Comments Add Comment

प्रदेश र संसदको चुनाव मंसिर ४ गते गर्ने तयारी, पर्सि घोषणा


१ भदौ, काठमाडौं । प्रदेशसभा र संघीय संसदको चुनाव एकै चरणमा गर्न निर्वाचन आयोग सहमत भएको छ । सम्भवत मंसिर ४ गते चुनाव हुने स्रोतले जनाएको छ ।

प्रदेश र संसदको चुनाव एकै चरणमा चुनाव गर्ने सहमति गरेका प्रमुख तीन दलका शीर्ष नेताहरुले बिहीबार साँझ निर्वाचन आयोगका पदाधिकारीहरुसँग छलफल गरे ।

छलफलमा आयोग प्रदेशसभा र संघीय संसदको चुनाव एकैपटक गर्न सहमत भएको छ ।  स्रोतले भन्यो, ‘सरकारले पर्सि निर्वाचनको मिति घोषणा गर्छ । मंसिर ४ मा चुनाव गर्ने तयारी छ ।’

यो मिति आयोगले प्रस्ताव गरेको हो, जसमा दलहरु सहमत देखिएका छन् । एक नेताका अनुसार दुई वटा मतपत्र हुनेछ । एउटा मतपत्रमा प्रत्यक्षतर्फ प्रदेशसभा र संसदका लागि मतदान हुनेछ भने अर्को मतपत्रमा समानुपातिकतर्फ प्रदेशसभा र संसदका लागि मतदान गर्नुपर्ने व्यवस्था गरिनेछ ।

प्रदेश र संसदको चुनाव एकै चरणमा गर्न आयोले केही सर्त राखेको छ । ‘प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनसँगसँगै गर्ने समझदारी भएको छ । निर्वाचनका लागि चाहिने कानुन ५ गतेभित्र र निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन १५ गते भित्र चाहिन्छ’ प्रमुख आयुक्त अयोधीप्रसाद यादवले भने ।

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनसम्वन्धी कानुन संसदमा विचाराधीन छ । क्षेत्र निर्धारण आयोगले गठन गर्दा दिइएको २१ दिनमा प्रतिवेदन बुझाउन नसकेपछि १५ दिनको समय दिइएको छ ।

स्रोतका अनुसार बैठकमा देशभर एकै चरणमा गर्ने कि दुई चरणमा भन्ने पनि छलफल भएको छ ।

प्रमुख दलका नेताहरुले एकै चरणमा गर्नु पर्नेमा जोड दिएका छन् । तर, आयोगले भने तयारीका लागि दुई चरणमा गर्नु उपयुक्त हुने राय राखेको छ । स्रोतले भन्यो, ‘आयोगले पहिलो चरणमा हिमालीसहित ३१ जिल्लामा गरौं । बाँकी जिल्लामा ७/८ दिनपछि गरौं भनेको छ ।’

यसबारे आयोगमा थप छलफल गरेर भोलिसम्ममा ठोस जवाफ दिने आयोग पदाधिकारीहरुले बताएका छन् । यदि दुर्इ चरणमा चुनाव हुने भयो भने पहिलो चरणमा हिमाली र पहाडी जिल्लाहरूमा चुनाव हुनेछ र एकै प्रदेशमा दुर्इ चरणमा पनि चुनाव हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment