शुक्रबार, १५ वैशाख, २०७४
OnlineKhabar.com

चिया पकाउन सहयोगी चाहिने, देश चलाउन नचाहिने ?

ए शर्मिला ! मेरो कोट खै ? पाइन्ट कहाँ छ ? स्यान्डो खै ? मोेजा कता छन् ? पाइन्ट, सर्ट कता छ ? ढाकाटोपी कता छ ? लुगामा आइरन गर्या हो कि होइन ? चश्मा कता छ ? मैले बोक्ने गरेकेा पाइलट पेन कहाँ छ ?

केही दिनअघि बिहानैको समयमा एकजना नेता अंकलको घर पुग्दा यी शब्दहरु एकाएक कानमा गुञ्जिए । उज्यालो नहुँदै उठेकी आन्टी अघिल्लो रातिदेखि भिजाएका दुई बाल्टी लुगा धोइसकेर, घर पुछपाछ गरीवरि पूजापाठ समेत सकाइसकेर भान्साको काममा व्यस्त थिइन् ।

अंकल ओछ्यानबाटै कराइरहेका थिए, उता आन्टी भने अंकलको कुरा सुनेको नसुन्यै गरिरहिन् । अंकल अहिलेसम्म ओछ्यानमै ? पंक्तिकारको प्रश्नमा आँखा मिच्दै हाइ काढेका अंकलले राति अबेर सुतेकाले आज अलि ढिलो भएको, अरुदिन चाँडै उठ्ने बताए ।

आन्टीले कुरोबीचमै काटिन् ढाँटको निम्तो खाई पत्याएँ भन्याजस्तै हो नानी, आज तिमी आयौ त्यही भन्नुहुन्छ, भोलि अर्को आए यही भन्नुहुन्छ । खास उठ्ने समय भनेको सधैं यही हो । देख्यौ नि, मैले आधाभन्दा बढी काम सकाएँ उहाँको उठ्ने बेला हुँदैछ …।

‘बिरामी पर्दा पनि सकी नसकी आफैं उठ्नुपर्छ लोग्नेमान्छे आफूभन्दा पहिल्यै उठेकेा रेकर्ड आजसम्म थाहा छैन’ आन्टीले वास्तविकता कहिन् । मलाई ढिलो भइसक्यो भन्या… शर्मिला लुगा छिटो खोज्देऊ न …अंकल फेरि भुन्भुनाउन थाले ।

राजनीति गर्ने अंकलकी शिक्षित गृहणी र समाजसेवी हुन् आन्टी । अर्को अर्थमा भन्दा घरको कुशल घर यवस्थापक हुन्, आम गृहणी मानिएका महिलाहरु कुशल घर व्यवस्थापक नै हुन् ।

भान्सामा तरकारी केलाउदै गरेकी आन्टीको रीसले एकैचोटि एकसय असी डिग्री फेरो मार्न थाल्यो, ‘आफुले लगाउने लुगा समेत भेटाउन नसक्नेले के देश बनाउने गफ हाँक्दै हिँड्नु ?’ यी चिया लिनोस ।

आन्टीले चिया लिएर आइन् तर नेता अंकल चिया समाउन फुर्सद कहाँ पाउथे र ? फोनको घन्टी एकपछि अर्को बजेको बज्यै, जतिबेला पनि व्यस्त ।

अंकललाई चिया खाने फुर्सद पनि छैन होइन त ? पक्तिकारको प्रश्नमा आन्टीले जवाफ फर्काइन्, ‘व्यस्त मात्र कहाँ हो र तिम्रो अंकल सधैको अस्तव्यस्त पाराको, घरपरिवार कसैको मतलव हुँदैन ।’

समाउनु न चिया, उता भान्सामा दाल डढिसक्यो होला । आन्टी फेरि कराइन् । राखिदेउ न त्यही टेबुलमा … फेरि फोनमै ब्यस्त देखिए अंकल ।

आंटीले भनिन्- ‘चुनाव हुने हो कि नहुने हो तिम्रा अंकलको चुरीफुरी अलिअलि छैन, देख्यौ होइन चाला ?’

‘के भाको होला घरमा बस्ने आइमाई मान्छेको कुनै देखिने काम पनि छैन, फेरि एकैछिन बस्ने फुर्सद पनि छैन ।’ आन्टी एकैछिन भुत्भुताइन् र आफ्नै धन्दामा लागिन् । फोनमा कुरा गरिसकेपछि अंकल फेरि कराउन थाल्ो ‘ए शर्मिला… तिमी कान सुन्दिनौ कि मैले भनेको काम अटेरी गर्छौ हँ ? अघिदेखि धुइँपत्ताल खोजी रा’छु मेरा लुगाहरु खै ? पार्टीको काममा जान ढिलो भइसक्यो, आज मिटिङ्गमा जानुछ, एउटा चिज भनेका बेलामा कहिल्यै भेटिँदैन ।’

आन्टीले तरकारी काट्दै भान्साबाटै कराइन् ‘त्यहीँ त होलान् नि तपाईका कपडा । यहाँ भान्सामा मैले लगाएर बसिरा’छु र ? दराजमा, ह्यांगरमा, घर्रामा भएका आफ्ना कपडा खोज्न नसक्नेले के ठूल्ठूला भाषण गर्नु ? के नारा लगाउनु ? पहिले कमसेकम आफ्नो काम त आफै गर्नसक्नु पर्‍यो नि ।’

आन्टी रोकिइनन्- ‘सबै नेता मेरै बुढाजस्ता होलान् कि आफ्ना जुत्ता मोजा, सर्ट पाइन्ट आफै खोजेर लगाउँदा हुन् ? महिला पनि नेता बनेर हिँडेका छन्, उनीहरु पनि मेरै बुढाजस्ता होस नपाउने खालका हुन्छन् कि आफ्ना लुगा आफै खोजेर लगाउँदा हुन् ? कि महिला नेतृहरु पनि ए बुढा मेरो सारी खै ? ब्लाउज कता पर्‍यो ? पेटीकोट कहाँ छ ? मेरो हिलवाला चप्पल कता छ ? मेरो काइँयो कता छ , कपाल बाध्ने काँटो कहाँ छ ? हृयान्डब्याग कता छ ? गाजल कता छ भनेर भनेर कराउँदा हुन् ?’

आन्टीको कुराले अंकल बिलखबन्दमा परेजस्तै भए । तैपनि उनले जवाफ फर्काए- ‘यो आईमाईको जात, हातभन्दा मुखै बढी चल्ने …. भनेको सामान खुरुक्क खोजिदेको भए यी नानाभाँती सुन्नु पर्दैनथ्यो नि । एउटा काम गर्दा सत्रथरी भाषण सुन्नुपर्छ ।’

आन्टी भान्साबाट रीसले चुर भएर अंकलको लुगा खोजिदिन आइपुगिन् । ‘यी यहीँ छ त … यो के हो ? आफ्नो लुगा पनि चिन्न सकिँदैन ? अब कुन दिनदेखि यी लुगा खोज्ने मात्र होइन लगाइदिनुपनि पर्ने हो । खै चिया खाएको ? कप त जस्ताको तस्तै छ त, चिया सेलाएन ?’

भुसुक्कै बिर्सेंछु लुगाको तनाबले चिया खानै भुलेछु… चिसो भइसकेछ, खान्न भै गो ।

आन्टीले बीट मार्दै भनिन्- एउटा जाबो सामान्य काम गर्दा खाने कामै बिर्सनेले देशका यत्रा जनतासमक्ष गरेका बाचा कसम कसरी सम्झनुहुन्छ होला ? यसो हामी महिलालाई सम्झनोस् त …. तपाईजस्तै गर्नेभए दिनमा कतिवटा काम बिर्सन्थ्यौँ होला ? महिलाको न काम देखिन्छ, न कुनै बेला आरामले बस्न पाइन्छ त्यैपनि कुनै मूल्य र महत्व छैन ।

उपप्रमुख महिला, प्रमुखजति पुरुष 

अहिले स्थानीय निर्वाचनमा ४० प्रतिशत महिला उम्मेदवार उठाउनै पर्ने नियम छ । यसमा पनि प्रमुख उठाउने त कथा मात्रै नहोला भन्न सकिँदैन । उपप्रमुख महिला प्रमुखजति पुरुष… ।

अंकललाई पंक्तिकारले प्रश्न सोध्यो- ‘अंकल, तपाई घरको काम गरेर आन्टीलाई वडा अध्यक्षमा उठाउन मिल्दैन ? तपाईले गर्ने भाषण आन्टीलाई पनि गर्न आउँछ, तपाईभन्दा आन्टी धेरै व्यवहारिक हुनुहुन्छ । आन्टीले अहिलेसम्म भनेको कुरा गर्नुभएकै छ । घरको सारा काम सकाएर सामाजिक काम पनि गरिरहनुभएको छ ।

सविधानले नै ४० प्रतिशत महिला उम्मेदवारको ग्यारेन्टी गरिसकेपछि तपाईले आन्टीलाई सहयोग, समर्थन र प्रेरणा दिने कि अब पनि जुत्ता, मोजा कता छ ल्याऊ भन्दै आफैंमात्र अघि सर्ने ?

नेता अंकलले केही जवाफ दिएनन । आन्टीले घरीघरी सातै लिन्थिन् अकंलको । यस्तै नेता भएर देश बिग्रेको हो आफ्नो घर सपार्न नसक्ने, आफु बस्ने कोठा मिलाउन नसक्ने, आफूलाई खान मन लाग्यो भने खानेकुरा पकाएर खान नसक्ने, आफ्ना मैला लुगा धुन नसक्ने, श्रीमतीले धोइदिएका लुगा सुकाएका ठाऊँबाट भित्रसम्म उठाएर ल्याउन नसक्ने, उठाएर ल्याएका लुगा पट्याएर राख्न नसक्ने, भान्सामा के छ, के छैन आँखा लगाउन नसक्ने, ट्वाइलेटमा ब्रस लगाएर सफा गर्न नसक्ने, घरको भुइँ पुछ्न नसक्ने । अनि गफ चाँहि दिउसै औँसीको रात पार्ने गरेपछि कसले पत्याउँछ ?

आफ्नो श्रीमान भएर मात्रै भनेको होइन, एकाध बाहेक अधिकांश लोग्नेमान्छे यस्तै हुन् नानी । आन्टीले पंक्तिकारसँग भनिन् ।

आन्टीले साह्रै भन्नुभयो अंकल, आज तपाईले पकाएको चिया खाऔँ न त । अंकलको हातको कमाल पनि हेरौं । पंक्तिकारको आग्रहलाई नर्कान सकेनन् । ल भनिहाल्यौ, म पकाएरै खुवाउँछु, पकाउनै नसक्ने त होइन नि । सुरुका दिनमा काठमाण्डौमा डेरा गरेर बसेकै हो, आफ्नो सारा काम आफैंले गरेकै हो । बिहेपछि बानी बिग्रेको त हो नि ।
अकंल भान्सामा छिरे । एकैछिनपछि फेरि आन्टीलाई बोलाइहाले । ए शर्मिला खै पानी बसाउने दिउरे ? कहाँ छ चिनी ? चियापत्ती खै ? चियामा हाल्ने मसला खै ? दिउरे समाउने हन्बेर्नो कहाँ छ ? कप कहाँ छन् ? चिया छान्ने छनौटो कता छ ? एकपछि अर्को सोधेर हैरान पारेपछि आन्टीको पारो तात्यो । सबै कुरा ठिक्क पारेपछि ग्यास बालिदिने काम त बाँकी रह्यो, त्यो पनि कताबाट खोल्ने हो भन्नोस् न । त्यति थाहा पाएपछि त आफैं पाक्छ, पकाउनै पर्दैन । कहिलेकाँही भान्सामा छिरे पो थाहा हुन्छ ।

भान्सामा छिर्दा तपाईहरुको जातै जाला जस्तो हुन्छ । भाषणमा पो ठूलाठूला गफ गर्न आउँछ त । नेता बन्न सजिलो छ, देश चलाउँछु भन्न सजिलो छ, अर्काले लेखिदिएको भाषण पढेजस्तो, अर्काले ठिक्क पारेेको कागजातमा हस्ताक्षर धस्काएजस्तो कहाँ हुन्छ र ? आफुले गर्नुपर्‍यो भने जाबो चिया समेत पकाउन आउँदैन ।

पहिले आफ्नो घर सपार्न सक्नुपर्छ, आफ्नो काम आफैले गर्न सक्नुपर्छ अनि मात्र गफ गर्न भाषण गर्न सुहाउँछ र पत्यार पनि लाग्छ । महिलाहरु घरको काम सकाएर बचेको समयमा राजनीति गर्छन् । पुरुषले जस्तो चिया पसलमा, पत्रिका पसलमा, खाना खाने ठाऊँमा, जहीँतहीँ राजनीति गर्न भ्याउँदैनन्, सक्दैनन् वा पाउँदैनन् । अनि प्रमुखको दाबेदार बन्न खोजे पनि उनीहरुलाइ खुम्च्याइन्छ । गर्न सक्दैनौ भनेर दोश्रो हैसियतको मानिन्छ ।

अहिले कामकाजी महिलाले आफ्नो घरको नियमित काम सकेर, छोराछोरीलाई स्कुल पुर्‍याएर, कार्यालयको काममा समयमै उपस्थित भएर आफ्नो क्षमता देखाइरहेका छन् । कतिपय कार्यालयका उच्च पदमा महिलाहरु नै पुगेका छन् । पुरुषसँग प्रतिस्पर्धी बनेर क्षमता हाँकिरहेका छन् ।

अहिले राष्ट्रपति महिला, सभामुख महिला, प्रधानन्यायाधीश महिला, उद्योग वाणिज्य महासंघको अध्यक्ष महिला, नेपाल टेलिकमको महाप्रबन्धक महिला भइसकेका अवस्थामा २० वर्षपछि हुन लागिरहेको स्थानीय निर्वाचनमा महिला मेयर, वडा अध्यक्ष हुन किन नसक्ने ?

जित्न सक्दैनन् भन्ने पुरुषको आरोप छ, तपाईहरु घरको काममा सघाउनुहोस् र खुलेर आफ्नी घरकी महिला पात्रको पक्षमा जनमत बटुल्नुहोस् त । पुरुषलाई भन्दा महिलालाई पत्याउँछन् मतदाताले ।

बाह्र वर्षमा खोला पनि फर्कन्छ भन्छन् । तर, हाम्रो मानसिकता विसं वर्षमा पनि र्फकन सकेन प्रमुख पुरुष नै बन्नुपर्ने, वडाअध्यक्ष पुरुष नै बन्नुपर्ने यो परिपाटी यसपटक बदलौं न हुँदैन ?

चिया पकाउनसमेत महिलाको सहयोग चाहिन्छ भने देश चलाउन महिलाको साथ सहयोग चाहिँदैन ? एकदिन मात्रै यी अंकलजस्ता आम अंकलहरुलाई आग्रह छ, कृपया एकदिन मात्र घरधन्दा गर्नुहोस् न कम्तिमा महिलाको कामको मर्म थाहा हुन्थ्यो कि ?

२०७४ वैशाख ८ गते १६:५६ मा प्रकाशित (२०७४ वैशाख ९ गते १७:०७मा अद्यावधिक गरिएको)

लेखक परिचय

यमुना अर्याल

सामाजिक बिषयमा कलम चलाउने यमुना अर्याल अनलाइनखबरकी स्तम्भकार हुन् ।
लेखकबाट थप
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
७ प्रतिकृयाहरू प्राप्त
  • अवशेष लेख्नुहुन्छ    |   २०७४ वैशाख ८ गते १८:०२

    वास्तविकता भन्दा सारै गलत टिप्पणी । यस्तो एक पक्षीय लेखले समाजमा सकारात्मक प्रभाव पार्दैन । यमुनाजी लाेकप्रियताका लागि भन्दा पनि सकारात्मक परिवर्तनका लागि लेख्नुहाेस लेख । एक महिला हुँदैमा पुरूषकाे खाेइराे खन्नै पर्ने हुन्छ र? अाम पुरूष विनाको समाजकाे कल्पना गर्नुहाेस, पुरूषले निर्वाह गर्नुपर्ने जिम्मेवारी र तनाव पनि साेच्नुस । तपाईं महिलाको नाताले धेरै लेख लेख्नु भाे एकपटक पुरूषकाे स्थानमा बसेर लेख्ने हिम्मत गर्नुहाेस । घर सम्हाल्ने देश सम्हाल्ने सबैकाे साझा जिम्मेवारी हाे । समाज धेरै अघि बढीसकेकाे छ, महिला धेरै अघि बढिसकेका छन्, पुरूषले पनि महिलाका मनाेभावनालाई कदर गरेका छन्, उचित जिम्मेवारी दिन थालेका छन् । तर तपाईंको लेख अलि पुरातन भयाे । महिलालाई अघि बढ्न नदिनुमा महिलाको पनि उस्तै भुमिका रहेकाे छ । याे पनि याद गर्नुस ।

    26
    11
    Share

  • Avas Upadhyay लेख्नुहुन्छ    |   २०७४ वैशाख १० गते ९:३२

    Yamuna Madam, tapai married ki unmarried? Tapai ka ghar ma daju, bhai, chhora chhainan? Yadi unmarried hunuhunchha vane auta senior unmarried lady sanga bihe garnus. Yasai ma tapai ko kalyan chha.

    3
    4
    Share

  • विष्णु अर्याल लेख्नुहुन्छ    |   २०७४ वैशाख १० गते १०:५५

    एकदम समसामयिक लेख । वास्तविकतालार्इ कथावस्तुमा ढालेर लेखिएकाे याे लेखले स्थानीय तहकाे निर्वाचन अगाडी देखिएका कमजाेरीहरु सुधार्न भनेकाे छ । महिलालाइ लेखमा महत्व दिइए पनी समग्रमा पछाडी परेका हरेक वर्ग र समुदायलार्इ सँगै अगाडी लिएर जान जाेड दिएकाे वुझिन्छ । अर्काे तर्फ अाफ्नाे व्यक्तिगत जीवन नै अस्तव्यस्त हुँदा त्यसलाइ व्यवस्थापन गर्न नसक्नेहरुले देशकाे समग्र व्यवस्थापन गर्दै जनताकाे नेतृत्व गर्छु भन्नु फगत गफ सिवाय केही हुन सक्दैन भन्ने सत्य विषयकाे उठान एकदम सान्दर्भिक छ । शुभकामना छ लेखिका दिदिलाइ ।

    3
    4
    Share

  • jr लेख्नुहुन्छ    |   २०७४ वैशाख १० गते १२:५२

    lekhma lekhe jastai xa bastabikta.maile dekheko pariwar,samaj yestai nai xa. ghar sewa garnele aphno xora xori shreemati ko sa sana kuro gharko khayl grxa pariwar nai sabthok ho bhanxa usle samaj sewa gardaina,samaj sewa garnele pariwar chaldai grxa,pakauxan,khanxan,xora xori pani paddaixan badaixan bhaner dhukka hunxa usko lagi ghar pariwar bhanda samaj thulo hunxa usle ghar sewa gardaina.tara hamilai ghar ra samaj dubaiko bikas garne bektiko jarurat hunxa.yesto bhawana mahila ra purush dubaiko hakma hunuparxa.

    3
    2
    Share

  • YUBRAJ BHANDARI लेख्नुहुन्छ    |   २०७४ वैशाख १० गते १५:५२

    Yamuna jee ! I used to read your recent few Articles. interestingly, your Articles are inspirational to all readers as well as to me. All the previous Articles were awesome but this Article seems that the qualitative way of expression is not so good. Your Article is not practical in the present scenario. You can’t generalize the individual person’s attitude.

    Hope you will take it positively and waiting to see the next Article in which you will concentrate on real scenario of society.

    1
    3
    Share

  • dhurba लेख्नुहुन्छ    |   २०७४ वैशाख १० गते १६:१५

    Yamuna mamko sabai articles imginative, traditional ra imbalanced hunxan, bistarai fact based hudai aaune xa vanne lagx.

    3
    1
    Share

  • राज कुमार लेख्नुहुन्छ    |   २०७४ वैशाख १० गते १८:२४

    यमुना जी,
    तपाइले भन्नु भएको जस्तो नेताको कम्तिमा २ जना काम गर्ने मान्छे हुन्छ, तपाई सिधै “यो मेरो पिडा हो” भन्नुस केहि मन पर्छ, अनि, तपाइले भन्नु भएको जस्तो “मेरो कोट खै ? पाइन्ट कहाँ छ ? स्यान्डो खै ? मोेजा कता छन् ? पाइन्ट, सर्ट कता छ ? ढाकाटोपी कता छ ? लुगामा आइरन गर्या हो कि होइन ? चश्मा कता छ ? मैले बोक्ने गरेकेा पाइलट पेन कहाँ छ ?” यस्ता महिला र तपाई जस्तालाई उप प्रमुख पाउनु पनि गर्ब होइन र?

    4
    1
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this