११ भदौ, काठमाडौं । नेकपा एमाले ले संविधानसभा निर्वाचनका लागि पार्टीले बनाउने घोषणापत्रबारे आम जनसमुदायमा राय सुझाव माग गरेको छ ।
एमालेका महासचिव ईश्वर पोखरेलले मंगलबार विज्ञप्ति जारी गरी जन समुदायमा आफूलाई लागेको महत्वपूर्ण सुझाव समेटेर भदौ २० गतेसम्म पार्टी केन्द्रीय कार्यालयमा सुझाव पठाउन अपिल गर्नुभएको हो । एमालेले विगतमा संविधानसभामा भएका सहमति र विवादित विषयमा पार्टीको दृष्टिकोणका साथै समृद्ध र समतामूलक नेपाल निर्माणका सन्दर्भमा पार्टी अवधारणासहितको चुनावी घोषणापत्र बनाउने सोच राखेको पनि पोखरेलले उल्लेख गर्नुभएको छ ।
उहाँले एमालेले गएको संविधानसभाको चारवर्षे कार्यकालका सन्दर्भमा समग्र समीक्षा गरी ‘श्वेतपत्र’ समेत जारी गरिसकेको सन्दर्भमा अब बस्ने केन्द्रीय कमिटीको बाइसौं बैठकले आउने संविधानसभा निर्वाचनको सफलताका लागि विगतको संविधानसभामा रहेको राजनीतिक शक्ति सन्तुलनमा परिवर्तन ल्याउने गरी निर्वाचन परिचालनको निर्णय गर्ने जानकारी पनि दिनुभयो । रासस
प्रतिक्रिया 4