Comments Add Comment

सात वटै प्रदेशमा ‘प्रदेश हेडक्वार्टर’ स्थापना गर्ने मेगा बैंकको घोषणा

७ साउन, काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले सात वटै प्रदेशमा ‘प्रदेश हेडक्वार्टर’ स्थापना गर्ने घोषणा गरेको छ ।

सातौं बर्ष पूरा गरी आठौं बर्षमा प्रवेश गरेको अवसरमा शनिबार कमलादीस्थित प्रधान कार्यालयमा आयोजित कार्यक्रममा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले संघीय संचरना अनुसार सातवटै प्रदेशमा ‘प्रदेश हेडक्वार्टर’ स्थापना गर्ने बताए । त्यसको सुरुवात प्रदेश नम्बर ५ को बुटवलबाट सुरुवात भइसकेको उनले बताए ।

टुरिजम डेभलपमेन्ट बैंकसँग मर्जर प्रक्रिया जारी रहेको भन्दै उनले यो मर्जरपछि मेगा बैंक नेपालको सबैभन्दा बढी पुँजी भएको बैंकहरुमध्ये पर्ने बताए । चालू आर्थिक बर्षमा नै टुरिजमसँगको मर्जर प्रक्रिया सकिने उनको दाबी छ ।

‘संघीयताको कार्यान्वयनसँगै नयाँ-नयाँ आर्थिक सम्भावना र चुनौतीहरु देखिन थालेका छन् । त्यसैले नयाँ शहरका रुपमा विकास भइरहेका हुलाकी राजमार्ग र मध्यपहाडी राजमार्ग आसपासमा नयाँ सम्पर्क र सम्बन्ध विस्तार गर्ने योजना बनाएका छौं’ अध्यक्ष शाहले भने, ‘त्यसका लागि हामीले विज्ञहरुसँगको छलफलबाट पाँच बर्षे योजना तय गरेका छौं ।’ आर्थिक सम्भावनाका नयाँ क्षेत्रहरु पहिल्याउँदै कृषि, पर्यटन र जलविद्युतको क्षेत्रमा बैंकको मुख्य व्यवसायलाई केन्द्रीत गर्ने उनले बताए ।

मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले आगामी आर्थिक बर्ष २० वटा नयाँ शाखा खोल्ने जानकारी दिए । स्थानीय निकायको चुनावले आर्थिक सम्भावनाका धेरै ढोका खोलेको भन्दै उनले नयाँ नगरपालिका र गाउँपालिकामा शाखा विस्तार गरिने बताए ।

बैंकिङ क्षेत्र तरलताको अभावले गुजि्रए पनि बितेको बर्ष मेगा बैंकले राम्रो मुनाफा आर्जन गर्न सकेको सिइओ शाहले बताए । शेयरधनीलाई ६५ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रक्रिया अगाडि बढिसकेकाभन्दै उनले छिट्टै प्रतिशेयर एक सय रुपैँयाका दरले २ अर्व ९७ करोड ८५ लाख ३ हजार चार सय ३३ रुपैंया बराबरको २ करोड ९७ लाख ८५ हजार ३४.३३ कित्ता शेयर निष्काशन गर्न लागेको बताए ।

शाहले बैंक एस्योरेन्स योजना पनि घोषणा गरे । मेगा बैंकका ग्राहकहरुले अब जीवन बिमा र निर्जीवन बिमासम्बन्धी सम्पूर्ण सुविधा मेगा बैंकबाटै लिन सक्नेछन् । जीवन बिमाका लागि बैंकले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीसँग साझेदारी गरेको छ भने निर्जीवन बिमाका लागि बिभिन्न कम्पनीहरुसँग सम्झौता गरेको छ ।

मेगा बैंकको ४७ वटा शाखा र एउटा एक्सटेन्शन काउन्टर छ । यसैगरी, ५० वटा एटीएम सञ्जाल छन् । देशका ५८ वटा स्थानबाट अत्याधुनिक शाखारहित बैंकिङ सेवा प्रदान गरिरहेको बैंकले करिब १५ सय स्थानमा मेगा रेमिटको सञ्जाल विस्तार गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment