साँझ होटल र्‍याडिसनमा विशेष रात्रिभोज आयोजना गरेको थियो । उक्त अवसरमा चिनियाँ पाहुनाहरुको स्वागत गर्दै प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले भने, ‘बुद्धको देशमा यहाँहरुलाई स्वागत गर्न पाउँदा हामीलाई हर्ष लागेको छ । यस भ्रमणले दुई मित्रराष्ट्रबिच आपसी हितका साथै साहित्यिक एवं सांस्कृतिक सम्बन्ध  अझ बलियो र दीर्घकालीन बन्ने हामीले विश्वास लिएका छौं ।’

प्रतिनिधि मण्डलका प्रमुख फङले न्यानो स्वागतका लागि आभार व्यक्त गर्दै ‘दुई पक्षीय हितका साथै साहित्यिक एवं सांस्कृतिक उन्नतिका लागि आवश्यकीय कार्यहरु सहित नेपाल र चीनको सम्बन्धलाई अझ सुदृढ बनाउन चिनियाँ लेखक संघ लागि पर्ने’ बताए ।

प्रतिष्ठानका सदस्य सचिव प्रा.डा. जीवेन्द्र देव गिरीका अनुसार चिनियाँ लेखकहरुलाई भक्तपुर र काठमाडौंका ऐतिहासिक स्थलहरुका साथै बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गराइने छ । मंगलबार प्रतिष्ठानमा आयोजना हुने साहित्यिक कार्यक्रममा सहभागी भई चिनियाँ लेखक टोली बुधवार स्वदेश फिर्ता हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment