Comments Add Comment

गृहमन्त्रीले भने- तीन महिनाभित्र सबै गाउँपालिकामा टेलिफोन पुग्नुपर्छ, कुनै शर्त मानिने छैन

'टेलिफोन पुर्‍याउने बिधि पत्ता नलागे मलाई भन्नुहोला'

६ साउन, काठमाडौं । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले तीन महिनाभित्र हरेक गाउँपालिकामा टेलिफोन सेवा पुग्नुपर्ने बताएका छन् । टेलिफोन शान्ति सुरक्षासँग पनि सम्बन्धित भएको भन्दै उनले सेवा पुर्‍याउने काममा कुनै सर्त मान्न नसकिने बताए ।

‘यो राज्यको टेलिकम हो, तीन महिनाभित्र हरेक गाउँपालिकामा सञ्चार पुगेको हुनुपर्छ, त्यसमा कुनै शर्त मानिने छैन,’ शुक्रबार केन्द्रीय दैवी प्रकोप उद्धार समितिको बैठकमा बोल्दै मन्त्री शर्माले भने, ‘टेण्डर क्यान्सिल भयो, यस्तो किन्न सकिएन, उस्तो किन्न सकिएन भन्ने कुरा मान्य हुँदैन ।’

भरपर्दो सञ्चार सेवा भएमात्रै विपत्तीको सामना गर्न र शान्ति सुरक्षाको व्यवस्था मिलाउन सहज हुने भन्दै उनले भने, ‘यो काम तीन महिनाभित्र हुनुपर्छ त्यसको बिधि पत्ता नलागे मलाई भन्नुहोला, विधि म दिन्छु ।’

उनले सबै गाउँपालिकाहरुमा टेलिफोन सुविधा पुर्‍याउन मुख्य सचिव मार्फत सञ्चार सचिवलाई निर्देशनसमेत दिए ।

सञ्चार सम्पर्क नभएको ठाउँमा उद्धार गर्न र राहत पुर्‍याउन कठिन हुने उनको भनाइ थियो । सञ्चार सुविधा बिना स्थानीय तहका सरकार चलाउन पनि नसकिने उनले बताए ।

बैठकमा मुख्य सचिव, विभिन्न मन्त्रालयका सचिवहरु र सुरक्षा नियकाका प्रमुखहरु सहभागी थिए । तर अर्थ मन्त्रालयका सचिव उपस्थित नभएकोमा आक्रोश व्यक्त गर्दै मन्त्री शर्माले उनलाई सचेत गराउन मुख्य सचिव राजेन्द्र किशोर क्षेत्रीलाई निर्देशन दिए ।

‘अबको बैठकमा सबै निकायका प्रतिनिधि उपस्थित हुनेगरी एउटा निर्णय गरौं, त्यसो भएमा समन्वयको कुरा पनि ब्यवस्थित हुन्छ,’ मन्त्री शर्माले भने, ‘विपद् ब्यवस्थापन एउटा हातले गर्ने कुरा होइन, सयौं-हजारौं हातहरु आवश्यकता पर्छ ।’

भूकम्प गएको बेला आफूले संसदमा पाँच लाख स्वयंसेवक परिचालन गर्ने प्रस्ताव राखेपनि त्यसो हुन नसकेको उल्लेख गर्दै उनले भने, ‘भोलेन्टियर परिचालन गरौं अनि घर बनाउने काम सिध्याइदिउँ भनेको थिएँ हुन सकेन । परिणाम स्वरुप अहिले ‘गर्न सकेनौं’ भन्नेबाहेक हामीसँग अरु विकल्प छैन ।’

तत्काल विपदलाई पार लगाउन सके त्यसले नयाँ कठिनाई सिर्जना गर्ने उनले बताए । प्रकृतिसँग लड्ने र जित्ने कुरा सामान्य होइन भन्दै उनले भने, ‘विपदलाई तत्काल निरुपण गर्न नसके अरु विपदहरु थपिन्छ । त्यसपछि हामी विपदको बोझमुनि थिचिन्छौं अनि राज्यले त्यो भारी बोक्न नसक्ने अवस्था आउन सक्छ ।’

उद्धारका लागि तीन स्थानमा हेलिकोप्टर

उनले वर्षायाममा सम्भावित विपत्तीको सामना गर्न मुख्य तीन स्थानमा हेलिकोप्टर तयारी अवस्थामा राख्न उनले निर्देशन दिएका छन् । पश्चिम, पूर्व र बीचमा पर्ने गरी रुपन्देहीको बुटवलमा हेलिकोप्टर तयारी अवस्थामा राख्नुपर्ने उनले भनाइ राखे ।

बैठकमा सहभागी नेपाली सेनाका उपरथी हेमन्त कुँवरलाई निर्देशन दिँदै गृहमन्त्री शर्माले भने, ‘एउटा हेलिकप्टर पश्चिम क्षेत्र, एउटा बुटवल र अर्को पूर्वतिर राखौं जसले गर्दा उद्धारमा सहजता ल्याउन सकिन्छ ।’

नेपाली सेनाको हेलिकप्टर निर्वाचनको समयमा पनि देशका मुख्य तीन स्थानमा तयारी अवस्थामा राख्न मन्त्री शर्माले निर्देशन दिए ।

आफ्नो पहलमा कालिकोट, रोल्पा जस्ता स्थानबाट भर्खरै गर्भवतीको उद्धार गरेको जानकारी दिँदै मन्त्री शर्माले स्वास्थ्यसँग सम्वन्धित उद्धारका क्रममा खर्च भएको रकम भुक्तानी गर्न स्वास्थ्य सचिवलाई निर्देशन समेत दिए ।

मन्त्रि शर्माले विपद् उद्धार कोषलाई पनि बढाउनुपर्ने बताए । प्रहरीले जुवा खालबाट कब्जा गर्ने रकम कोषमा राख्न प्रस्ताव राखे । हाल उक्त रकम प्रहरीले जिल्ला प्रशासन कार्यालयमा बुझाउने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment