Comments Add Comment

सञ्जयको अन्त्येष्टिमा उर्लिए प्यूठानी, श्रीमती कञ्चनले दिइन् दागबत्ती

१० साउन, काठमाडौं । गत असार २ गते अमेरिकाको आलस्कामा हिमाल आरोहणका क्रममा मृत्यु भएका आरोही सञ्जय पण्डितको मंगलबार गृहजिल्ला प्यूठानमा अन्त्येष्टि गरिएको छ ।

प्यूठानको झिम्रुक नदी किनारमा उनको अन्तिम संस्कार गरिएको हो । उनको पार्थिव शरीरमा धर्मपत्नी कञ्चन शर्मा पण्डितले दागबत्ती दिएकी हुन् ।

अमेरिकाको आलस्का राज्यस्थित डेनाली माउण्ड आरोहणका क्रममा हाइ अल्टिच्युडका कारण पण्डितको मृत्यु भएको थियो । आवश्यक अनुसन्धान र कानूनी प्रक्रिया पूरा गरी उनको शव सोमबार राति नेपाल ल्याइएको थियो ।

पण्डितको पार्थिव शरीर मंगलबार बिहान श्रद्धाञ्जलिका लागि राष्ट्रिय खेलकुद परिषद परिषरमा राखिएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाले उनको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरेका थिए ।

दिउँसो पण्डितको शव प्यूठानको टिकुरी बसपार्कमा राखिएको थियो । एमाले नेता बामदेव गौतमसहित स्थानीय नेता, नगरपालिकाका मेयर लगायतले अन्तिम श्रद्धाञ्जलि दिएका थिए । उनलाई अन्तिम श्रद्धाञ्जलि दिन हजारौंको संख्यामा प्यूठानी जनताको उपस्थिति थियो ।

पण्डितले सर्बोच्च शिखर सगरमाथासहित संसारका ६ महादेशको उच्च शिखर आरोहण गरेका छन् । नेपालका आधा दर्जन हिमाल आरोहण गरिसकेका पण्डितको ६ हजार १९० मिटर अग्लो माउण्ट डेनाली आरोहण गर्ने क्रममा मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment