Comments Add Comment

बागलुङ बन्द फिर्ता

२६ जेठ, बागलुङ । बिहीबारदेखि बन्द रहेको बागलुङ बजार शुक्रबार दिउँसोबाट खुलेको छ । बेपत्ता युवकको खोजीको माग गर्दै पीडित पक्षले बिहीबारदेखि बागलुङ बजार बन्द गराएको थियो ।

अवैध लागुऔषध बोकेको आरोपमा प्रहरीले पक्राउ गर्न खोज्दा भागेर बेपत्ता भएका बागलुङ नगरपालिका-३ का १७ वर्षीय सुनिल पुन नभेटिएपछि परिवार र आफन्तजनले आक्रोशित भएर बजार बन्द गराएका थिए ।

मङ्गलबार साँझ पर्वत-बागलुङको सीमास्थल मालढुङ्गाबाट प्रहरीले नियन्त्रणमा लिन खोज्दा कालीगण्डकी नदीतिर भागेका पुन अझै बेपत्ता छन् ।

सत्यतथ्य छानबिन, बेपत्ताको खोजी र दोषीमाथि कारबाहीको लागि प्रशासनलाई जिम्मेवार हुन माग गर्दै बन्द फिर्ता लिइएको सङ्घर्ष समितिले जनाएको छ ।

समयमै माग पूरा नभए पुनः आन्दोलनमा जाने समितिका सदस्य नरेश कँडेलले बताए ।

बागलुङदेखि कुश्मा जाँदै गरेको ध १ ज ४१४ नंको ट्याक्सी चेकजाँच गर्दा लागुऔषधसहित भेटिएका पुनलाई पक्राउ गर्न खोज्दा उनी भागेको प्रहरीले जनाएको छ । पुनसँगै सवार अन्य दुई युवालाई भने प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।

पक्राउ पर्नेमा बानपा-१ का २८ वर्षीय दीपेन्द्र कार्की र ट्याक्सी चालक मकवानपुरका २४ वर्षीय भीमसेन लामा रहेका छन् । उनीहरुको साथबाट लागुऔषध डाइजेपाम तीन, नुर्फिन तीस, फेनार्गन चार एम्पुल, नाइट्रोजेपाम तीन थान र चार थान सुई प्रहरीले बरामद गरेको थियो ।

भागेर नदी तर्ने क्रममा बीचमै बेपत्ता भएका भन्ने स्थानीय बासिन्दाको सूचनाका आधारमा पुनको खोजीमा प्रहरी जुटेको छ । पुन नदी किनारतिर दौडेर भागेको तर नदीमै हेलिएको बारेमा केही थाहा हुन नसकेको प्रहरीले जनाएको छ ।

नदीले बगाएको आशङ्कामा पोखरादेखि आएको सशस्त्र प्रहरीको गोताखोर टोलीले कालीगण्डकी नदीमा खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक अनिलकुमार खड्काले बताए । घटनाको बारेमा थप छानबिन र अनुसन्धान भइरहेको पनि उनले बताए ।

बिहीबार पनि बागलुङबाटै लागुऔषधसहित भारतीय युवक दीपेन्द्र हरिजन पक्राउ परेका छन् । दुई दिनको अन्तरालमा पक्राउ परेका युवा अवैध लागुऔषधको ओसारपसार र बेचबिखनमा सक्रिय रहेको पाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment