Comments Add Comment

तुलसीपुर उपमहानगरका तीन उम्मेदवार, को कस्ता ?

६ असार, दाङ । पाँच नम्बर प्रदेशको सम्भावित राजधानी दाङ जिल्लामा उम्मेदवारी दर्ता गर्ने क्रम सकिएसँगै चुनाव प्रचार-प्रसारले तिव्रता पाएको छ । राजनीतिक दलहरु चुनावी परिणाम आफ्नो पक्षमा पार्न सक्रिय छन् । दाङमा दुईवटा उपमहानगरपालिका छन्ः घोराही र तुलसीपुर ।

हामीले यहाँ तुलसीपुर उपमहानगरपालिकामा प्रमुख तीन दलका तर्फबाट मेयरका दाबेदारहरुको परिचय दिने प्रयास गरेका छौंः

तुलसीपुर नगरपालिकाको कुल जनसंख्या १ लाख ४१ हजार ५ सय २८ रहेको छ । १९ वडा रहेको यो उपमहानगरपालिका साबिकको तुलसीपुर नगरपालिकामा पवननगर, मानपुर, बिजौरी, फूलबारी र डुरुवा गाविस गाभिएर बनेको हो ।

यो उपमहानगरमा असार १४ गते हुने निर्वाचनमा कांग्रेस, एमाले र माओवादीवीच प्रतिस्पर्धा हुने देखिएको छ ।

दाङ जिल्लालाई कांग्रेसले गढ मान्दै आएको हुनाले उसले प्रतिष्ठा जोगाउने चुनौती छ भने पछिल्लो समयमा एमालेले दाङमा आफ्नो जीत हात पार्ने रणनीति बनाएको छ ।

त्यस्तै माओवादी पनि ०६४ सालको संविधान सभाका बेलामा जस्तै आफ्नो बर्चस्व फर्काउने रणनीतिमा लागेको छ ।

गेहेन्द्र गिरीः कांग्रेस

दाङका पाका नेता मध्येका एक गेहेन्द्र गिरी तुलसीपुर उपमहानगरपालिकाको मेयरमा कांग्रेसबाट उम्मेदवार बनेका छन् । उनको जन्म २००८ सालमा घोराहीको सेवार गाउँमा भएको थियो । सानैदेखि राजनीतिक परिवारमा हुर्किएकाले उनमा पनि कांग्रेसको छाप पर्‍यो ।

‘बाजे चित्र गिरी कांग्रेसका प्रजातन्त्र सेनानी हुनुहुन्थ्यो । माहिला बाजे बलभद्र गिरी र ठूलो बुवा पनि कांग्रेसको राजनीतिमा लागेकाले त्यसको प्रेरणाले म पनि राजनीतिमा लागें,’ गेहेन्द्र गिरीले भने । तर, बुवा देवीप्रसाद गिरी सरकारी जागिरे भएकाले राजनीतिमा लागेनन् ।

जिल्लामा सामान्य शिक्षा लिएपछि गेहेन्द्र गिरी थप अध्ययनका लागि भारतको बनारस गए र उतैबाट एसएलसी पास गरे । बनारसमा रहँदा पनि उनी राजनीतिबाट टाढा रहन सकेनन् र तरुण सहयोग समितिको सदस्य बने । उनले ०२३ सालमा कांग्रेसको पार्टी सदस्यता पाए । त्यसपछि प्रशासनको आँखाको तारो बनेका उनी भारतमा निर्वासित जीवन जिउन बाध्य भए । ०२९ सालसम्म निर्वासनमा रहेका उनी ०३० सालमा नेपाल फर्किए ।

त्यसलगत्तै प्रहरीले गेहेन्द्रलाई पक्राउ गर्‍यो । ‘हातहतियार, सार्वजनिक मुद्दा लगायतका सातवटा मुद्दा मलाई लगाइएको थियो । यातना पनि खुब दियो,’ हाल तुलसीपुर उपमहानगरपालिकाको कांग्रेस उम्मेदवार बनेका गेहेन्द्र गिरीले विगत सम्भिmए, ‘०३० देखि ०३४ सालसम्म मलाई कारागारमा थुनेर राखियो ।’

पञ्चायत विरुद्ध र बहुदलको पक्षमा आन्दोलन चर्किन थालेपछि गेहेन्द्र गिरी रिहा भए । ०३५/०३६ सालमा उनी नेविसंघको दाङ जिल्ला सभापति बने । ०४१ सालदेखि दाङ कांग्रेसको जिल्ला समिति सदस्य र ०४६ सालमा पार्टी महाधिवेशन र महासमिमित सदस्य बने उनी । ०४९ सालदेखि ०५८ सालसम्म उनी नेपाली कांग्रेसको जिल्ला कार्यसमिति सदस्य हुँदै दुई कार्यकालसम्म सभापति बने । ०५६ सालको आम निर्वाचनमा दाङ क्षेत्रनम्बर ४ बाट कांग्रेस नेता गिरी सांसदमा निर्वाचित भएका थिए ।

दोस्रो संविधानसभा चुनावमा पनि गिरी दाङ क्षेत्र नम्बर ५ बाट टिकटको दाबेदार थिए । तर, उनका भाइ दीपक गिरीले टिकट पाउन सफल भए र सिचाइँ मन्त्री पनि बने ।

गेहेन्द्र गिरी र दीपक गिरीबीच दाजु-भाइको नाता भए पनि सम्बन्ध सुमधुर नभएको जिल्लाका कांग्रेस नेताहरु बताउँछन् । यद्यपि स्थानीय चुनावमा दीपकले सघाउने आश्वासन दिएको गेहेन्द्र गिरी बताउँछन् ।
‘दीपक माहिला बाजेको नाति, म साहिँलाको नाति हुँ,’ दीपक गिरीसँगको सम्बन्धबारे खुलाउँदै गेहेन्द्र भन्छन्, ‘राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र हुँदैन भन्छन् । अहिलेको चुनावमा दीपकले सघाउँछु भनेको छ ।’

गेहेन्द्र गिरी हाल नेपाली कांग्रेस तुलसीपुर नगर सभापतिको जिम्मेवारीमा छन् । एक छोरा र तीन छोरीका अभिभावक गेहेन्द्र हाल तुलसीपुरमा श्रीमती उमाको साथमा बस्दै आएका छन् । छोरा-छोरीहरु सबै विदेशमा छन् ।

माओवादी जनयुद्धको बेला उनको घर नजिक माओवादीले बम पड्काएर टरिगाउँमा रहेको १७ बिघा जग्गा कब्जा गरेको घोषणा गरेका थिए । शान्तिप्रक्रियापछि माओवादीहरुले उनको जग्गा फिर्ता गरेका थिए ।

पटक-पटक चन्दा माग्न पनि आउने माओवादी कार्यकर्ताहरुसँगको रमाइलो वार्तालाप अनलाइनखबरलाई सुनाउन पनि भ्याए गेहेन्द्र गिरीले- ‘एकदिन म घरमै बसिरहेका बेला माओवादीहरु पार्टी चलाउन डेढ लाख रुपैयाँ चन्दा चाहियो भन्दै आए । मलाई पनि कांग्रेस पार्टी चलाउनु छ, तपाईंहरुले चन्दा दिनुस् भनें । त्यसपछि माओवादीहरु आफ्नो बाटो लागे ।’

घनश्याम पाण्डेः एमाले

दाङको अश्वारामा ०३० सालमा जन्मिएका घनश्याम पाण्डे हाल तुलसीपुर उपमहानगरपालिकाको एमाले उम्मेदवार छन् । स्कुले जीवनको कलिलै उमेरमा अनेरास्ववियु दाङको जिल्ला कमिटी सदस्य भएर जिम्मेवारी निर्वाह गरेका उनी ०४३ सालदेखि आन्दोलनको मोर्चामा सामेल रहे । ०४६ र ०४७ सालको जनआन्दोलनमा पनि सक्रिय सहभागी भएका उनी १६ वर्षकै उमेरमा नेकपा एमाले दाङको साधारण सदस्य बनेका थिए ।

दाङबाट प्रथम श्रेणीमा एसएलसी पास गरेपछि थप अध्ययनका लागि पाल्पा पुगे । विज्ञान पढ्नका लागि त्यतिवेला पाल्पा नै दंगालीहरुको गन्तव्य थियो । त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा आइएस्सी पढ्दै गर्दा प्रारम्भीक कमिटीको सदस्य हुँदै अध्यक्षसम्म बनेका पाण्डे बीएस्सी पढ्दै गर्दा स्ववियुको उपसभापति समेत बने ।

पाल्पाको पढाइको विश्रामसँगै पाण्डे दाङ फर्किए र स्कुल पढाउन थाले । दंगाली कम्युनिष्ट आन्दोलनका नेता श्रीमणी आचार्यले उनलाई पढाउने मेलो मिलाइदिए उरहरीको चन्द्रोदय स्कुलमा । पढाउने पेशामात्र मात्र मन नबसेपछि उनले दाङ भ्याली नामक निजी बोर्डिङ स्कुल स्थापना गरे ।

त्यतिबेला उनी २३ औं बसन्तमा थिए । अचानक तुलसीपुरको उपमेयरमा चुनाव लड्ने प्रस्ताव आयो । उनले प्रस्ताव स्वीकार गरे र नेपालकै सबैभन्दा कम उमेरमा उपमेयर जित्ने व्यक्तिका रुपमा इतिहास समेत लेखे ।

उनी उपमेयर भएकै बखत नेपालमा सामुदायिक वनको अवधारणा सरकारले भर्खरै ल्याएको थियो । उनले सामुदायिक वनको नीति बनाउन कार्यान्वयन गर्न भूमिका खेले । ०५८ मा सामुदायिक वन उपभोक्ता महासंघको केन्द्रीय सदस्य बनेका उनी ०६३ मा केन्द्रीय अध्यक्ष समेत बन्न सफल भए ।

सामुदायिक वनकै मुद्दालाई लिएर उनले संयुक्त राष्ट्रसंघको महासभामा विश्वका वनविज्ञहरुका सामु नेपालको सफलता सुनाएर दंगदास मात्रै पारेनन् उनीहरुलाई पनि सामुदायिक वनको अवधारणमा अगाडि बढ्न प्र्रेरणा समेत दिए ।

महासभामा सामुदायिक वनका बारेमा मन्तव्य दिने पाण्डे दक्षिण एसियाकै पहिलो व्यक्ति भनेर चनिन्छन् । सामुदायिक वनको अवधारणा बोकेर पाण्डे सातै महाद्वीपका ५० देशको भ्रमण गरेका छन् ।

विभिन्न संस्थाहरुको नेतृत्व तहमा रहेर काम गरेका पाण्डे अहिले तुलसीपुर उपमहानगरपालिकाको मेयरका रुपमा एमालेबाट चुनावी मैदानमा छन् । उनी २० वर्षदेखि जिल्लामा नबस्ने र विदेशमात्र घुम्ने भनेर प्रतिस्पर्धीहरुले आरोप लगाउने गर्दछन् । तर, उनले त्यस्ता आरोपको अनलाइनखबरमार्फत् यसरी जवाफ दिए, ‘चारो खोज्न उडेको चरालाई उड्यो भन्न मिल्छ र ? जहाँ गए पनि आउने त आफ्नै गुँडमै हो ।’

शेषुराम भण्डारीः माओवादी केन्द्र

२०१५ सालमा प्युठानको लुङमा जन्मिएका शेशुराम भण्डारी हाल तुलसीपुर उपमहानगरपालिकाको माओवादीबाट मेयरको उम्मेदवार छन् । उनी तुलसीप्ाुर उपमहानगरपालिका-४ वनहरीमा बसोबास गर्दै आएका छन् ।

०२९ सालमा माले निकट अनेरास्ववियुको सदस्य बनेर उनले राजनीतिक यात्रा सुरु गरेका थिए । उनी ०२६ सालमा माले निकट प्रवासी संघको सदस्य, ०४२ सालमा प्रजातान्त्रिक एकता मञ्चको सदस्य र ०४७ सालमा अखिल नेपाल किसान संघको जिल्ला सदस्य समेत बनेका थिए ।

२०४७ सालमा एमालेको दाङ ८ नम्बर इलाका कमिटी सदस्य र २०४८ सालमा एमालेको हलवार गाविस सेक्रेटरीको जिम्मेवारीमा रहेका उनी सोही वर्ष एमालेको क्षेत्रीय कार्यसमिति सदस्य चुनिएका थिए ।

२०५५ सालमा एमालेको जिल्ला कमिटी सदस्य बनेका शेशुराम २०५७ मा सचिवालय सदस्य, जिल्ला कार्यालय सचिव हुँदै क्षेत्रीय ईञ्चार्ज बनेका थिए ।

२०६३ बैशाखमा एमालेको तुलसीपुर क्षेत्रको प्रमुख जिम्मेवारी सम्हालेका उनी २०६४ मा एमालेबाट तत्कालीन माओवादीमा प्रवेश गरेका थिए । माओवादीबाट मोहन वैद्य अलग भएपछि उनी वैद्य माओवादीमा लागेका थिए । वैद्य माओवादीको एक घटक रामबहादुर थापा बादलसँगै उनी प्रचण्ड नेतृत्वको माओवादी केन्द्रमा फर्किए ।

अहिले उनी माओवादी केन्द्र महाधिवेशन आयोजक समितिका सदस्यको जिम्मेवारीमा छन् । साथै उनी अखिल नेपाल किसान महासंघ क्रान्तिकारी केन्द्रका केन्द्रीय उपाध्यक्ष पनि हुन् ।

२०/२५ वर्षदेखि निरन्तर सहकारी आन्दोनलमा सक्रिय रहेका शेशुराम हाल जिल्ला सहकारी संघ दाङका उपाध्यक्ष छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment