सोमबार, १४ चैत, २०७३
OnlineKhabar.com

‘सीमामा नेपाली भएर बाँच्दा कति पीडा खेप्नुपर्छ, भनी साध्य छैन’

अनलाइनखबर

भारतीय सीमावर्ती क्षेत्रको नेपाली जीवनको कथाव्यथा उतारिएको नयनराज पाण्डे लिखित लूउपन्यास (०६८) चर्चित कृति हो । सोही उपन्यासमा आधारित नाटक यतिखेर राजधानीको मण्डला थिएटर अनामनगरमा मञ्चन भइरहेको छ । उपन्यासको नाट्य रुपान्तर, परिकल्पना र निर्देशन सरिता साहले गरेकी हुन् । ताण्डव थिएटरको प्रस्तुतिमा फागुन २७ देखि सुरु भएको मञ्चन चैत २० सम्म चल्नेछ ।

 निर्देशक साहसँग नाटकको तयारीदेखि मञ्चनमा आउँदासम्मको अनुभवबारे गरिएको कुराकानी:

उपन्यासभित्र त भारतीय सीमावर्ती गाउँको अभाव, आर्थिक र राजनीतिक दाउपेचदेखि प्रेम र सद्भावसम्मका धेरै प्रसंग छन्, नाटकमा ती सबै कुरा कसरी समेट्नुभएको छ ?

– विविध कुरालाई डेढ घण्टाको नाटकमा समेट्न एकदमै समस्या भयो । त्यही भएर मैले स्क्रिप्ट तीन चोटिसम्म पुनर्लेखन गर्नुपर्‍यो । फेरि त्यो उपन्यास यस्तो राम्रो छ, कुनै पनि कुरा नछुटोस् जस्तो लाग्छ । तर, सीमित समयमा के कुरा देखाउने भन्ने हुन्छ । मैले नाटकमा मूल रुपमा तीन वटा पाटो समेट्न खोजेको छु, सीमामा बस्ने नेपालीहरुले खेप्नुपर्ने दुर्व्यवहार, प्रेम र हिन्दु-मुस्लिमको पलायन ।

नाटकका लागि यो उपन्यास किन छान्नुभयो ? के कुराले छोयो ?

– पहिलो कुरा त उपन्यासको परिवेश हाम्रो तराईको जनजीवनसँग मिल्ने खालको छ । अर्को कुरा चाहिँ उपन्यासमा राजनीतिक दलका नेताहरुका कारण हिन्दु-मुस्लिमहरुले आफ्नै ठाउँ छोडेर जानुपरेको अवस्थालाई अहिले मधेसी र पहाडी समुदायबीचको दूरीसँग जोडेर हेरेँ । कसैले मलाई हेरेर ‘तिमी त कस्तो काली-काली, इन्डियन जस्तो’ भन्दा त मलाई चित्त दुख्छ भने नेपालमै जन्मिएर हुर्किएका मान्छेहरुले आफ्नो ठाउँ छोड्नुपर्दा कति पीडा भयो होला ! त्यो कुराले मलाई एकदमै छोयो । यहाँका मान्छेहरुले तराईमा बस्नेहरु सबै भारतीय हुन् भन्छन् । तर, सीमामा बस्नेहरुलाई मात्र थाहा छ, सीमामा नेपाली भएर बाँच्नुपर्दा कति पीडा खेप्नुपर्छ ।

पहिलो चोटि स्टेज नाटक निर्देशन गर्नुभयो, कस्ता चुनौती खेप्नुपर्‍यो ?

– सुरुमा त म नाटक निर्देशन गर्छु भनेर मान्छेहरुलाई विश्वास दिलाउनै गाह्रो पर्‍यो । किनभने पहिलो चोटि निर्देशन गर्दै थिएँ । कलाकार छान्ने क्रममा धेरैले पत्यानन् । नयाँ निर्देशकसँग किन काम गर्ने भन्नेहरु पनि निस्किएँ । हामीले सुरुमा जति कलाकार छानेका थियौं, धेरै कलाकार परिवर्तन भए । सुरुमा छानिएका कलाकारहरुमध्ये अहिले नाटक खेल्ने दुई-तीन जना मात्र छन् । त्यसरी चेन्ज गर्दै नयाँ कलाकारसँग काम गर्दा उनीहरुलाई बुझाउन गाह्रो भयो । अर्को कुरा, कलाकारभन्दा पनि अरु मान्छेहरुले यति छिटै निर्देशनमा हात नहाले हुन्थ्यो भन्ने कुराले पनि तनाव दियो ।

पहिलो निर्देशनमै यस्तो संवेदनशील विषयमा हात हाल्ने साहस चाहिँ कसरी आयो ?

– करिब डेढ वर्षअघि जब मैले ‘लू’ उपन्यास पहिलो पटक पढेँ, एकदमै मन परेको थियो । मेरो जीवनको पहिलो पुस्तक होला, जुन पढ्ने बित्तिकै म रोएकी थिएँ । पढिसकेपछि यसलाई कसैले नाटक बनाएर देखाए कस्तो राम्रो हुन्थ्यो भन्ने लागेको थियो । तर, कसैलाई भन्न सकेको थिइनँ । पछि आफैंले बनाउने सोच बनाएँ । पहिले लेखक नयनराज पाण्डेसँग कुरा गरेँ, नाटकको स्क्रिप्ट लेखौं भनेर । उहाँले तपाईं नै लेख्नुस्, बरु केही सहयोग चाहियो भने गरुँला भन्नुभयो ।

त्यसपछि अरु साथीहरुसँग कुरा गरेँ । तर, सबैले यो उपन्यास त एकदमै भारी छ, यसलाई नाटक बनाउन सजिलो छैन भनेर टार्ने मात्र गरिरहे । यो नाटक त जसरी पनि बनाउनैपर्छ भनेर मनमा लागिसकेको थियो, एकचोटि आफैं प्रयास गर्छु भनेर अघि सरेँ । त्यसपछि स्क्रिप्ट तयार पारेर तीन चोटिसम्म पुनर्लेखन गरेँ ।

नाटक तयार पार्न कति समय लाग्यो ?

– नाटक लेखेर स्क्रिप्ट फाइनल गर्न, कलाकार छनोट र रिहर्सल गर्दासम्म करिब डेढ वर्ष नै लाग्यो । लेख्न मात्र ६ महिना लागेको थियो ।

हालै सीमावर्ती जिल्ला कञ्चनपुरमा भारतीयहरु तथा सीमा सुरक्षा बलबाट नेपालीहरुमाथि ज्यादती भयो, यही अवसर छोपेर यो नाटक मञ्चनमा ल्याइएको हो ?

– यतिबेला यो नाटक मञ्चन हुनु संयोग मात्रै होला । पहिले बैशाखदेखि नै नाटक देखाउन खोजेको हो । तर, हल मिलिरहेको थिएन । पछि अरु कारणले पनि मिति सर्दै गयो ।

आफू मधेसकै कलाकार भएकाले त्यहाँको जनजीवन देख्नु र भोग्नुभएको छ, यो नाटक गर्न त्यसले कत्तिको सहज भयो ?

– म महोत्तरीको टिम्कियाकी चेली हुँ । आफू तराईवासी भएकाले यो नाटक गर्न धेरै सहयोग पुर्‍यायो ।

दर्शकबाट पाएका प्रतिक्रियाहरु हेर्दा तपाईंले उपन्यासलाई कत्तिको न्याय गर्न सकेको देखायो ?

– दर्शकबाट मिश्रित खालका प्रतिक्रिया आएका छन् । धेरै अडियन्सले सीमावर्ती क्षेत्रका नेपालीहरुको दयनीय चित्रणले मन छोयो भन्नुहुन्छ । कतिले चाहिँ राजनीतिक कुरा अझै बढी आउनुपर्थ्यो भन्नुभयो । तर, यथार्थ के हो भने, हामीले सबैलाई चित्त बुझाउन पनि सक्दैनौं । हामीले के देखाउन खोजेको भन्ने कुरामा हामी क्लियर छौं । हामी त्यही गरिरहेका छौं ।

उपन्यासका लेखकको प्रतिक्रिया चाहिँ कस्तो आयो ?

– उहाँले राजनीतिक कुरा अझै आउनुपर्थ्यो, कमेडी अलि धेरै भयो भन्नुभयो । उहाँले कुन रुपमा सोच्नुभएको थियो र मैले कति गर्न सकेँ, त्यो त म भन्न सक्दिनँ । उहाँलाई पहिले नाटकको ड्राफ्ट पनि देखाएको थिएँ । रिहर्सलको क्रममा पनि उहाँ तीन-चार चोटि आउनुभएको थियो । नाटक हुनुभन्दा एक दिन अगाडि रिहर्सल पनि हेर्नुभएको थियो ।

यो नाटक गर्न तपाईं आफैंले स्क्रिप्ट लेख्नुपर्‍यो । हामीकहाँ धेरैजसो रंगकर्मीहरुले मञ्चनका लागि नेपाली नाटकहरुको अभाव छ भन्छन्, तपाईंलाई के लाग्छ ?

– रंगकर्मीहरुले विदेशी नाटकहरु अनुवाद गरेर मञ्चन गर्ने गरेको मैले पनि देखिरहेकी छु । तर, मैले नेपाली उपन्यास र कथाहरु जति पनि पढेको छु, त्यो हेर्दा नाटकका लागि हामीकहाँ विषयको अभाव छैन । हाम्रा यति धेरै कथा छन्, त्यसैलाई नाटक बनायो भने बाहिरको गर्नै पर्दैन जस्तो लाग्छ । तर, समस्या के छ भने, नाटक लेख्ने मान्छे छैनन् ।

२०७३ चैत ६ गते १०:५३ मा प्रकाशित
अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।
३ प्रतिकृयाहरू प्राप्त
  • दिपक साह लेख्नुहुन्छ    |   २०७३ चैत ६ गते १२:२३

    good work . wish you a great future . and one question for you . can you do someting that’s make our maithali language more popular ???

    0
    0
    Share

  • बिजय कुमार श्रेष्ठ (बझाङ्ग) लेख्नुहुन्छ    |   २०७३ चैत ६ गते १३:०५

    सीमामा नेपाली भएर बाँच्दा जे जस्तो कठिनाई आइपर्छ, त्यो केही भारतीय छुद्र नागरिक र सरकारी कर्मचारीका तर्फबाट आइपर्ने कठिनाई होला । तर यस्तो कठिनाई सामना गर्न सजिलो हुन्छ, किनभने यस्तो कठिनाईमा पिडक पक्षको स्पष्ट पहिचान खुलेको हुन्छ । पिडक वा दुश्मन चिनिएको छ भने सामना गर्न सहजता प्राप्त हुन्छ ।
    बर्तमानमा, स्पष्ट रुपमा नचिनिएका नेपाली दुश्मनबाटै नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको बचावट गर्न तपाईं सरिता साह लगाएतका राष्ट्रवादी नेपालीहरुलाई ज्यादै कठिनाई देखा परेको छ ।

    1
    0
    Share

  • Mongol लेख्नुहुन्छ    |   २०७३ चैत ९ गते १५:२५

    Pida diney pani timrai roti beti hun kyaarey…nepalilai kina gunaaso …aafno roti betilai nai samjhaunu paryo…galat thauma pida pokherA …haamley k garnu ta

    0
    1
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this