Comments Add Comment

मुक्त हलियाका लागि जग्गा खरिदमा कमिसनको खेल, अगुवाले नै मागे १२ लाख

हलियाहरु धर्नामा, मालपोतका हाकिमलाई कालोमोसो


११ साउन, डोटी । मुक्त हलियाको सामुहिक बस्ती निर्माणका लागि जग्गा खरिद गर्ने क्रममा हलिया समाजकै अध्यक्षले १२ लाख कमिसन मागेको प्रमाण भेटिएको छ ।

सरकारले मुक्त हलियाहरुको पुनस्र्थापनाका लागि सामुहिक बस्ती बसाउने भन्दै ८४ लाख रुपैयाँ रकम पठाएको छ । त्यही रकमबाट २ लाख रुपैयाँ प्रतिरोपनीका दरले जग्गा खरिद गर्ने प्रक्रिया चलिरहेको छ ।

जग्गा खरिदका क्रममा मुक्त हलिया समाज डोटीका अध्यक्ष भीमबहादुर सार्कीले जग्गाधनीसँग १२ लाख रुपैयाँ कमिसन मागेको अडियो अनलाइनखबरलाई प्राप्त भएको छ ।

सामुहिक बस्ती दिपायल सिलगढी नगरपालिका-७ को सिलगढी नजिकै बस्ने हर्क बोहराले जग्गा बेच्न खोजेका थिए । भीमबहादुरले उनै बोहोरासँग १२ लाख कमिसन दिएमात्रै जग्गा किन्ने बताएका हुन् ।

अडियो सम्वादमा भीमबहादुरले नापी, मालपोत लगायतका सरकारी कार्यालयका कर्मचारीहरुलाई सहमतिमा ल्याउन रकम चाहिने बताएका छन् ।

दुई पक्षबीच १० लाखमा सहमति जुटेको बताइएको छ । ‘म यो कुरा सबैसँग छलफल गर्छु तपाईले सबैलाई एक/दुई लाख आउने गरी दिनुपर्छ । म आफु देखिन्न, अर्कै कर्मचारी प्रयोग गरेर कमिसनको कुरा टुङ्गो लगाउँछु’ भीमबहादुरले भनेका छन्, ‘उनीहरुले -कर्मचारी) ठूलो माग राख्न सक्छन् तर, म मिलाउँछु ।’

हर्क बोहराको जग्गा खरिद गरिदिएवाफत मुक्त हलिया समाज डोटीका अध्यक्ष भीम सार्कीलाई १० लाख कमिसन बुझाउने भरपाईसमेत भएको छ । भरपाई तयार भएपछि जग्गाधनी बोहराले आफ्नो जग्गा किन्ने ग्यारेण्टी गर्नुपर्ने माग गरेका छन् । सार्कीले जवाफमा भनेका छन, ‘यहाँ ठूलो सञ्जाल छ । सबैका आफ्ना आफ्नै इच्छा छन्, बाँकी कुरा म मिलाउँछु, अमिनसँगको कुरा तपाईले मिलाउनुपर्छ ।’

तर, १० लाख कमिसनको खेल भएको सार्वजनिक भएपछि बोहोराको जमिन खरिद भएन ।

अहिले साविकको बगलेक गाविसमा हनुमान हर्टिकल्चर प्रा.लिको नाममा रहेको जमिन खरीद गरिएको छ । तर, यसमा पनि कमिसनको खेल भएको हुन सक्ने देखिएको छ । स्रोतका अनुसार हर्टिकल्चरले २४ लाख कमिसन दिने प्रतिवद्धता जनाएपछि यो जग्गा किनिएको हो ।

प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले भने कमिसनमा कर्मचारी संलग्न भएको भेटिए कारबाही गर्ने बताए ।

पूर्वीचौकी गाउँपालिका-२ मो जमिनमा घर छाप्रो बनाई बसोबास गर्दै आएका ४२ मुक्त हलिया परिवारलाई सामुहिक बस्ती निर्माण गर्ने योजना सरकारले अघि बढाएको छ । तर, जग्गा खरिदमै कमसिनको खेल भएपछि बस्ती बन्नेमा आशंका गरिएको छ ।

हलिया परिवारले मन पराएको, सस्तो र जिल्ला सदरमुकाम नजिकै रहेको जमिन खरिद नगरी आवश्यक पूर्वाधार नभएको जङ्गलमा राख्ने गरी जमिन खरीद गर्ने प्रक्रिया अगाडि बढाइनु कमिसनको खेल भएको मुक्त हलिया अगुवाहरु बताउँछन् ।

जग्गा खरिदमा कमिसन खाएको भन्दै डोटीका मालपोत अधिकृत सुनिल सागर जोशीलाई मंगलबार माओवादी केन्द्र र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले कालोमसो दलेका थिए । मुक्त हलियाहरुले सोमबार र मंगलबार मालपोत कार्यालयमा तालाबन्दी गर्नुका साथै धर्ना समेत दिएका छन् ।

आफूहरुले रोजेको ठाउँमा न्यायिक पुनस्र्थापना गर्नुपर्ने भन्दै धर्नामा बसेको मुक्त हलिया धनबहादुर बिकले बताए । धर्नामा बसेकी भागा बिकले भनिन्- ‘सरकारले दिएको हामीलाई बस्नलाई जग्गा दिन लागेको हो, कस्तो ठाउँमा बस्ने भन्ने निर्णय हामीले नै गर्न पाउनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment