Comments Add Comment

राजेन्द्र पाण्डेको हुँकारः मनमोहन अस्पताल लेनदेन गर्ने गोविन्द केसी को हुन् ?

rajendra pandey

१० साउन, काठमाडौं । डा.गोविन्द केसीले सरकारसँग सम्झौतामा हस्ताक्षर गरेर त्रिवि शिक्षण अस्पतालमा जुस पिउँदै गर्दा केसीको निशाना बनेको मनमोहन सहकारी अस्पतालका अध्यक्ष राजेन्द पाण्डे नयाँ बानेश्वरमा भेटिए ।

रोचक त के छ भने पाण्डे आफू प्रमुख रहेको मनमोहन अस्पताल र मेडिकल कलेज वीर अस्पताल (न्याम्स) ले किन्ने गरी भएको सम्झौता र केसीको अनसन तोडिएको बारे बेखबर रहेछन् ।

एमाले नेता पाण्डेले कसैको निजी र सहकारी सम्पत्ति बेच्ने अधिकार कुनै निकायलाई नभएको भन्दै केसीसँगको सम्झौता अनसन तोड्ने बाहानामात्रै रहेको दाबी गरे । यो सम्झौताले डा. गोविन्द केसीका आजसम्मको अनसन मनमोहन अस्पताल विरुद्धमात्रै थियो भन्ने उनी आफैंले पुष्टि गरेको पाण्डेको तर्क छ ।

नेपाल स्वास्थ्य सेवा सहकारी लिमिटेडका अध्यक्ष एवं धादिङ क्षेत्र नम्बर-३ का प्रत्यक्ष निर्वाचित सांसद पाण्डेले गोविन्द केसी स्वास्थ्य क्षेत्रका माफियाबाट परिचालित रहेको आरोपसमेत लगाए ।

डा. केसीसँगको सम्झौताको मुख्य बुँदा मनमोहन प्रकरण पाण्डेले अस्वीकार गरेसँगै केसीसँगको पछिल्लो सम्झौता पनि अनसन तोड्ने उपायमात्रै बन्ने खतरा बढेको छ । प्रस्तुत छ, एमाले नेता पाण्डेसँग अनलाइनखबरकर्मीले गरेको कुराकानीः

मनमोहन अस्पताल र मेडिकल कलेज त अब सरकारले लिने गरी सम्झौता भएछ, तपाईहरुका लागि सेफ ल्याण्डिङ र गोविन्द केसीको प्रतिष्ठा दुबैको सम्बोधन भयो होइन त अब ?

यसबारे हामीलाई कुनै जानकारी छैन र सरोकार पनि छैन । गोविन्द केसी अनसन बसेको सुनिएको थियो, दुई चारदिनपछि उनलाई अनसन तोड्न बहाना चाहियो, आफैंले माग राख्ने, आफैंले सम्झौता गर्ने र अनसन तोड्ने कुरामा हामीलाई चासो छैन ।

तर, मनमोहन अस्पतालसम्बन्धी सहमति त भएको हो नि ?

वास्तवमा यो सहमतिचाहिँ उनलाई जुस खुवाउने मेलो मात्र हो । हाम्रो सम्पत्ति बेच्ने अधिकार कसैलाई छैन, यो संविधानप्रदत्त अधिकार हो । जुन सम्झौता गरियो भनेर तपाईले भन्नुभयो, त्यसप्रति हाम्रो कुनै सहमति छैन र हामीलाई जानकारी पनि छैन । कसैलाई बेच्न भनेर हामीले अस्पताल बनाएको होइन, यो सहकारीको सम्पत्ति हो ।

तर, अनसनको एउटा माग त्यो पनि थियो, त्यो नै नमानेपछि सम्झौताको के अर्थ ?

अनसनको नाटक र त्यसपछिका कथित सम्झौतासँग हामीलाई कुनै सरोकार छैन । अनसन त टुँडीखेलमा पनि थियो । प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव आएपछि टुँडीखेलको अनसन टुंगियो, हिजो प्रधानमन्त्रीले राजिनामा दिएलगत्तै टिचिङ अस्पतालको अनसन टुंगियो । यो संयोगमात्रै होइन, यी दुवै अनसन कुनै उद्देश्यबाट सञ्चालन भएका हुन् भन्ने प्रष्ट भइसकेको छ ।

तर, मनमोहन प्रतिष्ठान सरकारले नै मनमोहनका नाममा चलाउने र तपाईहरुको सम्पत्ति किन्ने कुराले त तपाईहरुलाई बैंकको ऋणबाट मुक्त हुने मौका दिएन र ? फेरि किन यसको विरोध गरेको ?

गोविन्द केसीको अनसन मनमोहन अस्पताल विरुद्धमात्रै थियो र उनको एकमात्र उद्देश्य मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई रोक्नु थियो । हामीले यो कुरा पहिलेदेखि नै भन्दा अरुले पत्याएनन् । तर, आज उनी आफैंले मनमोहन प्रतिष्ठान सरकारले लिने भन्ने बुँदा आउनासाथ हतार-हतार हस्ताक्षर गरेर अनसन तोड्नुले यो कुरा त प्रष्ट भयो । आखिर खास्टोले छोपेर राखेको बिरालोले म्याउ गरिहाल्यो ।

जुन माग राखेर अनसन भएको हो, त्यही सम्झौता नै तपाईहरुले मान्दिँन भन्दा अनसनकारीमाथि धोका भएन र ?

हामीले उनका माग पूरा गर्ने ठेक्का लिएका छौं र ? हाम्रो सम्पत्ति बेच्ने अधिकार कसैलाई छैन । हामी त्यो मान्दैनौं । हामीले ०६४ सालमा सहकारीका नाममा आशयपत्र लिएर ०७० सालमा सबै पूर्वाधार तयार पारेपछि शिक्षा मन्त्रालय, नेपाल मेडिकल काउन्सिल र त्रिभुवन विश्व विद्यालयले निरीक्षण गरेका हुन् ।

सबैले मेडिकल कलेजको सम्बन्धन दिन उपयुक्त हुन्छ भनेपछि ०७१ साल कात्तिकमा आइओएमको १६९ औं बैठकले सम्बन्धन दिन लाग्दा गोविन्द केसीले रोक्नका लागि अनसन शुरु गरे ।

यसलाई बीचमै जबर्जस्ती रोकेर केदारभक्त माथेमा कार्यदल मार्फत हामीविरुद्ध षडयन्त्र गरियो । माथेमा कार्यदलको रिपोर्टलाई आधार बनाएर पहिले नै पूर्वाधार तयार भएको प्रतिष्ठानलाई रोक्नु भूतप्रभावी हो । यी सबै घटनाक्रमले अनसन विशुद्ध मनमोहन मेडिकल कलेज रोक्नकै लागि हो भन्ने प्रष्ट हुन्छ ।

तर, यो सम्झौताले तपाईहरुलाई ऋणबाट मुक्त हुनका लागि सेफल्याण्डिङ त हुन्थ्यो नि हैन र ? आखिर तपाईहरुले सम्बन्धन पाउने होइन क्यारे ?

हामीलाई कसैको निगाह चाहिएको छैन र ‘रेस्क्यु’ गर्नु परेको पनि छैन । संविधानले दिएको अधिकार र सरकारले दिएको अनुमतिका आधारमा हामीले काम गरेका हौं ।

सम्बन्धन नदिए पनि संसदमा प्रस्तुत मनमोहन स्वास्थ्य विज्ञान परिषद विधेयक संसदको सामाजिक न्याय समितिमा विचाराधीन छ । यसले कसैबाट सम्बन्ध लिनु नपर्ने र दिन पनि नपाउने भन्छ । हाम्रो अस्पताल प्रचण्डलगायत नेताहरुले निरीक्षण गरिसक्नुभएको छ । यो विधेयक पारित हुन्छ ।

तर, यो त समस्या समाधानको कुरा भएन, फेरि अनसन होला नि ?

गरे भैगो नि । आठौंपटक थियो, अब नवौंपटक हुन्छ । एउटा कुरामा तपाई पत्रकारहरु पनि के स्पष्ट हुनुपर्छ भने गोविन्द केसीको अनसनको उद्देश्य स्वास्थ्य क्षेत्रको सुधार हुँदैहुँदैन । मनमोहन मेडिकल कलेजलाई कुनै पनि हालतमा आउन नदिने कसम खाएर थालिएको हो यो अनसन । डा. केसी एमाले र मनमोहनप्रति अत्यन्तै पूर्वाग्रही छन् । उनको अनसनले नेपालको चिकित्साक्षेत्र ध्वस्त हुँदैछ ।

तर, केसीको अनसन त मेडिकल क्षेत्रको सुधारकै लागि हैन र ?

उनी सुधारका लागि भन्छन् । तर, उनको माताहतको शिक्षण अस्पतालको अर्थोपेटिक विभागको अवस्था सुधार गरेर देखाउन चुनौति छ मेरो ।

तपाई डा. केसीको अनसन एमालेविरुद्ध हो भन्नुहुन्छ, तर उनले तपाईलाई एमालेभित्रका मेडिकल माफिया भनेका छन् त ?

उनी र उनको गिरोह एमालेलाई कसरी बद्नाम गराउन सकिन्छ भनेर विभिन्न मुद्दा उचालेर हिँडेका छन् । यसपटक एमाले विरुद्धको लडाइँ हो भनेर उनका केही प्रवक्ताले भनेरै पुष्टि गरिसके ।

माफिया को हो भन्ने प्रष्टै छ । गोविन्द केसी माफियाबाट सञ्चालित छन् । उनको अनसनले नेपालबाट वर्षेनी ३ हजार विद्यार्थी मेडिकल पढ्न विदेशिएका छन् । त्यसवापत विदेश पठाउने परामर्शदाताले करोडौं कमाउँछन्, तिनीहरु नै केसीको अनसनका प्रायोजक छन् ।

मनमोहन मेडिकल कलेजले सरकारले तोकेको भन्दा १० लाख सस्तोमा वर्षमा एक सयजना विद्यार्थी पढाउछौं भन्दा माफियाहरुले अनसन गराएका हुन् ।

यो त अनसनमा बस्ने व्यक्तिको निष्ठामाथि नै अमानवीय र निराधार हमला भएन र ?

तपाईको अनलाइनखबर धेरैले पढे, एक नम्बर अनलाइन भयो भनेर कुनै सन्की व्यक्ति रिसले अनसन बस्ला । अनि, अनसनकारीको माग पूरा गर्न भन्दै अनलाइनखबरलाई सञ्चार मन्त्रालयले किन्ने गरी अनसनकारी र सरकारवीच सम्झौता भयो भने तपाईहरु मान्नुहुन्छ ? हो, यो पनि त्यस्तै हो । हाम्रो अस्पताल बेच्ने-नबेच्ने अधिकार हामीलाई मात्रै छ । यसबारेमा हामीसँग कुनै सम्झौता भएको छैन ।

जहाँसम्म अनसनको कुरा छ, गोविन्द केसीको अनसन अचम्मको छ । अनसन बसेको दुई/तीन दिनभित्रै उनलाई स्लाइन चढाएर ग्लुकोज दिन थालिन्छ । ग्लुकोज लगाएपछि त दुई तीन वर्ष पनि अनसन बस्न सकिन्छ । यो आमरण अनसन होइन, माफियाको ढोंग हो ।

तपाईले यसो भन्न कसरी मिल्छ ? पूर्वमुख्यसचिव लीलामणि पौडेलजस्ता प्रवुद्ध व्यक्तिहरुले समेत तपाईलाई हठ छाड्न आग्रह गरेको तपाईलाई सम्झना छ ? तपाई कसैको कुरा नसुन्ने ?

पहिलो कुरा उनी पनि ढोंगी व्यक्ति हुन् । मिडियामा सेलिब्रेटी हुन जे कुरा बिक्छ त्यही गर्ने उनको बानी हो । आफ्नो भर्‍याङमुनिको फोहोर सफा नगर्ने तर अरुतिरको फोहोर सफा गर्छु भन्दै मिडियाको ध्यान खिच्ने उनको प्रवृत्ति हो ।

जहाँसम्म मैले सुन्ने कि नसुन्ने भन्ने छ, मनमोहन अस्पताल मेरो व्यक्तिगत होइन । करीव २५ सय शेयर होल्डरको सहकारी हो । हामीले संविधान र कानुनले दिएको अधिकार प्रयोग गरेर चलाएका छौं । यसमा कसैले आँखा लाउँदैमा हामीले छाडेर हिँड्दैनौं ।

आज गोविन्द केसीको समर्थनमा हजारौं मान्छे छन्, यसरी तपाईले सिधै अस्वीकार गर्दा तपाईको राजनीति कहाँ पुग्ला ? आगामी चुनावमा कस्तो असर पार्ला ?

मलाई के कुरा प्रष्ट थाहा छ भने गोविन्द केसीका समर्थक एमालेलाई कहाँनिर हानौं भनेर ढुकेर बस्नेहरु हुन् । मलाई भोट दिने र मलाई जिताउने जनताले राजेन्द्र पाण्डे को हो भन्ने चिनेका छन् । ०४३ सालदेखि आजसम्म करीव ३० वर्ष म त्यहाँका जनताबाट निर्वाचित भएको राजनीतिक कार्यकर्ता हुँ । मेरा जनता मेरो पक्षमा छन् । मलाई ड्यामेज गर्न मेरो विरुद्ध फेसबुके र ट्वीटेले लेखेर मलाई केही हुन्न । जोजो फेसबुकमा मेरा विरुद्ध लेख्छन्, तिनीहरुले आजसम्म जनताका निम्ति केही काम गरेका छैनन् ।

म मलाई भोट दिने जनताप्रति बफादार छु, धादिङका जनताले माया गरेका छन्, फेसबुकेले के लेखे भनेर म हेर्दिँन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment