Comments Add Comment

कास्कीमा जिसस गठन प्रक्रिया सुरु, २० गते निर्वाचन

एमालेले उम्मेदवार टुङग्यायो, कांग्रेस उम्मेदवार खोज्दै

१२ साउन, पोखरा । जिल्ला समन्वय समिति जिसस कास्की गठन प्रक्रिया सुरु भएको छ ।

निर्वाचन अधिकृतको कार्यालय कास्कीले सार्वजनिक गरेको चुनावी कार्यतालिका अनुसार बिहीबार मतदाता नामावली सार्वजनिक गरेसँगै जिसस गठन प्रक्रिया सुरु भएको हो । जिसस कास्की गठनका लागि साउन २० गते चुनाव हुँदैछ ।

निर्वाचन तालिका अनुसार साउन १४ गते पूर्वाहृन १० बजेदेखि अपराहृन ४ बजेसम्म मतदाता नामावली सच्याउन वा छुट नाम समावेश गर्न दरखास्त दिने समय तोकिएको छ । सोही दिन अपराहृन ४ बजे संसोधित मतदाता नामावली प्रकाशन गरिनेछ ।

साउन १५ गते पूर्वाहृन १० बजेदेखि दिउँसो १ बजेसम्म मतदाताको विरोधमा उजुरी दिने समय तोकिएको छ भने साउन १५ गते अपराहृन ५ बजे अन्तिम मतदाता नामावली प्रकाशन गरिने उल्लेख छ ।

त्यस्तै, साउन १६ गते पूर्वाहृन १० बजेदेखि अपराहृन ५ बजेसम्म उम्मेदवारी मनोनयन पत्र दर्ताको समय तोकिएको छ भने सोही दिन उम्मेदवारहरुको नामावली प्रकाशित गरिने जनाइएको छ ।

साउन १७ गते पूर्वाहृन १० बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवार उपर उजुरी दिने समय तोकिएको छ ।

सोही दिन दिउँसो २ बजेदेखि अपराहृन ५ बजेसम्ममा मनोनयन पत्रको जाँचबुझ गर्नुका साथै उम्मेदवारबिरुद्ध परेका उजुरीको छानविन गरी निर्णय गर्ने तालिकामा उल्लेख छ भने त्यही दिन अपराहृन ५ बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशित गरिने भएको छ ।

साउन १८ गते पूर्वाहृन १०ः३० बजेबाट दिउँसो २ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ भने सोही दिन दिउँसो २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिने जनाइएको छ । त्यही दिन दिउँसो २ बजेदेखि अपराहृन ५ बजेसम्म उम्मेदवारलाई चुनाव चिहृन प्रदान गर्ने कार्यतालिका रहेको निर्वाचन अधिकृतको कार्यालय कास्कीले जनाएको छ ।

निर्वाचन तालिका अनुसार साउन २० गते पूर्वाहृन ११ बजेदेखी अपराहृन ५ बजेसम्म मतदान हुनेछ ।

चुनावबाट एक प्रमुख, एक उपप्रमुख, एक महिला सदस्य, तीन दलित वा अल्पसंख्यक सदस्य तथा ३ अन्य गरी ९ सदस्यीय जिसस समिति चयन हुने छ ।

चुनावमा कास्की जिल्लामा रहेका एक महानगरपालिकाका मेयर र उपमेयर तथा ४ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष मतदाता रहन्छन् ।

जिल्ला समन्वय समिति कास्कीमा एमाले हावी हुने पक्का छ । कास्कीका एक महानगर र ४ गाउँपालिकाका मेयर/अध्यक्ष तथा उपमेयर/उपाध्यक्ष गरेर १० जना मध्ये एमालेका ९ र कांग्रेसको एक जना मात्र रहेकाले एमालेको जित सुनिश्चित भएको हो ।

जित सुनिश्चित भएको जिल्ला समन्वय समिति कास्कीको प्रमुखमा एमालेले बैनबहादुर क्षेत्री र उपप्रमुखमा सावित्री भण्डारीलाई उठाउने विहीबारै निर्णय गरिसकेको छ ।

नेकपा एमाले जिल्ला कमिटी कास्कीले क्षेत्री र भण्डारीलाई उम्मेदवार बनाउन प्रदेश नम्बर ४ कमिटीमार्फत केन्द्रमा पठाएको नाम एमाले बैठकले बिहीबार दिउँसो अनुमोदन गरेको हो ।

कांग्रेसले भने उम्मेदवार किटान गरेको छैन । उम्मेदवार उठाउने भएपनि कांग्रेसले हार पक्का जस्तै भएपछि उपयुक्त आकांक्षी नै नभेटेको बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment