Comments Add Comment

पोखरामा एमालेले मतदानबाट छान्यो तीन उम्मेदवार, राजिव पहारी ‘रिङआउट’

९ बैशाख, पोखरा । नेकपा एमालेले मतदान गरेर पोखरा लेखनाथ महानगरपालिकाको मेयर तथा उपमेयरका उम्मेदवार सिफारिस गरेको छ । मेयरका सम्भावित उम्मेदवार मानिएका युवा संघ नेपालका केन्द्रीय अध्यक्ष राजिव पहारी सिफारिसमै पर्न सकेनन् भने नेपाल समूह निल भएको छ ।

मेयरमा र उपमेयरको उम्मेदवारका लागि ७/७ जना आकांक्षी भएपछि केन्द्रमा नाम सिफारिस गर्न मतदान गरिएको थियो ।

राती अबेर सम्पन्न निर्वाचनबाट वैकल्पिक केन्द्रीय सदस्य तथा कास्कीका निवर्तमान अध्यक्ष मानबहादुर जिसी र कास्की अध्यक्ष तथा पोखरा लेखनाथ महानगर कमिटीका संयोजक कृष्ण थापाको छनोट भएको छ ।

पोखरा लेखनाथ महानगरका ४ सय ५७ प्रतिनिधिमध्ये ३ सय ९९ मतदान गरेका थिए, जसमा जिसीले २ सय ४६ र थापा २ सय २१ म्ात प्राप्त गरे ।

मित्रकुमारी गुरुङ (सुबेदी) को नाम भने सर्बसम्मत छनोट भएको छ । ३ उम्मेदवार सिफारिस गर्दा एक अनिवार्य महिला पठाउनुपर्ने नियम अनुसार गुरुङको नाममा सर्वसम्मत सहमति जुटेको छ ।

मेयरको उम्मेदवारका लागि सिफारिसमा भएका तीनैजना ओली समूहका हुन् । मेयरका सबैभन्दा बढी सम्भावना भएका नेपाल पक्षका श्रीनाथ बराल भने सिफारिसमै पर्न असफल भए । उनले १ सय ११ मत प्राप्त गरे ।

राजिव पहारी

ओली पक्षकै बलिया दाबेदार युवा संघ नेपालका केन्द्रीय अध्यक्ष राजिव पहारी पनि सिफारिसमा पर्न सकेनन् । उनले केवल ८५ मत प्राप्त गरे ।

मेयरका अन्य आकांक्षी पुष्पज्योति ढुङ्गानाले २०, नारायणप्रसाद बास्तोलाले १५ र मदनकाजी श्रेष्ठले १३ मत प्राप्त गरे । यसअघी मेयरमा दाबी गर्दै आएका धनराज आचार्य र होम नेपालीले भने उम्मेद्वारी हालेपनि पछि उम्मेद्वारी फिर्ता लिएका थिए ।

उपमेयरमा प्रभा कोइराला, मञ्जु गुरुङ र देबका पहारी सिफारिस भएका छन् । आकांक्षी धेरै भएपछि गरिएको मतदानमा कोइराला २ सय ७५, गुरुङ २ सय ११ र पहारी १ सय ५६ मत प्राप्त गर्दै छनौट भएका हुन् ।

उपमेयरका अन्य आकांक्षी मीना गुरुङ पोखरा ११ ले १ सय ३४, उमा परियार १ सय १९, मिना गुरुङ -लामाचौर) १ सय ३ र छलीकुमारी सुबेदीले ६२ मत ल्याएर छनौट हुन सकेनन् ।

गंगा कुँवरले भने उम्मेदवारी दिएर पनि पछि फिर्ता गरेकी थिइन् । सिफारिसमा परेका मध्ये कोइराला र गुरुङ ओली समूहका हुन् भने पहारी वामदेव समूहकी हुन् । मेयर तथा उपमेयर दुबैमा माधव नेपाल समूह भने निल भएको छ । नेपाल समूह पहिलेदेखि नै कास्कीमा कमजोर मानिन्छ ।

छनौट भएकाको नाम केन्द्रमा सिफारिस भएपछि केन्द्रले छनौट भएका मध्ये कुनै एक/एक जनालाई पोखरा लेखनाथ महानगरपालिकाको मेयर तथा उपमेयरको उम्मेद्वार तोकेर पठाउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment