Comments Add Comment

माओवादी फर्किएका झाले गरे बाबुरामको आलोचना


४ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रमा फर्किएका नेता रामचन्द्र झा र रामकुमार शर्माले नयाँ शक्ति पार्टीका नेता डा. बाबुराम भट्टराईको चर्को आलोचना गरेका छन् । भट्टराई विचारक नेता भए पनि सही समयमा सही निर्णय लिन नसकेको उनीहरुको आरोप छ ।

आइतबार माओवादी अध्यक्ष प्रचण्ड सहितका नेताहरुले झा र शर्मासँगै ब्रिजकिशोर यादव, कलामुद्दिन रायन, महेन्द्र केसी ‘पारसमणि’ लगायतका नेताहरुलाई पार्टीमा स्वागत गरे । ‘पारसमणि’ भने विप्लव समूहबाट आएका हुन् भने अन्य नेता नयाँ शक्तिबाट आएका हुन् ।

कार्यक्रममा झा र शर्माले बाबुरामको कमजोरी अन्तरविरोध हल गर्न नसक्नु भएको बताए । उनले सही समयमा सही निर्णय लिन नसकेकै कारण संघीय समाजवादी फोरमसँगको पार्टी एकता भाँडिएको दुबैको आरोप छ ।

नयाँ शक्तिमा सहअध्यक्ष रहेका झा पार्टी एकताका लागि बनेको वार्ता समिति संयोजक थिए । आफूले पार्टीको नाम र नेतृत्व बाहेक सबै विषयमा सहमति जुटाएर युरोप गएको तर, पार्टीका नेताहरुले आफैंमाथि पार्टी एकता भाँडेको आरोप लगाएपछि चित्त दुखेको उनले सुनाए ।

माओवादी प्रवेश गरेका झाले आफ्नो पूर्व पार्टी एमालेको पनि आलोचना गरे । एमालेले बर्गीय विभेदको कुरा गरेपनि सामाजिक, सांस्कृति र भाषामा हुने विभेद सुन्नै नचाहेको भन्दै भन्दै झाले भने, ‘एमाले भनेको वेत हो । त्यसमा जति पानी हालेपनि फल र फूल केही दिँदैन ।’

कार्यक्रममा रामकुमार शर्माले बाबुरामसँग धेरै मतान्तर नभएपनि निर्णय गर्ने र अन्तरविरोध हल गर्ने क्षमता नभएकाले छाड्नु परेको बताएका छन् ।

माओवादीबाट नयाँ शक्तिमा गएर आफूहरुले ‘चार गुणा’ बढी कार्यकर्ता बनाएको र उनीहरु आफूहरुसँगै माओवादीमा फर्किएको भन्दै दुबै नेताहरुले उनीहरुको पनि व्यवस्थापन गर्न माओवादी नेतृत्वलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment