Comments Add Comment

कोरोना संक्रमितलाई चिकित्सकहरुद्वारा फोन परामर्श सेवा

२८ वैशाख, वीरगञ्ज । वीरगञ्जका डाक्टर डा.राकेश कुमार झा, कन्सल्टेन्ट फिजिसियन पेट रोग विशेषज्ञ र इन्डोस्कोपिष्ट हुन् । ५ दिनअघि सामाजिक सञ्जालमा उनले एउटा पोष्ट गरे ।

पोष्टमा निषेधाज्ञाको समयमा पेट, लिभर र ग्यास्टिक सम्बन्धी समस्या भएकालाई फोनबाटै स्वास्थ्य सल्लाह दिने उद्‌घोष थियो । मोबाईल नम्बर ९८४१२८२६३४ मा बिहान ११ बजे देखि दिउँसो २ बजे सम्म र बेलुका ४ बजे देखि राती ८ बजे सम्म फोन गर्न सकिने उल्लेख थियो ।

ग्यास्ट्रो र लिभर क्लिनिक तथा इन्डोस्कोपी सेन्टर वीरगञ्जका सञ्चालक डाक्टर झा निषेधाज्ञापछि क्लिनिक गएका छैनन् । तर घरबाटै कोभिड र ननकोभिड विरामीको सेवा गर्नमा व्यस्त छन् । उनले गत वर्ष पनि महामारीमा यसैगरि सेवा दिएका थिए ।

नेपालको पूर्वदेखि पश्चिमसम्म र कतार, मलेसिया, अमेरिका लगायत विदेशबाट समेत फोन म्यासेज आईरहेको उनी बताउँछन् । ‘ देश विदेशबाट फोन म्यासेज आईरहेको छ । पहिलो दिन १ सय वटा जति नै कल आएको थियो, अहिले दैनिक ३० वटा जति कल आउँछ ।’ उनले भने ।

नेपालकै पश्चिमतिरको कुनै एउटा दुर्गम गाउँबाट एक जना कोरोना संक्रमितले फोन गरे । एन्टीजीन पोजेटिभ आएको रहेछ । पीसीआर गराउने ठाउँ रहेनछ । डाक्टर झालाई फोन गरे । उनले परामर्श दिए अनुसार उपचार गर्दा स्वास्थ्यमा सुधार भइरहेको छ । उनले रेकर्ड राखेका तयार पारिसकेका छैनन्। परामर्शबाट सुधार भएका विरामी थुप्रै छन् । काठमाडौंमा होम आइसोलेसन बसेकाहरुले पनि सोधिरहेका छन् ।

कोरोनाको औषधि नभएको र अन्य औषधिले भन्दा काउन्सिलिङले राम्रो काम गरिरहेको उनको अनुभव छ । ‘मानिसलाई कोरोना लाग्ने वित्तिकै मर्छु भन्ने डर हुने रहेछ । कोभिडमा पेटके समस्या पनि देखिएको छ । कोही विदेशमा छन्, परिवार नेपालमा छन् । चिन्ता हुनु स्वभाविक हो ।’ उनले भने ‘उनीहरुलाई गलत मानिसहरुबाट मिस गाईड हुनबाट जोगाईरहेका छौं, समुदायलाई फाइदा होस भनेर नै सेवा सुरू गरेका हुँ ।’

महामारीको समयमा समेत कमाउने उद्देश्यले ज्वरो आएका विरामीलाई टाईफाईड भन्दै एन्टीबायोटिक सुई दिने चलन बढेको भन्दै उनले त्यसो गर्नु गलत भएको टिप्पणी गरे ।

नेपाल चिकित्सक संघ नारायणी अञ्चल शाखा वीरगञ्जले बैशाख २५ गते २४ जना चिकित्सकको नम्बर सार्वजनिक गर्‍यो । विभिन्न ठाउँबाट परामर्शका लागि फोन आइरेहेको चिकित्सकहरु बताउँछन् । सामाजिक उत्तरदायित्व बहन गर्दै सर्वसाधरणको जीवन रक्षाका लागि फोनबाटै परामर्श दिन थालिएको संघका शाखा सचिव डाक्टर उदय नारायण सिंह बताउँछन् ।

बिहान १० बजेदेखि बेलुका १० बजेसम्म फोन गरेर संघका आजिवन सदस्यहरुसँग आफ्नो समस्या अनुसार परामर्श गर्न भनिएको छ । तर मानिसहरुले आफ्नो अनुकुलमा फोन गरिरहेका छन् ।

मानसिक रोग विशेषज्ञ डाक्टर भरत गोइत सोमबार बिहान मात्रै १० जनाको फोन आइसकेको सुनाउँछन् । ‘कोभिडले गर्दा मानिसहरु बढी डराएका छन्, के गर्ने होला कसरी समस्या समाधान गर्ने डाक्टर साहेब भन्छन् ।’ उनले भने ‘ आत्तिन पर्दैन सबै ठिक हुन्छ भनेर सम्झाउने गरेको छु ।’

चिकित्सकहरुले व्यक्तिगत र संस्थागत मात्रै होईन, विभिन्न सामाजिक संघ संस्थाले समेत निशुल्क परामर्शका लागि प्रयासहरु गरेका छन् । सानो पाइलाले टेलिमेडिसिन परियोजना सुरु गरेर फोनबाटै परामर्श दिने सेवा दिन थालेको छ । ‘स्वास्थ्यमा कुनै समस्या भए, फोन गरौँ’ भन्ने नाराका साथ सेवाको थालनी गरिएको हो । त्यसका लागि फोन गर्दा पैसा नलाग्ने नम्बरहरु सानो पाईलाले सार्वजनिक गरेको छ । परामर्श दिन एक जना एमबिबिएस चिकित्सक र दुई जना जनस्वास्थ्यकर्मी खटाईएको संस्थाका सञ्चालन प्रमुख जय साहले जानकारी दिए ।

कोरोना महामारीले गर्दा अस्पतालमा उपचार पाउन कठिनाइ भइरहेकोले सर्वसाधारणलाई सहजता प्रदान गर्न अभियान सुरू गरिएको सानो पाईलाले जनाएको छ । अस्पतालको पहुँचबाट टाढा रहेकाहरुले पनि यसबाट लाभ लिन सक्नेछन् । ज्वरो आएका, टाउको दुखेका जस्ता समस्याका लागि मानिसहरुले फोन गरिरहेका छन् ।

वीरगञ्जको आदर्शनगर स्थित ग्रिन सिटि सामुदायिक सेवा केन्द्रले फोनबाट मात्रै नभई प्रत्यक्ष परामर्श दिने सुविधा मिलाएको छ । तर उसको क्षेत्र भने सिमिति छ । केन्द्रको ५ सय मिटर वरपर कसैलाई स्वास्थ्य समस्या परेको खबर आए सेवा दिनेगरि तयारी थालिएको केन्द्रका अध्यक्ष जय प्रकाश खेतानले जानकारी दिए ।

‘ विरामी परेको खबर आएपछि कम्पाउन्डर चेकजाँच गर्न घरमै पुग्नुहुन्छ । चिकित्सकसँग फोन मार्फत सहकार्य गर्नुहुन्छ ।’ उनले भने ‘ आवश्यक पर्ने देखियो भने चिकित्सक स्वयं बिरामी भएकै ठाउँमा पुग्नुहुन्छ ।’ सुरु गरिएको सामुदायिक सेवा केन्द्रले जनाएको छ । ग्रीन सिटीले निःशुल्क अक्सिजन सेवा, एम्बुलेन्स सेवा, अत्यावश्यक औषधि सेवा प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment