+
+
Shares

राजनीतिक समितिले ३३ दलसँग फेरि वार्ता गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ १२ गते १३:३५

१२ भदौ, काठमाण्डौ । प्रमुख चार राजनीतिक दल सम्मिलित उच्चस्तरीय राजनीतिक समितिले निर्वाचन प्रक्रियाप्रति असन्तुष्ट रहेको नेकपा-माओवादी नेतृत्वको ३३ दलीय मोर्चासँग वार्ता जारी राख्ने निर्णय गरेको छ ।बुधवार विहान काँग्रेस सभापति एवम् उच्चस्तरीय राजनीतिक समितिका संयोजक सुशील कोइरालाको निवास महाराजगञ्जमा बसेको समितिको वैठकले चुनावी प्रक्रियामा ल्याउन माओवादीलगायतका असन्तुष्ट दलहरुसंगको वार्ता र सम्वाद जारी राख्ने निर्णय गरेको हो ।

बैठकपछि मधेशी जनअधिकारी फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले वार्ता, छलफल र सहमतिमा पुग्ने अझै ‘स्पेस’ रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सहमतिमा पुग्ने स्पेस अझै छ । मोहन वैद्यको नेकपा-माओवादी र अशोक राईजीको पार्टीसंग अझै बार्ता हुन सक्छ । वार्ताका लागि ढोका बन्द भएको छैन ।’
गच्छदारले मोहन वैद्यको ३३ दलीय मोर्चा र अशोक राईको संघीय समाजवादी पार्टीसँग आन्तरिक छलफल भइरहेको र सहमति गरी चुनावमा ल्याउने प्रयास जारी रहेको बताउनुभयो ।

यस्तै एमाले नेता रघुजी पन्तले बैठकले मोहन वैद्य नेतृत्वको मोर्चासँग वार्ताको ढोका खुला गरेको बताउनुभयो । उहाँले वैद्य मोर्चासँग सहमतिका लागि अनौपचारिक रुपमा छलफल भइरहेको जानकारी दिनुभयो ।एमाले नेता पन्तले सहमतिका लागि उच्चस्तरीय राजनीतिक समिति लचिलो भएको भन्दै असन्तुष्ट दलहरुलाई पनि थप लचक भएर आउन आग्रह गर्नुभयो । उहाँले असन्तुष्ट दलहरुलाई चुनावी प्रक्रियामा ल्याउन अन्तिम समयसम्म पहल गर्ने र उनीहरु सहमतिमा नआए पनि मंसिर ४ को निर्वाचन नरोकिने बताउनुभयो । पन्तले अनलाइनखबरसंग भन्नुभयो,’सहमतिमा ल्याउन वार्ताको ढोका खुल्लै राखेका छौँ, वार्ता पनि गर्दै जान्छाँै । तर, सहमतिमा आउनै मानेनन् भने उनीहरुकै कारण निर्वाचन रोकिँदैन ।’

यसअघि राजनीतिक समितिको वैठकमा चुनावमा जान वैद्य पक्षले राजनीतिक समितिको खारेजी, वर्तमान सरकार विघटन, चुनाव स्थगन लगायतका ५ बुँदे माग पेश गरेपछि राजनीतिक समितिले माग सम्बोधन गर्न नसकिने वताएपछि वार्ताको प्रक्रिया भंग भएको थियो । यस्तै मंगलबार अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीसंग भएको वार्ता पनि विनानिष्कर्ष टुंगिएको थियो ।

अधिकारीलाई अनशन तोड्न आग्रह

एमाले नेता पन्तका अनुसार राजनीतिक समितिको बैठकले गोरखाका कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै अनसनमा बसेका नन्दप्रसाद र गंगामाया अधिकारी दम्पत्तिलाई अनसन तोड्न आग्रह गरेको छ । अधिकारी दम्पत्ति आफ्ना छोराको हत्यामा संलग्नलाई कारबाही नगरिएको भन्दै एक महिनादेखि अनसन बस्दै आएका छन् । उनीहरुको अवस्था गम्भिर भएपछि वीर अस्पतालमा भर्ना भएका अधिकारी दम्पत्तिले अझै पनि अनसन तोड्न अस्वीकार गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?