+
+
Shares

उम्मेदवारी दर्ताकै दिन ३३ दलद्वारा हड्तालको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ १२ गते ११:३२

१२ भदौ, काठमाडौं । नेकपा-माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले संविधानसभा निर्वाचनको उम्मेदवारी दर्तालाई लक्षित गरी बन्दसहितको आन्दोलन घोषणा गरेको छ । माओवादी पार्टी कार्यालय बुद्धनगरमा बुधबार बसेको ३३ दलको बैठक आन्दोलनका कार्यक्रमहरु तय गरेको हो ।

आन्दोलन थाल्नुअघि सहमतिको अन्तिम प्रयास गरिने सामाजिक लोकतान्त्रिक पार्टीका नेता पासाङ शेर्पाले अनलाइनखबरलाई जानकारी दिनुभयो । उहाँका अनुसार भोलि बुधबार सहमतिका लागि मध्यतता गर्न आग्रह गर्दै राष्ट्रपतिलाई ज्ञापन पत्र बुझाइने छ । ‘हामीले अहिले पनि वार्ताको ढोका खुल्ला राखेका छौं । सहमतिका लागि मध्यस्तताको पहल गर्न आग्रह गर्दै राष्ट्रपतिलाई ज्ञापन पत्र बुझाउँदैछौं’ शेर्पाले भन्नुभयो ।

३३ दलले घोषणा गरेको कार्यक्रमअनुसार भदौ दोस्रो साता नागरिक समाज, बुद्धिजिवी लगायतसँग अन्तरक्रिया गर्ने र सबै जिल्ला तथा निर्वाचन क्षेत्रमा ३३ दलीय मोर्चा विस्तार गर्ने रहेको छ ।

यस्तै ३३ दलले भदौ २७ गतेबाट असोज १ गतेसम्म क्षेत्र स्तरमा बन्द गर्ने घोषणा गरेका छन् । २७ गते पूर्व, २८ गते सुदूरपश्चिम, ३० गते पूर्वी तराई, ३१ गते मध्यपश्चिम र १ गते मध्यपहाड बन्द आहृवान गरिएको छ ।

२ गतेदेखि ७ गतेसम्म मुख्य शहरहरुमा बहिस्कार सभा हुनेछ । जसअनुसार २ गते जनकपुर र बुटबल, ३ गते चितवन र इटहरी, ४ गते बिराटनगर र धनगढी र ७ गते काठमाडौं र पोखरामा बहिस्कार सभा हुनेछ ।

३३ दलले उम्मेदवारी दर्तालाई लक्षित गरी असोज ९ र १० गते नेपाल बन्द घोषणा गरेका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको तालिकाअनुसार असोज १० गते प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको कार्यक्रम छ ।

यस्तो छ ३३ दलीय मोर्चाको आन्दोलनको कार्यक्रम

१) दलहरुको बीचमा गोलमेचसभाको निम्ति राष्ट्रपतिबाट सहजकर्ताको भूमिकाको अपेक्षा सहित यही भदौ १३ गते राष्ट्रपति कार्यालयमा ज्ञापनपत्र बुझाउने ।

२) यही भदौको दोस्रो हप्ता विभिन्न राजनीतिक दल, नागरिक समाज र सरोकारवाला बुद्धिजीवीहरुसँग ४ दलका नेताहरुले वार्ता भङ्ग गरेको विषयलाई लिएर काठमाडौंमा बृहत अन्तरक्रियात्मक गोष्ठी गर्ने ।

३) सबै जिल्लाहरुमा ३३ दलीय संयुक्त संयन्त्र अविलम्ब गठन गरी २४० वटा निर्वाचन क्षेत्रस्तरमा अभियान टोलीहरु बनाई प्रचार–प्रसार, चोकसभा, कोणसभा, घरदैलो, भित्तेलेखन लगायतका अभियानात्मक कार्यक्रमहरु सञ्चालन गर्ने ।

४) भदौ २६ गतेदेखि असोज १ गतेसम्म क्षेत्रगत बन्दका कार्यक्रमहरु सञ्चालन गर्ने । जसअनुसार,

भदौ २६ गते बुधबार – उपत्यका (काठमाडौं, ललितपुर र भक्तपुर) बन्द गर्ने । भदौ २७ गते बिहीबार – पूर्वी क्षेत्र (इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गा, उदयपुर, झापा, मोरङ र सुनसरी) ) बन्द गर्ने ।

भदौ २८ गते शुक्रबार – सुदुर पश्चिम क्षेत्र (अछाम, बाजुरा, बझाङ, दार्चुला, बैतडी, डडेलधुरा, डोटी, सुर्खेत, जाजरकोट, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट, दैलेख, कञ्चनपुर, कैलाली, बर्दिया, बाँके र दाङ) बन्द गर्ने ।

भदौ ३० गते आइतबार – पूर्वी तराई (सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट) बन्द गर्ने ।

भदौ ३१ गते सोमबार – मध्य पश्चिम (रुकुम, सल्यान, रोल्पा, प्यूठान, गुल्मी, अर्घाखाँची, पाल्पा, बाग्लुङ, म्याग्दी, गोरखा, लम्जुङ, मनाङ, मुस्ताङ, तनहुँ, कास्की, पर्वत, स्याङ्जा, कपिलवस्तु, रुपन्देही र नवलपरासी ) बन्द गर्ने ।

असोज १ गते मंगलबार – मध्य पहाड (सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट, रसुवा, धादिङ, चितवन र मकवानपुर) बन्द गर्ने ।

५) मुख्य–मुख्य शहरहरुमा बृहत जनसभाहरु आयोजना गर्ने ।

असोज २ गते बुधबार – जनकपुर र बुटवल

असोज ३ गते बिहीबार – चितवन र इटहरी

असोज ४ गते शुक्रबार – बिरगञ्ज र धनगढी

असोज ७ गते सोमबार – काठमाडौं र पोखरा

६) असोज ९ र १० गते नेपाल बन्द गर्ने । क्षेत्रगत बन्द तथा नेपाल बन्द गर्दा बजार, कलकारखाना, शिक्षणसंस्था र यातायात सम्पूर्ण रुपले बन्द हुनेछ ।

(बजारतर्फ औषधी पसलहरु भने खुला रहनेछ । यातायात तर्फ हस्पिटलका गाडी, एम्बुलेन्स, रेडक्रसका गाडी, शव वाहन, फोहोर बोक्ने गाडी, पानी बोक्ने गाडी, प्रेस र मानव अधिकारका गाडी र कूटनैतिक नियोगका गाडीहरु भने खुला रहनेछन् ।)

७) क्षेत्रगत बन्द तथा नेपाल बन्दको अघिल्लो दिन साझ सबै शहर तथा जिल्ला सदरमुकामहरुमा बन्दको लागि आह्वान गर्दै सिट्ठी जुलुश प्रदर्शन गर्ने ।

यो पनि पढ्नुस्

राजनीतिक समितिले ३३ दलसँग फेरि वार्ता गर्ने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?