Comments Add Comment

क्षेत्री समाजले गर्‍यो संविधानको निन्दा

३ असोज, पोखरा । क्षेत्री समाज नेपालले नयाँ संविधान ०७२ लाई ‘नखाउँ भने दिनभरिको शिकार, खाउँ भने कान्छा बाबाको अनुहार’ जस्तो भएको टिप्पणी गरेको छ ।

असोज ५ गते घटस्थापनाको दिन मनाइने क्षेत्री दिवसको अवसरमा आयोजना गरिने कार्यक्रमबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै क्षेत्री समाज नेपालका संस्थापक अध्यक्ष प्रा.डा.दिलबहादुर क्षेत्रीले यस्तो टिप्पणी गरेका हुन् ।

क्षेत्री समाजको तर्फबाट भन्दै मन्तव्य शुरु गरेका उनले क्षेत्री समाजले नयाँ संविधानलाई पूर्ण रुपमा नस्वीकारेको बताए ।

कार्यक्रममा बोल्दै प्रा.डा.क्षेत्रीले संविधानमा क्षेत्रीलाई आदिवासी जातिका रुपमा सूचीकृत नगरी विभेद गरेकाले त्यसको विरोध स्वरुप क्षेत्री समाज अहिले पनि आन्दोलनमा रहेको बताए ।

समाजले जारी गरेको विज्ञप्तिमा समेत संविधानको विरोध गर्दै फिर्ता गर्न माग गरिएको छ । विज्ञप्तिमा भनिएको छ,’राष्ट्रियता नै बिखण्डन गर्ने गरी ०७२ असोज ३ मा घोषित संविधान र वर्तमान सरकारले पेश गरेको संविधान संशोधनको प्रस्ताव यथाशिघ्र फिर्ता गर्न सरकार तथा राजनीतिक दलहरुसँग आग्रह गर्दछौं ।’

समाजले धर्म निरपेक्षता हटाई हिन्दु धर्म सापेक्ष राष्ट्र घोषणा गर्न, खस आर्यलाई संयुक्त आन्दोलनले स्थापित गरेको आदिवासीको पहिचान यथावत कायम राख्न, नेपाल सरकारसँग ०६८ साल जेठ ८ गते र ०६९ साल जेठ ४ गते भएको सम्झौता कार्यान्वयन गर्न माग गरेको छ ।

त्यस्तै, क्षेत्रीहरुलाई आदिवासीमा सूचीकृत गर्न, राज्यबाट प्रदान गरिने सामाजिक सुरक्षा सुविधा, सहयोग र संरक्षण जातीय आधारमा नभई वर्गीय आधार र जातिय जनसंख्याको आधारमा गर्न तथा खस क्षेत्रीहरुको संस्कृति, भाषा, परम्पराको अध्ययन अनुसन्धान प्रकाशन र उत्थान गर्नको लागि नेपाल खस अध्ययन अनुसन्धान प्रतिष्ठान गठन गर्न क्षेत्री समाजले माग गरेको छ ।

दिवसमा पनि माग किन राखिएको भन्ने पत्रकारको प्रश्नको जवाफ दिदै समाजका संस्थापक अध्यक्ष क्षेत्रीले आफूहरु अहिले पनि आन्दोलनमा रहेकाले मागहरु प्रस्तुत गर्नुपरेको बताए ।

यसैबीच, क्षेत्री समाजले घटस्थापनाको दिन क्षेत्री दिवस मनाउने परम्परालाई निरन्तरता दिने भएको छ । समाजले कास्की, तनहुँ, लमजुङ र स्याङ्जा जिल्लाका क्षेत्रीहरुको सहभागितामा पोखरामा संयुक्त कार्यक्रम गर्ने समाजका अध्यक्ष प्रा.डा.चन्द्रबहादुर थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment