शनिबार, १६ वैशाख, २०७४
OnlineKhabar.com

‘फाइभ स्टार जेल’ बाट नेपाल चियाउँदा

जे-जस्तो भए पनि नेपालै प्यारो

जोतारे धाइबा

hiranya-bhojpure-1

अस्थिर राजनीति र जुनसुकै क्षेत्रमा लथालिंग अवस्था । नेपालको यो हालतदेखि दिक्क भएर यहाँ केही हुन सक्दैन भन्दै विदेश जान खोज्नेहरु धेरै हुन्छन् । त्यसमा पनि युरोप र अमेरिका धेरैको सपनामा हुन्छ ।

सांगीतिक जोडी हिरण्य भोजपुरे र उर्मिला श्रेष्ठको कथा भने फरक छ । पछिल्लो आठ वर्षदेखि अमेरिका बसेर केही महिनाअघि नेपाल फर्किएको यो दम्पती अमेरिकाको बसाइलाई ‘फाइभ स्टार जेल’ को संज्ञा दिन्छन् । अमेरिका बस्नु उनीहरुको रहर नभई बाध्यता हो ।

उनीहरू भन्छन्, ‘जे-जस्तो भए पनि हामीलाई नेपाल नै प्यारो छ ।’

***

०२० को दशकमा सांगीतिक समूह ‘लेकाली परिवार’ मा गणेश रसिक, निर्मला श्रेष्ठ लगायत गायक-गायिका र भोजपुरे दम्पतीले नेपाली संगीतमा फरक स्वाद पस्किएका थिए । लेकालीले त्यो बेला गाएको चर्चित गीत थियो, ‘मलाई प्यारो लाग्छ लहरा पहरा छहराको देश ।’

छहराको देशमा यहाँ भोजपुरे दम्पतीले जताततै अव्यवस्था, अभाव, प्रदुषण देखेका र भोगेका छन् । अमेरिका पुग्दा त्यहाँको सभ्यता र विकासको चरम चुली पनि देखे । नेपालीहरुको संख्या बाक्लिँदै गएर त्यहाँभित्र नै स-सानो नेपाल बनिरहँदा सामाजिक जीवनमा भिज्दै पनि गए ।

तर, अमेरिकाको निद्रामा पनि उनीहरुले नेपालकै सपना देखे । नेपाली समुदायको साहित्यिक तथा सांगीतिक जमघटमा र नेपालीमनमा मिसिए पनि नेपालको न्यास्रो लागिरह्यो ।

‘दिनभरि सबै काममा जाने भएकोले घरमा हामी दुई जना मात्र बोर भएर बस्नुपर्छ’, ललितपुरको सुनाकोठीस्थित निवासमा ७४ वर्षीय भोजपुरेले अमेरिका सम्झिए, ‘सबै कुराको सुविधा भएको फाइभ स्टार जेलको जिन्दगी छ त्यहाँ ।’

यसैले जोसुकैले जेसुकै भने पनि उनीहरुलाई नेपाल नै प्यारो लाग्छ । नेपालमा धुवाँ-धूलो भए पनि सफाचट सपनाको देशबाट यतै फर्किन मन लाग्छ ।

यो जोडी नेपाल-अमेरिका आउजाउ गर्न थालेको आठ वर्ष भइसक्यो । वर्षको आधा समय यता बस्छन्, आधा समय उता । पछिल्लो समय भने १७ महिना बसेर आएका हुन् ।

बुढेसकालमा ‘विदेशिने’ उनीहरुको कुनै रहर होइन । दुई छोरा र एक छोरी अमेरिकामै बस्ने भएकोले तिनै मुटुका टुक्राहरुको ठेगाना पैल्याउँदै त्यहाँ पुगेका हुन् ।

hiranya-bhojpure-and-urmila-shresth

 

संगीत कर्म मुख्य भए पनि हिरण्य-उर्मिला साहित्य पनि लेख्छन् । हिरण्यले त गीत लेखन र संगीत सिर्जनासँगै उपन्यास, कथा, लघुकथा, निबन्ध लगायत धेरै विधामा हात हालेका छन् । अमेरिकी जीवनशैली उनलाई कति रुखो लाग्यो भने, त्यहाँ हुँदा आफ्नो सिर्जनशीलता नै सुकेर गएको अनुभूति भयो ।

‘अलिअलि लघुकथा लेखेँ’, ठट्टा मिसाउँदै सुनाए, ‘त्यो पनि एक-दुई पेग खाएको बेलामा ।’

दिनभर छोराछोरी काम गर्न जाने भएकोले त्यो समयमा के गरेर बस्ने भनेर सधैं त्यहाँ फुर्सदले टोक्छ दुवैलाई । खुसीको सास फेर्न बूढाबूढीले छोराछोरी फर्किने बेलुकाको समय कुर्नुपर्छ ।

नेपालमा हुँदा भने आफन्तसँग भेटघाट र विभिन्न कार्यक्रममै उनीहरुको समय बित्छ । कहिले कसकोमा भोज, कहिले को बिरामी, कहिले आफ्नै काम । कमलादीमा उर्मिलाको ९७ वर्षीय बुवा छन्, बेलाबेला भेट गर्न जान्छन् । हिरण्यको दाजुभाइ र बहिनीहरुसँग पनि भेटघाट भइरहन्छ ।

अमेरिकामा शंखेकीराको ढाडमा उँघ्ने समय यता आउँदा खरायोमाथि आसीन भएर बुर्कुशी मार्छ ।

***

अमेरिका जाँदा यो जोडी कोलोराडोको डेनबरमा पुग्छन्, जहाँ उनीहरुको छोराछोरी बस्छन् ।

उनीहरुले डेनबरमै गत वर्ष एक घन्टाको गीति कार्यक्रम समेत देखाए । लेकालीको चर्चित गीतसहित पछिल्ला गीतहरु गाए । कार्यक्रमको निकै प्रशंसा भयो ।

नेपाली समुदायले विभिन्न कार्यक्रम गरिरहने भएकोले त्यहाँ उनीहरुले नेपाल नै जस्तो माहौल पाए । नेपाली साहित्य र संगीतलाई टेवा दिने मान्छेहरूको कुनै कमी छैन ।नेपालबाट कलाकारहरु पुगिरहन्छन्, सांगीतिक कन्सर्ट भइरहन्छ । कवि गोष्ठीहरु पनि बेलाबेला चल्छ । कतिसम्म भने, नेपाली ब्राह्मण नै भएको सनातन मन्दिर समेत छ । विशुद्ध नेपाली संस्कृति र उताको संस्कृति मिलेर नवसंस्कृतिको जन्म भएको छ ।

तर, नेपालीपनको संरक्षण भएको राम्रो अवस्थासँगै उनीहरु मनै कुँढिने पाटोको पनि साक्षी भए । सबभन्दा नयाँ पुस्तालाई हेर्दा कताकता नेपालीपन नै हराउँदै गएको महसुस उनीहरुलाई भयो । त्यो पनि आफ्नै पारिवारिक संसारमा हेरेर ।

hiranya-bhojpure-and-urmila-shresth-2

उनीहरुको छोरी र दुई छोराको घरजम भइसकेको छ । सबैभन्दा जेठी छोरीको दस र आठ वर्षका दुई छोरा छन् । ठूलो छोराकी एउटी छोरी छिन् ।

नेपाली भाषा-साहित्य र संगीतमा रमाउँदै आएका हजुरबा र हजुरआमालाई तब नमज्जा लाग्यो, जब नाति-नातिनाले नेपाली भाषा नै नजान्ने देखे ।

छोराछोरी पुस्ताले आफ्नो व्यस्त समयबाट फुर्सद निकालेर नेपालीपन जोगाइरहे पनि नातिनातिना पुस्ता भने टाढिँदै गएको महसुस गरे । ‘बालबच्चाहरू नेपालभन्दा एकदमै बाहिर पुगिरहेको जस्तो फिल गर्‍यौं हामीले’, दुवैले एउटै खिन्न्ता पोखे ।

अवस्था कस्तो रहेछ भने, बच्चाहरु स्कूल जाने उमेर अगाडि घरमा नेपाली भाषा राम्ररी नै बोल्ने गर्दा रहेछन् । तर, स्कूल जान थालेसँगै अंग्रेजीको दबाबमा परेर पहिलेको भाषा बोल्नै छाड्दा रहेछन् ।

उर्मिलाले बच्चाहरुमा नेपाली भाषाको प्रभाव मेटिनुको रहस्य सुनाइन्, ‘आमा-बाउले घरमा नेपाली बोलिदिएको भए तिनीहरुलाई पनि नेपाली आउँथ्यो होला, स्कूलमा अंग्रेजी कमजोर हुन्छ भन्ने डरले घरमा पनि अंग्रेजी नै बोलिदिँदा बच्चाहरुले नेपाली बिर्सिए ।’

केटाकेटीलाई भाषा नआउँदाको नमीठो अनुभूति पनि जोडिएको छ । पहिले-पहिले हजुरबा र आमासँग नाति-नातिनाहरू एकदम झ्याम्मिन्थे । तर, नेपाली भाषाबाट टाढिएसँगै उनीहरु आफूदेखि नै अलि टाढा भए जस्तो हुन थाले ।

विसकन्सिन राज्यको राजधानी शहर म्याडिसन जाँदा भने नेपाली समुदायमै उनीहरुले भाषा, संस्कृति संरक्षणमा राम्रो पहल देखेर उनीहरु दंग परे । त्यसबाट उनीहरुलाई लोभ्यायो ।

म्याडिसनमा नेपाली बच्चाहरुको लागि साप्ताहिक रुपमा नेपाली कक्षा नै चलाउने व्यवस्था रहेछ । वर्षको एकचोटि कार्यक्रम नै गरेर नेपाली कविता, नृत्य आदिको प्रतियोगिता गर्ने प्रचलन पनि नेपाली समुदायले बसाएका रहेछन् ।

त्यसबाट प्रेरित भएर हिरण्य-उर्मिलाले आफू बसेको डेनबर शहरमा पनि नेपाली बच्चाहरुलाई नेपाली भाषा सिकाउन त्यस्तै केही प्रयास गर्ने योजना बनाइरहेका छन् ।

***

अमेरिका बस्दा एकलास घरमा दिनभर ‘दुई जना एक्लै’ को अवस्थामा बसे पनि त्यो समयमा दुवैको मनमा धेरै कुरा खेले ।

नेपाली भाषा र संस्कृतिको लागि केही गर्नुपर्छ र संस्कृतिलाई अझ बलियो बनाउन के गर्न सकिन्छ भन्नेमा घोत्लिए । विशेष गरेर केटाकेटीलाई नेपाली भाषा सिकाउने, नेपाली गीत सिकाउने र सांस्कृतिक सरसल्लाह चाहियो भने दिने खालको एउटा संस्था बनाउने हो कि भन्ने निष्कर्षमा पुगेका छन् । त्यसका लागि सरसल्लाह गर्दै छन् ।

हिरण्यले सुनाए, ‘नेपाली भाषाको जगेर्नाको लागि, केटाकेटीलाई नेपाली भाषिक संस्कार दिनका लागि कसै न कसैले केही न केही गर्नैपर्छ, त्यतातिर विचार गर्दै छौं ।’

नेपालभन्दा बढी समय अमेरिका नै बस्नुपर्ने भएकोले पनि खाली समयमा अर्थपूर्ण काम गर्न उनीहरुले यो योजना अघि बढाएका हुन् । ‘एउटा कुरा त समयको सदुपयोग पनि भयो’, यो पालि उर्मिला बोलिन्, ‘अर्को कुरा चाहिँ विदेशमा बसेर पनि मुलुकको लागि केही देन दिइरहेका हुन्छौं ।’

***

भोजपुरे दम्पतीका तीनै सन्तानमा संगीतको प्रभाव छ । गाउन र बजाउन उत्तिकै रुचि राख्छन् । कान्छो छोराले त डेनबरमा घरैमा स्टुडियो बनाएका छन् ।

साँझमा परिवारका सदस्यबीच बेलाबेला घरैमा सांगीतिक महफिल जम्छ । ‘लेकाली’ समूहमा एकसेएक गीत-संगीतको कार्यक्रम गरेर चर्चा पाएका त्यो जमानाका गायक-गायिका विरानो भूगोलमा यस्तै घरेलु हाहा होहोमा बढ्ता खुसी मान्छन् ।

लेकाली समूह अहिले फर्केर हेर्दा इतिहासमा सीमित भएको छ । समूहले ०२४ सालको श्रीपञ्चमीबाट औपचारिक यात्रा सुरु गरेको थियो । आउँदो महिनाको श्रीपञ्चमीमा स्थापनाको ५० वर्ष लाग्दै छ । स्वर्ण जयन्तीमा केही कार्यक्रम गर्ने हो कि भन्ने विचारमा छ यो जोडी ।

समूहका सदस्यहरु जीविकाको मेलोमा लागेर ०३५/३६ सालपछि तितरवितर भए । त्यसपछि सामूहिकता भत्किएर व्यक्तिगत रुपमा संगीतकर्म चल्न थाल्यो । गणेश रसिक राष्ट्रिय गीतहरु गाउनतिर लागे । हिरण्यले पाण्डव सुनुवार, लालबहादुर गन्धर्व जस्ता लोकगायकसँग जोडी बाँधेर केही गीतहरु गाए ।

पछिल्लो समय भने न निस्त्रिmय न सक्रियको अवस्थामा छ लेकाली । समूह नाममा मात्र बाँचेको छ । समूहले कुनै बेला ‘लहरा पहरा छहराको देश’, ‘ए है है आज भेंडाबाख्रा कता लाने’, ‘ट्याम्के डाँडा’, ‘रातो भाले क्वायँ क्वायँ’ जस्ता दुई सयको हाराहारीमा नेपाली माटोका गीतहरु जन्माएको थियो ।

त्यो सांगीतिक यात्राले नेपाली मनहरुलाई संगीतको मौलिक स्वाद र कलाकारहरुलाई परिचय मात्र दिएन, कसैलाई जीवनको लय नै फरक पारिदियो । संगीत कर्म गरिरहँदा ०२६ सालमा हिरण्य र उर्मिलाको जोडी बाँधिएको थियो ।

दुवै पछिल्लो समय रिटायर्ड लाइफको आनन्द लिइरहेका छन् । हिरण्य रसिक छन् । कथा-लघुकथामा ‘हिर्दोक पारा’ को फुँदा जोडेर पाठकलाई कुतकुत्याइरहन्छन् । सरकारी सेवामा चार दशकभन्दा बढी समय खियाएकी उर्मिला त्यो उन्मादलाई थोरै सम्हाल्न जुट्छिन् ।

यस्तैमा यो जोडीको रउसे जीवन अघि बढिरहेको छ, बेलाबेला लेकालीको गर्विलो इतिहासमा फन्को मार्दै ।

२०७३ पुष २२ गते १२:१० मा प्रकाशित (२०७३ पुष २३ गते ११:१६मा अद्यावधिक गरिएको)
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
६ प्रतिकृयाहरू प्राप्त
  • devindra bogati लेख्नुहुन्छ    |   २०७३ पुष २२ गते १७:२१

    a great nepal l love nepal salam cha hajur lai jaya nepal

    3
    2
    Share

  • BB लेख्नुहुन्छ    |   २०७३ पुष २२ गते २१:३४

    कुरा यथार्त हो तर म भन्छु अल्छी नेपाल। त्यसैलै बिकास हुदैन भ्रष्टाचार मात्र।

    4
    0
    Share

  • Shyam लेख्नुहुन्छ    |   २०७३ पुष २३ गते ८:२४

    At least where your children’s are living and getting all the things that you could not give can you use other term than Jail. You mean all the Nepalese are in jail. That is without there will. Hopefully, next time you would not go to jail

    4
    2
    Share

  • Hiranya Bhojpure लेख्नुहुन्छ    |   २०७३ पुष २८ गते १४:०६

    A PARADISE NOT A JAIL

    मेरो अन्तर्वार्ता निकालीदिनुभएकोमा अनलाइनखबरलाई हार्दिक धन्यवाद!
    फाइव-स्टार जेल जोर-शव्द- को सन्दर्भमा श्यामजीले दिनुभएको टिप्पणीले म बिमझें । श्यामजी, त्यसकालागि कृतज्ञ छु। तेस्लाई फाइव-स्टार जेलको सट्टा ‘फाइव स्टार जीवन’ भनेर संशोधन गर्न चाहन्छु।

    जन्मभूमि नेपाल भएर पनि मेरा छोरा-छोरीको कर्मभूमि अवश्य पनि usa बनेको छ। बस्तवमा जेल भनेर मैले साहित्यिक जोक गर्न खोजेको थिएँ। तर हाँसो ठीक ठाउँमा परेन भने हँसाउने नै हाँसोको पात्र बन्दोरहेछ भन्ने कुरो बुझें।

    I know, USA is the second most loved country for me. Shyamjee, I assure you, next time I enter into a PARADISE not in a jail…..!

    9
    1
    Share

  • krishna khadka लेख्नुहुन्छ    |   २०७३ माघ २० गते २३:२६

    dherai ramro kura ra bicharka dhani kurapauda

    2
    0
    Share

  • Tulsi Maharjan लेख्नुहुन्छ    |   २०७३ माघ २८ गते १५:०७

    najik basi sangai kura gareko anubhuti bhayo. dhanyabad chha

    1
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this