Comments Add Comment

१० हजार मत कटाएपछि निरुपमाले भनिन् – काठमाडौंले मधेसलाई स्वीकार्‍यो

'जातीय र क्षेत्रीय कुरा नगरौं, काठमाडौंमा सबै भूगोलकालाई स्वागत छ'

१३ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको उपमेयरमा १० हजार मत कटाएर तेस्रो स्थान सुरक्षित गर्दै गर्दा साझा पार्टीकी उम्मेदवार निरुपमा यादवले काठमाडौंले मधेसलाई विभेद गर्दैन भन्ने ब्यालेटमार्फत पुष्टि भएको प्रतिक्रिया दिएकी छन् ।

महानगरपालिकाको १ लाख ८६ हजार मत गनिसक्दा यादवले शनिबार बिहान १० हजार ९४५ मत पुर्याएकी छन् । १० हजार मत कटेपछि अनलाइनखबरसँग यादवले भनिन्– यो सम्मानजनक मत हो । अब अर्कोपटकको लागि आधार बनेको छ ।

काठमाडौंका मतदाताले मधेसलाई सम्मानमात्र गरेका छैनन्, मधेसको नाममा राजनीति गर्नेलाई नयाँ सन्देश पनि दिएका छन् ।’

आफ्नो उम्मेदवारी र चुनाव चिह्नसमेत अन्तिम क्षणमा प्राप्त हुँदा आम मतदातासम्म पुग्न नपाएको उनले बताइन् ।

उनले सेलरोटी चुनाव चिह्न पाएकी थिइन् । अत्यन्त छोटो समय र प्रचार प्रसार बिना आफूले पाएको मतबाट सन्तुष्ट रहेको यादवले बताइन् ।

१० हजार मत कटेपछि उनले भनिन्, ‘काठमाडौंले बिल्कुल नयाँ पार्टी र मधेसको अनुहारलाई तेस्रो स्थान दिएर हामीलाई स्वीकारेको छ । अब क्षेत्रीयताको र जातीयताको कुरा नगरौं भन्ने प्रष्ट सन्देश जनताले दिएका छन् । जुनसुकै बहानामा पनि क्षेत्रीय,जातीय,सामुदायिक भावनामा जानु हुँदैन भन्ने मत प्रकट भएको छ ।’
काठमाडौंको तारेकेश्वर नगरपालिकामा मधेसी महिला एमालेबाट वडा सदस्य निर्वाचित भएको उदाहरण दिँदै यादवले भनिन्–काठमाडौंले मधेस र मधेसीलाई स्वीकार्दैन भन्नेहरुलाई मैले पाएको मतले काठमाडौं मधेसीलाई माया गर्छ र स्वीकार्न तयार छ भन्ने सन्देश दिएको छ ।

यादवले काठमाडौंमा जनुसुकै भूगोलको जनतालाई पनि स्वागत छ भन्ने मतदाताले मतपत्रमार्फत व्यक्त गरेको भावनालाई सबैले सम्मान गर्नुपर्ने बताइन् । उनले अझै विभिन्न बाहनामा चुनावबाट भाग्न खोज्नेहरुले जनताको भावना बुझ्नुपर्ने बताइन् ।

यादवले ललितपुर र काठमाडौंमा साझा पार्टीले पाएको मतले अब परिर्वतनको प्रवाह नरोकिने संकेत गरेको समेत बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment