Comments Add Comment

कमल थापादेखि रेखा थापासम्म: राप्रपाका नेता को कति पानीमा ?

पुरानो गुट भत्किँदै, कमल थापा 'पावरफूल' बन्दै

३ फागुन, काठमाडौं । यसैसाता महाधिवशेनको तयारी गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीमा पुरानो ‘राप्रपा गुट’ तहस-नहस हुने बाटोमा अघि बढेको छ । र, यसको सोझो फाइदा अब कमल थापाले उठाउने भएका छन् ।

पूर्वराप्रपा नेताहरु पशुपतिसमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी र लोकेन्द्रबहादुर चन्दवीच आपसी एकता हुन नसकेका कारण मझौला राप्रपा नेताहरुसमेत कमल थापाको पक्षमा उभिन थालेका छन् । युवा पुस्ताका नेताहरु कमल थापातिरै ढल्किएका छन् ।

विचारको हिसाबले पनि राप्रपाले कमल थापाकै ‘राजतन्त्रको लाइन’ लाई पारित गरेपछि अब त्यहाँ जसको ‘नीति उसैको नेतृत्व’ हुनुपर्ने कुरो उठ्न थालेको छ ।

हामीले यहाँ राप्रपाभित्रको वैचारिक पक्ष भन्दा पनि नेतृत्वगत शक्ति सन्तुलनबारे सामान्य शल्यक्रिया गर्ने प्रयास गरेका छौं:

पशुपतिसमशेर जबरा

राप्रपाका सिनियर नेता पशुपति समशेरले लामो समय पार्टी नेतृत्व हाँकेका व्यक्ति हुन् । उनी एक प्रकारले ‘टेस्टेड’ नेता हुन् । राणा खान्दानमा जन्मिए पनि उनी ०४६ पछि प्रजातान्त्रिक प्रक्रियामा आए । र, ०६३ सालपछि आफूलाई गणतन्त्रको पक्षमा उभ्याए ।

तर, पशुपतिसशमशेर राजनीतिमा त्यतिधेरै अक्कल भएका नेता मानिँदैनन् । दुई राप्रपावीच एकताको मितिसमेत तोकिएसकेका बेला पछि हटेका राणाको राप्रपाभित्र पकड कमजोर बन्दै गइरहेको छ ।

पूर्वराप्रपा समूहमै रहेका डा. प्रकाशचन्द्र लोहनी, ध्रुवबहादुर प्रधान, सुनीलबहादुर थापा, विक्रम पाण्डेलगायतका नेताहरु नै अब पशुपतिबाट पार्टी चल्न सक्दैन भन्ने निश्कर्षमा पुगिसकेकाले राणाबाट अब राजनीतिक नेतृत्व हाँकिने सम्भावना कमै देखिन्छ । उनी अध्यक्षमा उढ्ने चर्चा चले पनि धेरैले यो कुरामा विश्वास गरेका छैनन् ।

कमल थापाले राप्रपा फुटाएर जाँदा पहिलो संविधानसभासम्म राप्रपा नेपाल धेरै कमजोर थियो । तर, दोस्रो संविधानसभासम्म आइपुग्दा राप्रपा नेपालले राप्रपालाई पछि पार्‍यो । कमल थापाले कार्यकर्ताबाट पैसा उठाएर बलियो पार्टी कार्यालय बनाए, पशुपतिसमशेरले चाँहि भएकै पार्टी कार्यालय पनि भुतबंगलाजस्तो बनाए, पार्टी त के, कार्यालयसम्म राम्ररी चलाउन सकेनन् ।

राप्रपा नेताहरुका अनुसार पशुपतिलाई भारतीय पक्षको समर्थन रहेको बताइन्छ । तर, भारतीय पक्षले पनि बलियोलाई हेर्छ कि कमजोरलाई भन्ने बहस पनि राप्रपाभित्र चल्न थालेको छ । पार्टीभित्र र बाहिर दुबैतिर कमल थापा शक्तिशाली भएकाले भारतले वा अरु कुनै देशले बलियोलाई नै महत्व दिने पूर्वराप्रपाका नेताहरुको बुझाइ छ । पूर्वराजा र पशुपतिसमशेरको सम्बन्धका बारेमा पनि यही कुरा सत्य हुन सक्छ ।

त्यसो त आफूलाई ‘राजा साहेब’ जस्तै सोच्ने पशुपतिसमशेर राणा फिल्डमा दुख गर्ने भन्दा पनि पैसा पेलेका भरमा राजनीति गर्ने बानी परेका छन् । निर्वाचनमा पैसा बाँडेर भोट किन्न सकिन्छ भन्ने सोचाइ भएका राणाले यसपालि महाधिवेशनमा आफ्ना प्रतिनिधिको संख्या बढाउन जिल्ला जिल्लामा पैसा खर्च गरेको कमल थापा पक्षका कार्यकर्ताहरुको गुनासो छ ।

आशन्न महाधिवेशनमा कमल थापासँग चुनाव लड्दा आफ्नो हालत नराम्रो हुने पशुपतिसमशेर राणाले राम्रोसँग बुझेका छन् । जिल्लाबाट आएका प्रतिनिधिहरुको संख्याले पनि यो चित्र देखाइसकेको छ । त्यसैले राणा यो महाधिवेशनमा अध्यक्षको उम्मेद्वार बन्नुभन्दा थापासँगै मिलेर आफ्नो पोजिसन सुरक्षित गर्ने सोचाइमा रहेको स्रोतको दाबी छ । यसो गर्दा भोलि राणाले समानपातिक सांसद बन्ने र सरकारमा जाने बाटो सुरक्षित हुने देखेका हुन सक्छन् ।

डा. प्रकाशचन्द्र लोहनी

हाल आलोपालो प्रणाली अन्तरगत राप्रपाका राष्ट्रिय अध्यक्ष रहेका डा. प्रकाशचन्द्र लोहनी वौद्धिक व्यक्तित्व हुन् । उनको विद्वता पार्टीभित्रमात्रै होइन, बाहिर पनि स्थापित छ । उनी नियमित लेखहरु लेख्छन् र विचार दिन सक्छन् । डा. लोहनी अध्ययनशील एवं विचारक तथा चिन्तकका रुपमा समेत राप्रपाका एक खम्बा मानिन्छन् ।

विगतमा सरकारमा सहभागिता जनाउँदा पनि लोहनी भ्रष्टाचारमा मुछिएनन् । उनी एक प्रकारले सादगी नेताका रुपमा समेत स्थापित छन् ।

तर, राप्रपाभित्र डा. लोहनीको कुनै गुट छैन । उनी पार्टीभित्र सधैं अल्पमतमा पर्दै आएका छन् । उनले अहिलेसम्म पार्टीको ‘फस्ट म्यान’ बन्न नपाएका कारण आफ्नो क्षमता प्रदर्शन गर्नबाट वञ्चित हुनुपरेको छ ।

अहिलेको अवस्थामा कतिपय व्यक्तिको सल्लाहमा लागेर डा. लोहनीले महाधिवेशनमा कमल थापासँग अध्यक्षमा चुनाव लड्ने घोषणा गरेका छन् । तर, पूर्वराप्रपा समूहभित्रै विभिन्न गुट उपगुटहरु रहेको र लोहनीको खासै गुट नरहेकाका कारण उनले चुनाव लड्नु भनेको कमल थापासँग हार्नु नै हो ।

अब लोहनी हार्ने चुनाव लडेर पार्टीभित्र प्रतिपक्षको नेता बन्छन् या कमल थापासँगै सहकार्यको बाटोमा जान्छन् ? यो हेर्न बाँकी छ । विचारको हिसाबले लोहनी पनि कमल थापाजस्तै गणतन्त्रको विकल्पमा राजतन्त्र राख्नुपर्ने पक्षमै उभिएका छन् ।

लोहनीले आफैं चुनाव नलडी पशुपति समशेरलाई सघाउने अनुमान किन गर्न सकिँदैन भने वौद्धिक विश्लेषक डा. लोहनीले राणाको पछि लाग्नु र थापाको पछि लाग्नुमा हुने फाइदा/बेफाइदाबारे पक्कै पनि आँकलन गरेकै हुनुपर्छ ।

पशुपतिको पछि लागेर हुने भए अहिले राप्रपाको हालत यस्तो पातलो हुने नै थिएन । यद्यपि पार्टीभित्र कमल थापाको विपक्षमा रहेको भोटलाई आफूमा समाहित गरेर लोहनीले प्रतिपक्षको भूमिका खेले भने उनी पार्टीमा शक्तिशाली बन्न सक्छन्, कांग्रेसमा कृष्ण सिटौलाले गरेजस्तै । शायद यही सोचेर लोहनीले ‘हार्ने चुनाव’ मा भिड्ने मानसिकता बनाइरहेको हुन सक्छ ।

स्रोतका अनुसार रोशन कार्की, विक्रम पाण्डे, बुद्धिमान तामाङ, ध्रुवहादुर प्रधान लगायतले आफूलाई समर्थन गर्ने डा. लोहनीको विश्वास देखिन्छ । त्यस्तै पूर्वराप्रपाका नेता पशुपतिसमशेर र लोकेन्द्रबहादुर चन्दले पनि आफूलाई सघाउने लोहनीले सोचेका हुन सक्छन् ।

तर, पूर्वराप्रपाका अधिकांश नेताहरुले ‘हार्ने नेता’ को पछि लाग्नुभन्दा कमल थापाकै वरिपरि फन्को मार्ने सोचाइ बनाइसकेका छन् । जस्तो कि- सूर्यबहादुर थापाका छोरा सुनीलबहादुर थापाले महाधिवेशनमा लोहनीको साटो कमल थापालाई नै सघाउने लगभग पक्का भइसकेको छ । यो स्थितिमा लोहनी अध्यक्षमा चुनाव लडेको खण्डमा पूर्वराप्रपा समूहबाटै उनलाई पूर्ण समर्थन नआउन सक्छ ।

लोकेन्द्रबहादुर चन्द

राप्रपाभित्र व्यक्तित्वका हिसाबले पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द सबैभन्दा माथिल्लो तहका नेता हुन् । सूर्यबहादुर थापाको निधनपछि चन्द राप्रपाका एकमात्र पूर्वप्रधानमन्त्री एवं शीर्ष नेता हुन् । तर, आगामी महाधिवेशनमा चन्द आफैंले नेतृत्वमा दाबी गरेको वा गर्ने अवस्था छैन ।

सूत्रहरुका अनुसार चन्दको एउटामात्रै चाहना के छ भने आफ्ना छोरा जयबहादुर चन्दको राजनीतिक भविश्य सुरक्षित होस् । विगतमा ओली सरकारमा छोरालाई मन्त्री बनाउन चन्दले पशुपतिसमशेर राणासँग सम्झौता गर्नुको कारण पनि यही नै थियो । त्यसबेला केपी ओलीले विक्रम पाण्डेलाई मन्त्री बनाउन चाहन्थे तर, लोकेन्द्रले आफ्नो छोरालाई बनाउन चाहे ।

सुदुरपश्चिममा बाहेक अरुतिर लोकेन्द्रको खासै प्रभाव छैन । त्यसैले आगामी महाधिवेशनमा उनको समर्थन जुन नेतालाई हुन्छ, उसलाई संख्यात्मक नभएर नैतिक बलमात्रै थपिने छ । सूत्रहरुको दाबी के छ भने लोकेन्द्रले जयबहादुर चन्दको भविश्य सुरक्षित गर्ने मूल्यमा कमल थापालाई नै सघाउनेछन् ।

त्यसो त कमल थापासँग राप्रपाको पार्टी एकता गराउने कार्यमा पनि चन्दले सकारात्मक भूमिका खेलेका छन् ।

कमल थापा

राप्रपाका अध्यक्ष कमल थापा संघर्ष र संगठन अनि व्यक्तित्वको हिसाबले पनि पार्टीभित्र प्रतिस्पर्धाविहीन नेता बन्न पुगेका छन् । राप्रपा कमजोर भएका बेला पार्टी फुटाएरै भए पनि शक्ति आर्जन गरेका थापा पार्टीका तर्फबाट संसदमा प्रतिनिधित्व गर्ने उच्च नेता हुन् । उपप्रधानमन्त्री र परराष्ट्रमन्त्री भएपछि उनले राष्ट्रिय र छिमेकी देशमा समेत आफ्नो व्यक्तित्व विकास गरेका छन् ।

देशैभरि पूर्वराप्रपा नेपालको बलियो संगठन छ । पार्टी काहिरका मानिसहरुमा पनि कमल थापाप्रति आकर्षण देखिन्छ, जति अन्य राप्रपा नेताहरुमा छैन ।

भौतिक रुपमा पनि कमल थापा डा. लोहनी, चन्द वा राणाहरुभन्दा फूर्तिफार्ती छन् । ट्वीटर लगायत सामाजिक सञ्जालमा युवा पुस्तासँग सम्वादमा रहन्छन् । रणनीति बनाउन र कार्यनीतिक मामिलामा पनि थापा निकै सिपालु छन् ।

यी सबै विशेषताका कारण अबको महाधिवेशनमा थापा एक्ला प्रतिस्पर्धी जस्तै देखिन्छन् । पूर्वराप्रपाभित्र गुटैगुट र फुटैफुट छ भने पूर्वराप्रपा नेपाल कमल थापाको नेतृत्वमा एक ढिक्का छ । यो अवस्थामा कमल थापाले पूर्वराप्रपाकै विभिन्न गुटहरुको समर्थन पाउने सम्भावना बढेको छ ।

तर, कमल थापाका केही कमजोरीहरु पनि छन् । जस्तो कि उनले पार्टीभित्रका विपक्षीलाई नरुचाउने र आन्तरिक लोकतन्त्र फस्टाउन नदिने डर प्रतिद्वन्दस्हरुमा छ । विगतमा पदमसुन्दर लावतीले थापासँग पार्टी अध्यक्षमा चुनाव लडेका कारण उनलाई लखेटिएको गुनासो पनि आउने गरेको छ । त्यसैले पार्टीमा कमल थापा शक्तिशाली भए भने कतै उनी निरंकुश त हुने हैनन् ? यस्तो डर अन्य नेताहरुमा देखिन्छ, जसलाई कमल थापाले चिर्न सकेको देखिँदैन ।

राप्रपा नेपाल पक्षका केही नेताहरु आगामी चुनावमा पार्टीलाई बलियो बनाउनुपर्ने बेलामा एकले अर्कामाथि यस्तो आशंका गरेर बस्दा सबैलाई घाटा हुने बताउँछन् । त्यसैले अहिले सबैले कमल थापालाई सघाउनुपर्ने र थापाले पनि दुबै गुटमा राम्रा मान्छेलाई समेटेर टीम बनाउनुपर्ने कमल थापा निकटस्थ नेताहरुको भनाइ छ ।

मझौला खेलाडीः दीपक बोहोरादेखि दिलनाथसम्म

एकीकृत राप्रपाभित्र केही त्यस्ता खेलाडीहरु छन्, जसको चर्चा नगरी महाधिवेशन अपूरो हुनेछ । तीमध्ये हाल मन्त्री पदमा रहेका दीपक बोहोरा पार्टी बाहिर अलोकपि्रय छवि नेता हुन् । तर, पार्टीमा उनी सधैं लाइन मिलाएर शक्तिमा आइरहन सक्ने खेलाडी हुन् । यसपालि बोहोराको राजनीतिक हिसाब-किताव कमल थापासित मिलान हुन्छ, या पूर्वराप्रपा समूहमै रहन्छन्, अनुमान लगाउन गाह्रो छ ।


माधव नेपालका पालादेखि ओलीका पालासम्म अनि अहिले प्रचण्डका पालासम्म गणतन्त्र फापेका बोहोरा हालसम्म पशुपति समशेर राणासँग छन् । तर, उनको कित्ता कुनै पनि बेला परिवर्तन हुन सक्छ । पार्टीमा उनको खासै जनाधार एवं मताधार छैन ।

राप्रपामा प्रत्यक्षतर्फ चुनाव जितेर आएका सुनीलबहादुर थापा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरासमेत भएकाले उनीसँग पिताको ‘लिगेसी’ र मताधार छ । युएनको प्रोजेक्टमा लामो समय काम गरेर राजनीतिमा फर्केका सुनीलबहादुर यतिबेला कमल थापासँग नजिकिने पक्षमा छन् ।

सुनीलसँग पिताकै पालादेखिका केही केन्द्रीय सदस्य एवं जिल्ला प्रतिनिधिहरुको साथ छ । यसले गर्दा दीपक बोहोराभन्दा सुनील थापाको सहयोगले महाधिवेशनमा अर्थ राख्ने सूत्रहरुको दाबी छ ।

त्यस्तै नेपाल प्रहरीका पूर्वआइजीपी ध्रुवबहादुर प्रधान, वर्तमान मन्त्री विक्रम पाण्डे, पूर्वगृहमन्त्री बुद्धिमान तामाङ राप्रपाका महत्वपूर्ण खेलाडी मानिन्छन् । तर, यिनीहरु आगामी महाधिवेशनमा आफ्नो पूर्वगुटका राणा र लोहनीलाई छाडेर कमल थापाको कित्तामा आउने अनुमान राप्रपा नेपालका नेताहरुले गरेका छन् । महाधिवेशनमा यी नेताहरुसँग उल्लेख्य मत रहेको छ, जसका कारण उनीहरुको समर्थन लिनु अध्यक्षका प्रत्याशीहरुका लागि जरुरी छ ।

पूर्वराप्रपा नेपाल गुटमा रहेका बाँकेका धवलसमशेर राणा र झापाका राजेन्द्र लिङदेन क्षेत्रीय एवं जिल्ला तहका चर्चित एव लोकपि्रय नेता हुन् । तथापि उनीहरुको प्रभाव क्षेत्रीय रुपमा मात्रै रहेको र राष्ट्रिय व्यक्तित्व बन्न नसकेको बताइन्छ ।

व्यवस्थापिका संसदमा सक्रिय भूमिका खेलिरहेका पूर्वराप्रपा नेपालका दिलनाथ गिरी, सुशील श्रेष्ठ र दिनेश श्रेष्ठलगायतका नेताहरु कमल थापाका ‘ब्याक बोन’ हुन् । त्यसैगरी गणेश थापा र रामकुमार सुब्बा पनि कमल थापाका सारथी हुन् । राजाराम श्रेष्ठ, उद्धव पौडेल, लगायतका नेताहरु कमल थापाका दुखसुखका सहयात्री हुन् ।

युवा पुस्ताका कोको छन् ?

राप्रपाभित्र युवापुस्ताका ‘खेलाडी’हरुको पनि अभाव छैन । पूर्वराप्रपा नेपाल पक्षका मोहन श्रेष्ठ र राजाराम बर्तौलादेखि पूर्वराप्रपा समूहमा सूर्यबहादुर थापाका नाति सिद्धार्थ थापासम्म राप्रपाका युवा नेताहरु हुन् । त्यसैगरी पद्मसुन्दर लावतीका छोरा सगुन लावती पनि राप्रपामा युवा पुस्ताका खेलाडी नेता हुन् ।

पूर्वमन्त्री पर्शुराम राईका छोरा रविन चाम्लिङ पनि कमल थापा पक्षका युवा जनजाति नेता हुन् । लोकेन्द्रबहादुर चन्दका छोरा जयबहादुर चन्द पनि नयाँ पुस्तामै गनिन्छन् । केशरबहादुरका छोरा बिराज विष्ट भने अहिले राप्रपामै छैनन् ।

राप्रपाका दुईवटै गुटका युवा नेताहरुले पूर्वराप्रपा वा पूर्वराप्रपा नेपाल भन्नुभन्दा पनि कमल थापाको नेतृत्वमा पार्टी अघि बढ्नुपर्ने र उनले दुबै समूहमा रहेका ‘क्रिम’ मानिसहरुलाई नेतृत्वमा ल्याउनुपर्ने मत राख्दै आएका छन् ।

युवा पुस्ताका नेताहरुले कमल थापालाई गुटको नेता नबन्न र राप्रपाभित्रका गुटहरुभन्दा माथि बस्न सुझाव दिएका छन् ।

सेलिब्रेटीको बेग्लै सल्बलाहट

भनिन्छ, राजनीति एउटा निरश व्यवसाय हो । तर, राप्रपाको आगामी महाधिवेशनमा कोमल ओली र रेखा थापाको सशरीर उपस्थितिले राजनीतिलाई उतिसाह्रो निरश एवं खल्लो हुन दिने छैन । तथापि सेलीब्रेटीहरुको बढ्दो सक्रियताले राप्रपाभित्रका संघर्षशील महिलाहरु छायाँमा पर्ने र अन्तरविरोध बढ्ने डर पनि छ ।

पार्टी प्रवेशलगत्तै केन्द्रीय सदस्यमा मनोनित भएकी रेखा थापा महाधिवेशनमा चुनाव नलड्ने कुरै भएन । त्यस्तै कोमल ओली पनि केन्द्रीय सदस्यकी स्वाभाविक दाबेदार हुन् ।

पार्टीमा पछि आएका सेलिब्रेटीहरुको चर्चा परिचर्चाले साँच्चैकी ‘राजनीति सेलिब्रेटी’ कुन्ती शाही छायाँमा पर्न थालेकी छिन् । राप्रपा नेतृ रोशन कार्की त यसअघि नै छायाँमा परिसकेकी छिन् । मीरा राणाको भूमिका गीत गाउनेबाहेक खासै देखिएको छैन ।

पश्चिम नेपालको दुर्गम गाउँबाट संघर्ष गरेर राजनीतिमा अगाडि आएकी कुन्ती शाहीका तुलनामा रेखा र कोमलको राजनीतिक अनुभव धेरै नै कम छ ।

तर, यो कुराचाँहि निश्चित हो कि पूर्वपञ्चहरुको पार्टीका रुपमा चिनिने राप्रपाभित्र युवायुवती एवं महिलाहरुको आकर्षण बढाउन यस्ता सेलीब्रेटीहरुको परिचालनले भूमिका खेल्ने नेताहरुले ठानेका छन् । सोमबारमात्रै कोमल ओली र रेखा थापाले अर्याल होटलमा एक कार्यक्रम गरेर केही युवा कलाकारहरुलाई राप्रपामा प्रवेश गराएका छन्, जुन कुन्ती शाहीहरुबाट सम्भव हुने थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment