Comments Add Comment

विपक्षीलाई झुक्याउन संसदमा सत्तापक्षको यस्तो ‘ट्रिक’

गृहमन्त्री संसदमै आएनन्, कानूनमन्त्रीले एमालेलाई यसरी झुक्याए

ajay-shankar-nayak-minister-of-law-810

२४ पुस, काठमाडौं । एमालेसहितका विपक्षी ९ दलले आइतबारको संसद बैठकमा संविधान संशोधन प्रस्ताव टेबल नै गर्न नदिने योजना बनाएका थिए । तर, सत्तापक्षबाट कानूनमन्त्रीले ‘ट्रिक’ लगाएका कारण विपक्षीले उनलाई रोक्न सकेनन् । र, विपक्षीको होहल्लाका बीचबाट संविधान संशोधन प्रस्ताव टेबल भयो ।

सर्वोच्च अदालतको आदेशलाई समेत विचार गर्दै एमाले सहितका ९ दलले संसदमा संविधान संशोधन प्रस्ताव बाहेक अन्य प्रस्तावमाथि छलफल गर्न दिने रणनीति बनाएको थियो । यही रणनीति अनुसार आइतबार विपक्षीले संसदको बैठक अवरुद्ध गरेनन् र चल्न दिए ।

संसद बैठकमा गृहमन्त्री विमलेन्द्र निधीले निर्वाचनसम्बन्धी विधेयकहरु टेबल गर्ने कार्यसूची थियो । तर, उनी संसदमा उपस्थित नै भएनन् । निधी भएको भए निर्वाचनसम्वन्धी विधेयकहरु टेबुल गर्न उनी आफैं जानु पर्थ्यो र पछि कानूनमन्त्री अजयशंकर नायकले संविधान संशोधनसम्बन्धी विधेयक टेबल गर्न रोष्टममा जानुपर्ने थियो ।

तर, सुरुमै निधी अनुपस्थित भएपछि उनका तर्फबाट निर्वाचनसम्न्बन्धी विधेयक टेबल गर्न सभामुखले अजयशंकर नायकलाई रोस्टममा बोलाइन् । निर्वाचन सम्वन्धी विधेयक पेश गर्न एमालेसहितका विपक्षी दलहरुले सरकारलाई साथ दिए ।

लोकमानको प्रस्ताव अघि सारियो

आइतबारको बैठकको कार्यसूचीमा संविधान संशोधन प्रस्तावपछि लोकमानसिंह कार्कीको महाअभियोगको प्रस्तावमाथि छलफल हुनुपर्ने थियो । तर, संविधान संशोधन प्रस्तावलाई अघि बढाउँदा विपक्षीले विरोध गर्ने थाहा पाएपछि सभामुखले चलाखीपूर्वक संविधान संशोधन प्रस्तावलाई कार्यसूचीबाट पछाडि सारिन् र लोकमानसिंह कार्की सम्बन्धी प्रस्ताव टेबल गरिन् ।

सभामुख ओनसरी घर्तीले लोकमानको महाअभियोग प्रस्तावमाथिको छलफल सकिएको घोषणा गरिन् ।

त्यसपछि महाअभियोगको प्रस्ताव सिफारिस समितिमा पठाउने प्रस्ताव गरिन् । यो प्रस्तावलाई विपक्षीसमेतले समर्थन जनाएपछि पारित भयो । र, महाअभियोगको प्रस्ताव समितिमा पठाइयो ।

विपक्षीले मन्त्रीलाई रोक्न पाएनन्

निर्वाचन विधेयक र लोकमानसिंहको महाअभियोग प्रस्ताव प्रस्तुत गरिसक्दासम्म कानूनमन्त्री अजयशंकर नायक रोष्टमबाट तल नओर्लिई माथि नै खडा भइरहेका थिए ।

र, त्यहीँबाट सभामुखले उनलाई संविधान संशोधन प्रस्ताव टेबल गर्न निर्देशन दिइन् । कानूनमन्त्री नायकलाई रोष्टममा चढ्नै नदिने तयारीमा रहेका विपक्षी नेताहरुले उनलाई रोक्न सकेनन् । उनी पहिल्यै ‘ट्रिक’ लगाएर रोष्टममा पुगिसकेका थिए ।

उनले विपक्षी दलका नेताको होहल्ला र नाराबाजीका वीच संविधान संशोधन प्रस्ताव टेबल गरे । र, अब यो प्रस्ताव संसदमा मतदानका लागि औपचारिक प्रवेश पाएको छ ।

संसदमा गृहमन्त्री किन अनुपस्थित भएको भन्दै प्रश्नमा कांग्रेस संसदीय दलका एक पदाधिकारीले भने, ‘गृहमन्त्री एकपटक, कानुनमन्त्री अर्को पटक रोष्टममा गइराख्न कहाँ सजिलो छ ? तपाईहरुले बुझ्नु भएकै छ नि ।’

एमालेले कानुनमन्त्रीलाई रोष्टममा जान रोक्न सक्ने भएकाले यो ‘ट्रिक’ लगाइएको उनले स्वीकार गरे ।

संविधान संशोधन प्रस्ताव पेश भइसकेपछि सभामुख घर्तीले सोमबार दिउँसो १ बजेसम्मका लागि संसद बैठक स्थगित भएको घोषणा गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment