Comments Add Comment

प्रधानन्यायाधीशका पति भन्छन्- म घरको काम गर्छु

'भनसुन चल्दैन, मुख रातो नपारे हुन्छ'

राजनीतिज्ञ दूर्गा सुवेदी प्रधानन्यायाधीश सुशीला कार्कीका पति हुन् । धापासीस्थित निवासमा रहेका सुवेदीसँग हामीले सुशीलाका विषयमा छोटो कुराकानी गर्‍यौंः

durga subedi

तपाईकी जीवन संगिनी सुशीला कार्की प्रधानन्यायाधीश बन्नुभएको छ, यतिबेला तपाईलाई कस्तो महसुस भएको छ ?

खुशी लाग्नु स्वाभाविकै हो नि । काहीँ पनि चुक्नुहुँदैन, नचुकेपछि कसैसँग झुक्नुपर्दैन भन्ने हाम्रो मान्यता छ । अहिले यो अवस्थामा यही मान्यताले आइपुगेका हौं हामी ।

संसदीय सुनुवाइमा प्रधानन्यायाधीशज्यूले आफूलाई ईश्वर र पतिसँग डर लाग्छ भन्नुभयो, तपाईसँग डराउनुपर्ने के छ त्यस्तो ? तपाईले डर देखाउनुहुन्छ कि क्या हो प्रधानन्यायाधीश ज्यूलाई ?

उहाँले मलाई पनि ‘मेन्सन’ गर्नुभयो, मलाई यसमा खुशी लागेको छ । भगवानसँग डराउने भनेको भगवानमाथि आस्था राख्ने भनेको हो । उहाँले मलाई ‘रेस्पेक्ट’ गर्नुहुन्छ । र, मेरो नाम लिएर यही भन्नुभएको हुनुपर्छ ।

प्रधानन्यायाधीशज्युले संसदीय सुनुवाइका बेला यो पनि भन्नुभयो कि भ्रष्टाचार गरेको भए डिभोर्स हुने थियो । अहिले उहाँ प्रधानन्यायाधीश भैसक्नुभएको छ, भ्रष्टाचारमा मुछिनुभयो भने अहिले पनि प्रधानन्यायाधीश सुशीला कार्कीलाई छाड्नुहुन्छ त ?

मेरो सामान्य जीवनशैली र स्वभावबारे उहाँलाई थाहा छ । सदाचारी जीवन बिताउनुपर्छ भन्नेमा हामी दुबैजनाको एउटै बुझाइ छ । मेरा कोही पनि नजिकका मान्छेले कुनै पनि बदमासी गर्‍यो भने मैले विरोध गर्दै आएको छु । त्यसैले मबाट यस्तो कुरामा कसैसँग कुनै पनि सम्झौता हुँदैन ।

तर, सुशीलाजी र मवीच यो कुरामा कहिल्यै मनमुटाव भएन । उहाँले ३० वर्ष वकालत गर्नुभएको छ । वकालती व्यवसाय नचलेका बेला कति दुख पाइन्छ, सबैलाई थाहै छ । त्यस्तोबेलामा हामी दुबै कतिपटक नखाइकन भोकै पनि बस्यौं होला, तर हामी कहीँ कतै चुकेनौं, त्यसैले हामीले कसैसँग झुक्नु पनि परेको छैन । शायद भगवानले नै हामीलाई यस्तो बनाइदिएको होला ।

सुशीला कार्कीका कमजोरी चाँहि के हुन् ? उहाँ प्रोफेसनल हुनुहुन्छ, सादगी एवं स्वच्छ छविकी हुनुहन्छ र सहासी पनि हुनुहुन्छ, तर उहाँका कमजोरीहरु के हुन् ? कतिपयले भन्छन् कि उहाँलाई फैसला लेख्न आउँदैन…

उहाँले जस्तै कठीन घडीमा पनि ३० वर्ष वकालत गर्नुभयो । महिलाले यस्तो के सक्छन् र भन्नेहरु धेरै थिए । संसदीय सुनुवाइका बेलामा पनि उहाँले भन्नुभयो नि धेरैले दुःख दिए भनेर । तर, मैले पनि उहाँलाई पेशामा निरन्तरता दिनका लागि अभिप्रेरित गरें । बुबाले पनि उहाँलाई तिमीले सक्छ्यौ भनिरहनुहुन्थ्यो ।

उहाँले एउटा किताब लेख्नुभएको छ, त्यो किताब कानूनका विद्यार्थीहरुले पढ्छन् । त्यो मैले पनि पढेको छु, त्यसमा उहाँले कानूनसँगै सामाजिक न्यायका विषयमा जोड दिनुभएको छ ।

उहाँले मानव अधिकारका विषयमा त पुरस्कारै पाउनुभएको छ । त्यसैले महिला भएकाले मात्रै सक्दिन कि भनेर प्रश्न उठाउने समाजको परम्परावादी सोचाइ हुन सक्छ, उहाँले आफ्नो सक्षमता देखाएर अनेक संघर्षहरु पार गरेर यो ठाउँमा आइपुग्नुभएको हो ।

तपाई अब प्रधानन्यायाधीशको पति बन्नुभएको छ, तपाईको राजनीतिक सम्बन्ध पनि फराकिलो छ । श्रीमतीलाई यस्तो कुरो भनिदिनुपर्‍यो भनेर प्रेसर एवं भनसुन गर्नेहरु पनि आउलान् कि हैन ?

मेरो सम्बन्ध कांग्रेस, माओवादी सबैसँग छ । तर उनीहरु सबैलाई के थाहा छ भने मबाट त्यस्तो भनसुन चल्दैन । मलाई कसैले भन्दैनन् पनि । आफ्नै मुख रातो पार्न किन मलाई यस्तो कुरा गर्नु ?

अहिले राज्यका सबै अंगहरु भ्रष्ट भए भनेर जनताले गुनासो गरिरहेका छन् । यस्तो बेलामा उहाँले स्वच्छ छविका साथ काम गर्नुपर्छ र सबै क्षेत्रमा स्वच्छता कायम गर्न भूमिका खेल्नुपर्छ

उहाँ र मैले कहिल्यै पनि एक अर्काको प्रफोसनमा हस्तक्षेप गरेनौं । उहाँले वकालत गर्दा पनि कैयौं क्लाइन्टहरुले मलाई यस्तो उस्तो भन्थे, म यसबारेमा उहाँसँगै कुरा गर भनिदिन्थें । उहाँको कुरो मसँग नगर भन्थें ।

म मोरङबाट गिरिजाबाबुविरुद्ध बागी उम्मेद्वार बनेर चुनाव लडें नि, त्यसबेला उहाँले मेरो कदममा कुनै प्रश्न उठाउनुभएन । हामीवीच आफ्नो बाटोमा कसैले हस्तक्षेप गर्दैन ।

प्रधानन्याधीशका रुपमा उहाँलाई तपाईको सुझाव के छ ?

अहिले राज्यका सबै अंगहरु भ्रष्ट भए भनेर जनताले गुनासो गरिरहेका छन् । यस्तो बेलामा उहाँले स्वच्छ छविका साथ काम गर्नुपर्छ र सबै क्षेत्रमा स्वच्छता कायम गर्न भूमिका खेल्नुपर्छ । हामीले जीवनमा जुन इज्जत कमाएका छौं त्यसलाई बचाएर काम गर्नुपर्छ ।

घरमा को-को हुनुहुन्छ ?

छोरा युनिभर्सिटीमा पढ्दैछन् । होस्टेलमा बस्छन् । म घरको सबै काम गर्छु । हामीले घरमा काम गर्ने मान्छे राखेका छैनौं । हातखुट्टा बसेका छैनन् किन काम नगर्ने ? म सबै काम गर्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment