Comments Add Comment

माल्दिभ्सलाई हराउँदै नेपाल यू-१५ साफको सेमिफाइनलमा

५ भदौ, काठमाडौं । काठमाडौंमा जारी साफ यू-१५ च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपालले माल्दिभ्सबिरुछ ६-० को शानदार जित हासिल गरेको छ ।

जितसँगै नेपाल समूह बी बाट सेमिफाइनलमा पुगेको छ । समूहको बिजेताको छिनोफानो भने नेपाल र भारतबीचको खेलबाट टुंगो लाग्नेछ ।

सातदोवाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा सोमबार माल्दिभ्समाथि हावी भएको नेपालले पहिलो हाफमा ४ गोल गरेको थियो । दोस्रो हाफमा दुई गोल थपेको नेपालका लागि बिर्जेश चौधरीले २ गोल गरे ।

खेलको १३औं मिनेटमै बिर्जेश चौधरीको हेड गोलमार्फत अग्रता लिएको नेपालले २१औं मिनेटमा दर्शन गुरुङको गोलमार्फत अग्रता दोब्बर बनायो ।

नेपालले तेस्रो गोल पेनाल्टीमार्फत गरेको थियो । माल्दिभ्सका रक्षक मोहम्मद इमरानले डिबक्सभित्र फल गरेपछि पाएको पेनाल्टीमा रोशन रानामगरले गोल गरे ।

नेपालले चौथो गोल पहिलो हाफको अन्त्यतिर गरेको थियो । ३२औं मिनेटमा रञ्जन पुनको स्थानमा मैदान छिरेका आकाश बुढामगरले गोल गरेका थिए ।

दोस्रो हाफको सुरुमै नेपालले पाचौं गोल गर्‍यो । यसपटक रोशन दोङले गोल गर्न सफल भए ।

सुरुवाती गोल गरेका बिर्जेश चौधरीले छैटौं गोल पनि गर्न सफल भए । ७३औं मिनेटमा पोष्टको बायाँतर्फ शशक्त प्रहार गर्दै उनले नेपाललाई ६-०को जित दिलाए ।

समूह बीमा यसअघि भारतसँग पराजित भइसकेको माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएको छ भने नेपाल र भारत सेमिफाइनलमा पुगेको छ । नेपाल र भारतबीचको खेलले समूह बिजेताको टुंगो लगाउनेछ । यस खेल बुधबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment