सोमबार, ९ साउन, २०७४
OnlineKhabar.com

भारतमा नेपाली चेली बेचिन्थे, अहिले मृगौला बेचिँदैछ !

नेपालीका लागि यसरी असुरक्षित बन्दैछन् भारतीय शहर

विजय राना

manish-chhetri

२९ मंसिर, काठमाडौं । राजु चेपाङले चानचुने सपना देखेका थिएनन् । त्यो सपना पूरा गर्न उनले बन्दूक बोके । तत्कालीन विद्रोही माओवादीमा लागेर उनले सबै मानिसहरु समान हुने समाज निर्माणको सपना देखेका थिए । तर, उनको त्यो सपना त पूरा त हुँदै भएन, बरु जीवन चलाउने सामान्य सपनासमेत पूरा नहुँदा आफ्नै मृगौला बेच्ने अवस्थामा सिर्जना भयो ।

माओवादी जनमुक्ति सेनाको युनिटमा २८ वर्षीय राजु चेपाङ पहिले उप-कमाण्डरसमेत भए । उनी वाइसिएलमा पनि सक्रिय भए । यद्यपि समाज परिवर्तन र समानताको सपना त पूरा भएन, तर एकसरो जीवन पनि जिउन नसक्ने अवस्थामा पुगेपछि मृगौला बेच्नुपरेको उनको स्वीकारोक्ति छ ।

तत्कालीन शाही नेपाली सेनासँग दुई ठूला मोर्चाको लडाइँ लडेका राजुले आफ्नै मृगौला बेचेर जिन्दगीको मोर्चा सम्हाल्नु पर्ला भन्ने सायदै सोचेका थिए । तर, जीवन सोचेजस्तो सरल रेखामा कहाँ चल्दोरहेछ र ?

जीवनमा उनले गर्न बाँकी केही राखेनन् । काँधमा राइफल भिरेर रगत बगाउन हिँडेकै हुन् । नारायणघाट र काठमाडौंका सडकमा रिक्सा घिच्याएर पसिना पनि बगाएकै हुन् ।

जब माओवादी लडाकुको क्यान्टोनमेन्टबाट उनलाई अयोग्य भनेर खाली हात निकालियो, त्यही दिनबाट उनका सबै सपना चकनाचूर भए । अनि यस्तो मोडमा पुगे, बाँच्नकै लागि भारतको कोलकातासम्म पुगेर २ लाख रुपैयाँमा आफ्नै मृगौला बेच्नुपर्‍यो ।

राजुको भन्दा फरक कहानी नेत्र क्षेत्रीको (नाम परिवर्तन) पनि छैन । मोर्चा एउटै थियो, अनि सपना पनि एउटै थियो । वाइसिएलको काठमाडौं जिल्ला सदस्य हुँदासम्म उनको चकचकी कम्ता थिएन ।

पार्टीकै ब्यानरमा जनवादी बिहे गरेपछि नेत्रको क्षेत्र फेरियो । धादिङमा जन्मिएर नारायणघाटमा बस्दै आएका २६ वषर्ीय नेत्रले पनि ६ महिना अघिमात्रै आफ्नो मृगौला बेचिसकेका छन् ।

राजु र उनको कथा धेरै फरक नभए पनि मृगौलाका मूल्य भने फरक रहेछ । नेत्रले ४ लाख रुपैयाँमा मृगौला बेचे । एकजना आफ्नै साथीले किड्नी बेचेर ‘मनग्य आम्दानी’ गर्न सकिने बताएपछि उनले सहज जीवन धान्ने उपायका रुपमा यो बाटो लिए ।

यी दुई पूर्वमाओवादी लडाकुको मृगौला कोलकातासम्म पुगेर बेच्ने दलालको सञ्जाल अझ डरलाग्दो छ । उनीहरुले मृगौला बेचे बेपत्ता २ देखि ४ लाख रुपैयाँ लिए पनि दलालले आफ्नै मृगौलाको १० लाख रुपैयाँसम्म लिएको थाहा पाएपछि उनी छाँगाबाट खसे ।

मृगौला बेच्नुपरेकोमा भन्दा पनि सरकारले प्रष्ट नीति नबनाएकोमा उनीहरु पश्चाताप गरिरहेका छन् । राजु भन्छन्- सरकारले सही नीति बनाउँथ्यो र हामी जस्ता युवाहरुलाई सानो भए पनि रोजगार दिएको भए यसरी आफ्नै शरीर बेचेर खानुपर्ने अवस्था आउने थिएन ।

यी प्रतिनिधि उदाहरण मात्र हुन् । दैनिकरुपमा सैयौँ व्यक्तिहरु मृगौला बेच्नका लागि भारतका पुगिरहेका छन् । आधिकारिक तथ्यांक कुनै निकायसँग छैन । तर, भारतका विभिन्न अस्पतालमा मृगौला बेच्ने नेपालीको लाइन देख्न सकिन्छ । मानव बेचबिखनको दृष्टिले भारतीय सहर नेपालीका असुरक्षित बन्ने क्रम घटेको छैन । चेलीबेटी बेचबिखनदेखि अहिलेसम्म आउँदा मानवअंग बेचबिखनको सुरक्षित गन्तव्य बनेको छ । भारत । तर, यसमा नेपालका दलालहरुको नेटवर्क समेत जोडिएको छ ।

प्राय १८ वर्ष देखि ३८ वर्षका युवाहरु दलालहरुको विभिन्न प्रलोभनमा परेर मृगौला बेच्न पुग्ने गरेको एक अध्ययनले देखाएको छ । जुन अध्ययन प्रतिवेदन चितवनमा हालै सार्वजनिक भएको छ ।

यसरी गर्छन् परामर्श

अध्ययनका क्रममा हामीले करिब २५ जना किड्नी बेचिसकेका र बेच्ने तयारीमा रहेका युवाहरुसँग कुराकानी गर्‍यौं । किड्नी बेच्नका लागि युवालाई तयार पार्ने परामर्श शैली उनीहरुको निकै फरक छ ।

kidny-1

सुरुमा दलालहरु घरमा पुग्दैनन् । तर, सम्भावित ठाउँ र व्यक्तिहरुको पहिचान भने उनीहरुले नै गर्छन् । निर्माणाधीन बाटोघाटो, भवन, पुलपुलेसो, रिक्सा चलाउने स्थान उनीहरुका प्राथमिकताका ठाउँहरु हुन् ।

व्यक्तिको कमजोरी, आर्थिक अवस्था र बहकावमा लाग्ने बानी बुझेर उनीहरु त्यहाँभित्र पस्छन् । दोस्रो चरणमा उनीहरुले यसअघि मृगौला बेचेर पैसा समाइसकेकाहरु मार्फत ती मजदूरलाई लोभ्याउँछन् ।

दलालहरुले थोरै समयमा धेरै पैसा कमाउने आश्वासन दिन्छन् । भारतको रमाइलो ठाउँ (समुन्द्र) घुम्न पाउने आश्वासन दिन्छन् । पैसा मात्र होइन, मोवाइल, ल्यापटप र नयाँ लुगा लगाउन पाइनेसम्मका आश्वासनबाट उनीहरुलाई पगालिन्छ ।

शारीरिकरुपमा केही समस्या हुन्छ कि भनेर सोध्न थाल्यो भने उनीहरुले आफ्नै टिसर्ट फुकालेर आफुले दान गरिसकेको घाउको दाग देखाउँछन् । ‘ठुलो घाउ पनि हुँदैन, दुख्दा पनि दुख्दैन लौ हेर मैले त किड्नी दिइसकेको छु’ उनीहरुको परामर्श गर्ने तरिका यस्तै हुन्छ ।
किड्नी बेचेर कुनै व्यक्तिले काठमाडौंमा घर बनाएको, कसैले मोटरसाइकल चढेको बनीबनाउ कथा सुनाइन्छ । त्यसपछि तयार हुन्छन् किड्नी दिनलाई ।

कतिपय यस्ता पनि छन्, जो आफूले मात्रै होइन, आफ्नी श्रीमती र आफन्तका पनि मृगौला बेचाउन सक्रिय छन् ।

यस्ता छन् बेचिने युवाहरु

हामीले भेटेका अधिकांश युवाहरु आर्थिक हिसाबले एकदमै कमजोर थिए । अध्ययनको हिसाबले अक्षर नचिन्नेदेखि कक्षा १२ पास गरेकासम्म थिए । उनीहरु विशेषतः परिवार र राज्यबाट साथ नपाएर, परिवारमा झगडा भएर निस्कएकाहरु थिए ।

यसमा राजनीतिक हिसाबले संगठित भएका व्यक्तिहरु समेत थिए । त्यहाँ पुग्नेहरु विवाहित र अविवाहित दुबैखाले थिए । उमेरका हिसाबले अधिकांश १८ देखि ३८ वर्षसम्मका थिए । जातका हिसाबले सबै भन्दा धेरै दलित, जनजाति, भए पनि क्षेत्री र ब्राहृमण समेत थिए । खास गरी पेशाका हिसाबले रिक्सा चालकहरु धेरै भेटिए ।

मृगौला बेचेबापतको रकम प्राप्त गरेपछि केही व्यवसाय गर्ने कुरा उनीहरुले बताए पनि अधिकांश व्यक्तिले रक्सी खाएर नै सक्ने गरेका छन् ।

कसले खोज्छन् युवा ?

नेपालमा किड्नी डोनर खोज्नेदेखि अस्पतालमा आवश्यक पर्ने कागाजात र प्रक्रिया पूरा गर्ने फरक-फरक व्यक्तिहरु छन् । यिनीहरुको सञ्जाल धेरै ठूलो छ र उनीहरुको सम्बन्ध प्रहरी प्रशासनका मान्छेहरुदेखि अस्पतालका डाक्टरहरुसम्म राम्रो पहुँच छ ।

मुख्य गरी उनीहरुको सञ्जाल तीन तहको छ । एउटा तह गाउँमा मान्छे खोजेर काठमाण्डौसम्म पुर्‍याउने, दोस्रो तह काठमाण्डौमा सामान्य स्वास्थ्य जाँच गरेपछि भारतसम्म पुर्‍याउने र तेस्रो तह भारतका विभिन्न अस्पताल र त्यहीँका स्थानीयसँग सम्पर्क गरी आवश्यक कागाजातहरु तयार गर्ने ।

यस कार्यमा भारतीयहरु पनि संलग्न छन् । भारतीयहरुको संलग्नताविना अस्पतालमा काम पनि बन्न सक्दैन ।

मृगौला बेच्नेको सांकेतिक भाषाः एटीएम

उनीहरुले प्रयोग गर्ने भाषाशैली पनि भिन्नै छ । उनीहरुले मृगौला किन्ने बिरामी भेटाए भने ‘एटिएम’ मिल्यो भन्ने शब्द प्रयोग गर्छन् । बिरामीबाट एटीमबाट जस्तै पैसा र्झने भएको हुनाले त्यो भाषा प्रयोग गरिएको हो ।

त्यस्तै डोनर (किड्नी दिने मान्छे) भेटिएको खण्डमा ‘सामान’ शब्दको प्रयोग गर्छन् । मान्छे पठाइ दे भनेर भन्नुपर्‍यो भने उनीहरुले सबैले बुझ्ने गरी ‘मान्छे’ पठाइदे नभनेर ‘सामान’ पठाइदे भन्छन् ।

विभिन्न रगत समूहलाई उनीहरुले ‘ए पोजेटिभको सामान’ बी पोजेटिभको सामान…भनी सांकेतिक भाषा प्रयोग गर्छन् ।

यसरी बन्छ नक्कली कागाजात

मृगौला बेचबिखन कार्यमा जो सँलग्न छन्, उनीहरुको कोठामा नै नेपाल सरकार छ भन्दा पनि फरक पर्दैन । उपचार प्रक्रियाका लागि आवश्यक कागाजातहरु पुर्‍याउनैपर्छ ।

kidny

पुर्‍याइने कागजातहरु एउटा पनि सक्कली हुँदैन । प्रक्रियाका लागि नागरिकता, गाउँ विकास समिति वा नगर पालिकाकोे सिफारिस पत्र, नाता प्रमाणित प्रमाण-पत्र, जिल्ला स्वास्थ्य कार्यालयको रिफर पत्र, प्रहरी हेडक्वार्टरको पत्र उनीहरुले नै तयार पार्छन् ।

त्यस्तै चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पतालको सिफारिस गरिएको निर्णय पत्र, मेडिकल बोर्डको सिफारिस पत्र, राजदुतावासको पत्र, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पत्र लगायतका विभिन्न कागाजातहरु उनीहरु नै बनाउँछन् ।

भारतका कुन अस्पतालमा लगिन्छन् नेपाली युवा ?

नेपाली नक्कली कागाजात पुर्‍याइने ठाउँ दिल्ली, कोलकाता र चेन्नई हुन् । यी ठाउँहरुमा नेपालीको राम्रै पहुँच छन् । विशेष गरी दिल्लीमा रहेका एपोलो अस्पताल लगायत, कोलकाताको सीएमआरआई (कोलकाता मेडिकल एण्ड रिसर्च सेन्टर) एपोलो र फोटिज अस्पताल रहेका छन् । चेन्नईको सिम्स र एपोलो अस्पतालमा नेपाली युवाहरुको मृगौला निकाल्नका लागि लैजाने गरिन्छ ।

प्रक्रियाका लािग आवश्यक कागाजात पूरा गरेको खण्डमा सजिलो गरी नेपालीले उपचार पाउने अस्पताल यिनै हुन् । त्यसकारण धेरै नेपालीका नक्कली कागाजातहरु पनि तिनै अस्पतालमा पुग्ने गर्दछन् ।

मृगौलाको मूल्यः दुईदेखि चार लाख रुपैयाँ

बेचबिखनमा संलग्न दलालहरुले किड्नी दिने मान्छे खोजिदिए बापत ७ लाख देखि १० लाख रुपैयाँसम्म ल्याउँछन् । अझ उनीहरुले बिरामीहरुको आर्थिक अवस्था हेरी त्योभन्दा बढी पनि लिन्छन् ।

तर, जो किड्नी दिनेहरु हुन् उनीहरुको अवस्था भने दयनीय छ । अधिकांशले २ लाख रुपैयाँमा नै चित्त बुझाउने गरेका छन् । कोही कसैले ४ लाख रुपैयाँसम्म प्राप्त गरे पनि त्यो संख्या निकै कम छ ।

नगर्ने काम पनि गर्छन्

मानव बेचबिखनमा संलग्नहरु यतिसम्म गिर्छन कि सायदै तपाई हामीले कहिल्यै कल्पना गरेका हुन्छौं । उनीहरुले पैसाका लागि कानुन विपरीतको काम मात्रै गर्दैनन्, मानवता विरुद्धको कार्य समेत गर्छन् ।

त्यसका लागि एउटा उदाहरण नै काफी छ । उनीहरुले ‘डोनरका रुपमा एकजना महिला मगाए । तर, महिला गर्भवती रहिछन् । गर्भवती महिलाको मृगौला निकाल्नका लागि अस्पताल र डाक्टरले अस्वीकार गर्नु स्वाभाविकै हो । त्यसैले उनीहरुले ती महिलाको पहिले गर्भपतन गराएरपछि किड्नी निकाल्ने योजना बनाए ।

अरु पनि हुन्छ

भारतमा ‘किड्नी ट्रान्सप्लान्ट’ प्रक्रिया अत्यन्तै झञ्झटिलो छ । कागजात मिलाउने र रगत समूह, किड्नी फङसन लगायत सबै स्वास्थ्य मात्रै ठीक भएर हुँदैन । अदालतमा गएर नाता सम्बन्ध सही छ भन्ने फैसला प्रक्रिया पनि पूरा गर्नुपर्ने हुन्छ ।

तयार पारिएको कागाजात अनुसार नाता सम्बन्धहरु सही छन् भन्दै आर्थिक अवस्था, परिवारको अवस्था बारेमा भिडियो क्यामेराको अगाडि बोल्न लगाइन्छ र भिडियो पनि खिचिन्छ ।

त्यसका लागि मुख्यतः डोनरले बोल्नुपर्छ । सबै नाता सम्बन्धका कागाजात पनि नक्कली हुन्छन् । त्यसैले करिब एक महिनासम्म झूठो नातासम्बन्ध घोकाइन्छ । भिडियोको अगाडि फलानो व्यक्ति मेरो आफन्त हो, मेरो र उसको सम्बन्ध यो हो भनेर हिन्दीमा भन्न सिकाइन्छ ।

युवाहरुलाई भारतका विभिन्न अस्पतालसम्म पुर्‍याउने समूह एउटामात्रै छैन । धेरै समूहहरु छन् । केही समूहले एउटै अस्पतालमा मान्छे पठाउने पनि गर्छन् भने केही समूहले भिन्नभिन्न अस्पतालमा मान्छे पठाउने गर्छन् । उनीहरुवीच निकै प्रतिस्पर्धा पनि छ ।

कसरी पत्ता लगाउँछन् बिरामी

किड्नी बेचबिखन गर्नेहरुको संख्या र सञ्जाल धेरै ठूलो छ । उनीहरुको काठमाण्डौका अस्पतालहरु (जहाँ-जहाँ डायलासिस र किड्नी सम्बन्धी रोगको उपचार हुन्छ) देखि पहिल्यै उपचार गरिसकेका किड्नी रोगीका आफन्तसँग निरन्तर सम्पर्कमा रहिरहन्छन् ।

महङ्गो उपचारका कारण चौपट परिसकेका बिरामीका आफन्तले पनि एकजना बिरामीलाई ती व्यक्तिहरुसँग सम्पर्क गराइदिए बापत बेचबिखनमा संलग्नहरुबाट मात्रै एक लाख रुपैयाँ पाउँछन् । केही डाक्टरहरुसँग उनीहरुको सिधै पहुँच छ भने अस्पतालमा कार्यरत सुरक्षा गार्डहरुसँग पनि उनीहरुको राम्र्रो पहुँच छ ।

यसले गर्दा अस्पतालमा आएका किड्नी बिरामीको पहिचान गरी उनीहरुसमक्ष पुर्‍याउने र चिनजान गराइदिने काम गर्छन् । त्यसबापत पनि उनीहरुले केही निश्चित रकम प्राप्त गर्छन् । त्यसकारण उनीहरुको सञ्जाल प्रहरी प्रशासनदेखि अस्पतालका कर्मचारी, उपचार गरिसकेका किड्नी बिरामी र किड्नी दान गरिसकेका व्यक्तिहरुसँग पनि राम्रो छ ।

के भन्छ कानुन ?

त्यसरी गरिने कार्य नेपालको कानुनअनुसार गैरकानुनी कार्य हो । अङ्गदान तथा प्रत्यारोपण ऐन सन् १९९८ तथा संसोधित ऐन २०७२ का अनुसार नजिकैको नातेदार, परिवार र भतिज तथा दुई पुस्तासम्म नजिकको सम्बन्ध भएको व्यक्तिसम्मले पाउने व्यवस्था गरेको छ ।

यसका साथै ‘डेथ ब्रेन’ भएका व्यक्तिको समेत किड्नी राख्न सकिने व्यवस्था गरिएको छ, त्यो बाहेक अरु सबै गैह्रकानुनी कार्य हुन् । त्यस्तो ग्रैह्रकानुनी कार्य गर्नेलाई मानव बेचबिखन अन्तरगत मुद्दा लाग्छ ।

२०७३ मंसिर २९ गते १३:२५ मा प्रकाशित (२०७३ मंसिर ३० गते ८:०८मा अद्यावधिक गरिएको)
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
१ प्रतिकृया प्राप्त
  • aajnabee लेख्नुहुन्छ    |   २०७३ मंसिर ३० गते ११:५१

    Aahila sarkar chahiyo ….. paila ta banduk bhaya pukthyo ta…. yo kai haina aafnai daju bhai marako PAP karayako ho….

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this