Comments Add Comment

‘मिटरब्याजी’को भिडियो वयानः सर्वोच्च अदालत किन्छु !

रिक्सा किन्न खोज्ने धनगढीका धनबहादुर यसरी ठगिए

१० साउन, धनगढी । शेखमुनिर अहमद वीरगञ्जका हुन् । तर, पछिल्लो समय उनको मिटर ब्याजको धन्दा धनगढीमा निकै फस्टाएको छ । जग्गा दृष्टिबन्धकमा राखेर मिटर ब्याजमा ऋण लगाउने उनी सर्वोच्चसम्म आफ्नो सेटिङ छ भन्दै न्याय किनिने डिङ हाँकिरहेका छन् । र, पीडितलाई एकपछि अर्को पीडा थपिरहेका छन् ।

सर्वोच्च अदालतमा आफ्नी श्रीमतीका नातेदार रहेको भन्दै उनले ‘खुराफाती वकिल’ मार्फत न्याय किन्न सकिने सगर्व बताउने गरेका छन् ।

धनगढीमा भएको एउटा डरलाग्दो ठगी प्रकरणबारे अनलाइनखबरले एउटा खोजमूलक सामाग्री तयार पारेको छ । यो घटनालाई हेर्ने हो भने नेपालमा कतिसम्म आपराधिक कृयाकलाप मौलाउन थालेको छ भन्ने स्पष्ट हुन्छ ।

व्यक्तिगत रुपमा ठगी धन्दामा सक्रिय रहेकाहरुले विभिन्न बैंकहरुलाई पनि विवाद र शंकाको घेरामा तान्ने गरेको पाइएको छ । बैंकसँग मिलेमतो नभई कसरी यति ठूलो ठगी प्रकरण हुन सक्छ भन्ने प्रश्न पैदा भएको छ ।

रिक्सा किन्न खोज्नेलाई यसरी फसाइयो

धनगढी-१४ फूलबारीका कमलबहादुर तामाङ, धनबहादुर तामाङ, दोर्जे लामा, पर्वा तामाङ, वडा नम्बर १२ जुगेडाका महामतिदेवी कुँवर र सागर लामा रिक्सा किन्नका लागि ऋणको खोजीमा थिए । सागर बाहेक पाँचजनाले जग्गा धितो राखेर बैंकबाट ऋण लिन खोजे तर, व्यावसायिक आधार नहुँदा बैंकले ऋण दिएन ।

उनीहरु डेरी व्यवसायी दीपक खड्का कहाँ पुगे । उनीहरुले रिक्सा किन्नका लागि ३० लाख ऋण खोजी दिन आग्रह गरे । खड्काले आफ्नो व्यावसायिक फार्म रहेकाले जग्गा धितोमा राखेर ऋण लिन सक्ने बताए । ऋणको खोजीमा रहेकाहरु पनि दीपकसँग मिलेर आफ्नो जग्गा बैंकमा राख्न तयार भए ।

अन्ततः महामतिको २२ कट्ठा, कमल बहादुरको साढे ९ कट्ठा, धनबहादुरको अढाई कट्ठा, दोर्जे लामाको १५ कट्ठा र पर्वाको ४१ कट्ठा जग्गा बैंक अफ काठमाण्डौंमा धितो राखेर ३० लाख ऋण निकाल्ने सहमति भयो ।

तर, पाँचजनाको जग्गा धितोमा राखेर आफ्नो फार्मका नाममा ऋण निकालेका दीपक खड्काले ३० लाखको सट्टा ३ करोड रुपैयाँ ऋण लिने बताएपछि जग्गावालले असहमति जनाए ।

दीपक खड्काले १ करोड ३९ लाख मूल्य बराबरको आफ्नो सम्पत्ति पनि धितोमा राखेको र ऋणको संयुक्त साझेदार बनेको उनीहरुलाई बताएका थिए । र, बैंकमा पनि त्यही देखाइयो ।

बैंकबाट लिएको ऋणबाट ५ जनाले ३० लाख पाए । जसबाट सागरले ५ लाख, पर्वाले ६ लाख, दोर्जेले ११ लाख, धनबहादुरले ४ लाख, कमल बहादुरले ३ लाख रुपैया बाँडेर लिए ।

तीन महिनापछि पैसा तिरेर जग्गाको पूर्जा फिर्ता लिन खोज्दा दीपक खड्का भागेपछि उनीहरु छाँगाबाट खसे ।

वास्तवमा दीपक खड्का र शेखमुनिर अहमदले आपसमा मिलेर पछिल्लो समय धनगढीमा मिटरब्याजको धन्दा चलाइरहेका थिए, जुन उनीहरुले थाहा नै पाएनन् । खड्का एक वर्षयता परिवारसहित फरार छन् ।

दीपक खड्काले ५ जनाको जग्गा समेत राखेर सनराइज बैंकबाट ऋण लिएका थिए । तर, रोक्का भएको जग्गा बैंक अफ काठमाडौंमा पनि धितो राखेर ऋणको साझेदार बनाएको पाइएको छ ।

पीडितहरुले रामकुमार कुँवर र दीपक खड्काको संयुक्त हस्ताक्षरबाट बैंकले चेक भुक्तानी दिनुपर्ने व्यवस्था गरेका थिए । तर, दीपकले एकलौटी एक करोड ७५ लाख ऋण लिँदा बैंकले आफूहरुलाई कुनै जानकारी नदिएको सागर लामा बताउँछन् ।

‘अर्कै बैंकमा दीपक खड्काको रोक्का भएको जग्गा बैंक अफ काठमाण्डौंले पनि धितो लिनु, हामीलाई जानकारी नगराई पैसा भुक्तानी दिनु र पैसा भुक्तानी गर्दा पनि जानकारी नदिनु बैंकको गम्भीर लापरवाही हो’, लामाले भने, ‘दीपक खड्का भागिसकेपछि पनि उनका आफन्त गगन खड्काका नाममा बैंकले ५० लाख बैंक ग्यारेन्टी भुक्तानी दिएको छ ।’

बैंक अफ काठमाण्डौंले धितो राखिएको महामति कुँवरबाहेक चारजनाको जग्गा रोक्कासमेत नगरेको पीडितले बताएका छन् ।

चारजनाको जग्गा भने शेखमुनिर अहमदका नाममा रोक्का भएको छ । त्यो कसरी भएको हो भन्नेबारे पीडित नै अनविज्ञ छन् ।

व्यक्तिगत लेनदेनका आधारमा दीपक खड्काले शेखमुनिर अहमदलाई दिएको ५० लाख रुपैयाँको चेक बाउन्स भएको भन्दै शेखमुनिरले उल्टै जालसाझीको मुद्दा आफूहरुविरुद्ध हालेर दुःख दिन थालेको पीडितले गुनासो गरेका छन् ।

‘शेखमुनिरसँग लेनदेनको हाम्रो कुनै सम्बन्ध छैन’, लामाले भने, ‘पाँच बिघा जग्गा रोक्का भएको छ, हामीविरुद्ध उल्टै शेखमुनिरले पर्सा जिल्लाबाट मुद्दा हालेका छन् ।’

जग्गा रोक्का भयो, पैसा मिलेन

शेखमुनिर अहमदकै नाममा जग्गा रोक्का गरेका तीनजनाले जग्गाको लालपूर्जा र पैसा पाउन नसकेको बताएका छन् । व्यवसाय गर्नका लागि ८० लाख रुपैयाँ ऋण लिन खोजेका धनगढी उपमहानगरपालिका-७ देवहरियाका भोजबहादुर विश्वकर्माले ११ कट्ठा ७ धुर जग्गा शेखमुनिरका नाममा रोक्का गरे पनि पैसा नपाएको बताए ।

उनले अहिले आफूलाई न पैसा, न त जग्गा पाउने अवस्था रहेको भन्दै न्याय दिलाइदिन आग्रह गरेका छन् ।

अहिले जग्गा वा पैसा दिन माग गर्दा शेखमुनिरले उल्टै धम्की दिने गरेको पत्रकार सम्मेलनमा विश्वकर्माले बताए ।

यस्तै आफन्त पार्वती खड्काको एक कट्ठा र कउसीदेवी कुँवरको अढाई कट्ठा जग्गा शेखमुनिरकै नाममा दृष्टिबन्धक गरेकी जुगेडाकी लक्ष्मी बिष्ट पनि अहिले बिचल्लीमा परेकी छन् ।

आफन्तको जग्गा दृष्टिबन्धक राखेर अध्ययनका लागि जापान उड्न खोजेकी उनले पैसा त पाइनन् नै, उल्टै आफन्तको जग्गा फसाएको आरोप खेपिरहेकी छन् ।

लक्ष्मीले पार्वतीका नामको जग्गा राखेर ३० लाख र कउसीदेवीको जग्गा राखेर ३५ लाख गरी ६५ लाख रुपैयाँ ऋण निकाल्न खोजेकी थिइन् । जग्गा दृष्टिबन्धक भएको तर, पैसा नपाएको लक्ष्मीले बताइन् ।

‘खुराफात वकिल छन्, न्यायाधीश किन्न सक्छु’

शेखमुनिर अहमद आफूविरुद्ध लागेको आरोप स्वीकार गर्दैनन् । जग्गा दृष्टिबन्धक पास गरेका तीनै जनाले रकम लगिसकेको उनको दाबी छ । आफूबाट ऋण लिएकाहरुले भाका नाघिसकेपछि मिटर ब्याज र ढुकुटीजस्ता आधारहीन आरोप प्रत्यारोप गरेर लिएको ऋण पचाउने र नतिर्ने प्रयास गरिरहेको उनले बताए ।

तर, अनलाइनखबरलाई प्राप्त भिडियो फुटेजमा भने उनले कि पैसा देऊ कि, जग्गा भन्दा न्यायाधीश नै किन्छु भन्दै धम्काएको पाइएको छ ।

आफूसँग तीनजना खुराफात वकिल रहेको र उनीहरुमार्फत पैसाले किनेर आफ्नो पक्षमा फैसला गराउने शेखमुनिरको दाबी छ । पीडितले अदालत त किनिँदैन होला भन्दा मुनिर भन्छन्, ‘तपाईलाई केही थाहै छैन, सर्वोच्चसम्म सेटिङ छ, छोपुवामा काम हुन्छ । यो मुद्दामा मलाई कति दिन्छ भन्छन् । प्रमाण छ भने रेट कम हुन्छ, प्रमाण कमजोर छ भने दोब्बर हुन्छ ।’

उनले आफ्नो पहुँच देखाउने प्रयास गर्दै भन्छन्, ‘धेरै कुरा नभनौं, मेरो मिसेसकै नातपातामा सर्वोच्चमै मान्छे छन् ।’

शेख र दीपकको समूहले चर्को ब्याजमा ऋण दिने गरेका छन् । यदि ३० लाख रुपैयाँ ऋण लिनुपर्ने भयो भने सुरुमा २० प्रतिशत पहिला कटाउँछन् र २४ लाख मात्र दिन्छन् । कागज भने ३० लाखको हुन्छ । साथै त्यही रकमको चेक पनि कटाउँछन् ।

जब ऋणी पैसा तिर्न आउने बेला हुन्छ, उनीहरु त्यही चेक लिएर बैंकमा जान्छन् र बाउन्स गराउँछन् । त्यसलाई आधार दृष्टिबन्धकमा राखेको जग्गा रोक्का गर्ने र पीडितबाट सक्दो रकम असुल गर्ने, नभए जग्गा हडप्ने उनीहरुको दाउ हुन्छ । यसमा केही बैंक वा तीनका कर्मचारीको समेत मिलोमलो हुन सक्ने पीडितहरुको आशंका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment