-खिमलाल देवकोटा
संविधानसभाको निर्वाचनका बारेमा मानिसहरुको दिमागमा विभिन्न चित्र कोरिएका छन् । कतिपयले माओवादीको स्थान निकै कमजोर आँकलन गरेका छन् । कतिपयले अघिल्लो चुनावमा जसरी नै त्यही १५/२० सिट भनेका छन् । हाम्रै पार्टीभित्र पनि कुनै कुरा आफूलाई मन परेका बेला पार्टीले दुई तिहाइ ल्याउँछ भन्न पनि भ्याइहाल्ने साथीहरु आफूलाई मन नपरेका बेला वा आफूलाई अनुकूल नहुने प्रस्ताव पार्टीले ल्याएका बखत अब सबै कांग्रेसले जित्छ, पार्टी सकियो भन्ने गरिराखेका छन् ।
यही बखत र पार्टी नेताहरु सधैं बानेश्वर बैठक सधैं कांग्रेस, एमालेका साथमा बहस, बचेको समय लाजिम्पाट, सानेपा र हात्तीवन हो क्यारे । त्यतैको कौशीमा बस्दै आफ्ना असली भारदारहरुको मन्त्र जप्दै मनोगत प्रस्ताव अगाडि राख्दै गर्दा साँच्चै पार्टी अन्यौलमा थियो र नेता र कार्यकर्ताहरु अन्यौलमा नै थिए । यसैवीचमा आकस्मिक नै भन्नुपर्छ, पार्टीको विस्तारित बैठक वस्यो र अकस्मात अभियानको योजना बन्यो ।
अभियान एक महिना भनिए पनि खास कार्यक्षेत्रमा भने १५ वा २० दिन बस्ने अवस्था बन्यो । यो अवस्थाले पार्टीलाई भिन्न विश्लेषण गर्न र सोका आधारमा निर्णय लिन निकै सघाउ पुर्याएको छ, जो पार्टी इतिहासमा र नेता कार्यकर्ताको पनि जीवनमा पहिलोपटक छोटो अवधिमा प्रभावकारी अभियान ठानिएको छ । यो कार्यक्रमले एमाओवादीका लागि त राम्रै सामाग्री प्राप्त भयो नै, राष्ट्रकै लागि पनि यो निकै कामयावी हुने ठानिएको छ । तिनै विषयहरुबाारे यहाँ संक्षेपमा चर्चा गर्ने प्रयास गरिएको छ ।
नेपाली समाजको वस्तुस्थितिबारे प्रारम्भिक जानकारीः
नेपाली समाजको अध्ययनका बारेमा एकाध मानिसहरुले आफ्नो बाध्यात्मक डिग्री पूरा गर्न होस् वा दाताहरुको परियोजनाका लागि तोकिएको रकम फस्र्यौट गर्न होस्, यस्तैखाले अनुसन्धानबाहेक अरु अवस्थामा गाउँ गएको भेटिँदैन । यसका अतिरिक्त नीति निर्माणका तहमा पहुँच भएका मानिसहरुले अनुसन्धानमा भाग लिएका पनि थिएनन् र ती रिपोर्टहरु हेर्ने काम पनि गर्दैनथे । तर, यसपटक एमाओवादी पार्टीको केन्द्रीय समितिमा रहेर काम गरिसकेका, विगत र भविश्यमा समेत नीति निर्माणमा पहँुच रहने स्तरको जनशक्तिले आफैले सहभागी भएर ल्याएको तथ्यांक र सूचना राष्ट्रनिर्माणको कार्यमा महत्वपूर्ण सावित हुनेछ, खालि त्यसको सही सदुपयोगको वातावरण वनाउन मात्रै पर्नेछ ।
जनताको मनोविज्ञान अध्ययन गर्ने अवसरः
जनताको अनुहार प्रत्यक्षरुपमा पढ्ने कुरा अनुसन्धानको आधिकारिकता र विश्वसनियताका लागि निकै महत्वपूर्ण मानिन्छ । जनताले फारममा के लेखे, गणकले के लेखेर ल्याए, फिल्डमै पुगेर ल्याए कि कुनै सुविधासम्पन्न होटलको लवीमा बसेर वा गाउँको पसलमा बसेर जान्ने सुन्नेले भनेको व्यहोरा नोट गरेर ल्याए ? यो कुरा निकै महत्वको विषय हो ।
दोस्रोखाले अनुसन्धानका आधारमा तयार भएका प्रतिवेदन र विकासका परियोजनाहरुसम्म पनि सफल भए भनेर गर्व गर्ने गरिएको समाजमा जनताका प्रतिनिधि नीति निर्माणमा प्रत्यक्ष संलग्न भएका नेताहरुको टोलीले जनताको प्रत्यक्ष मनोविज्ञान पढेर र सोका आधारमा प्रतिवेदन तयार भएको छ, जो नेपाली समाजको विकासका लागि निकै महत्वको सावित हुनेछ ।
पद्दतिसंगत अनुसन्धानः
प्रायः राजनैतिक दलका नेता कार्यकर्ताहरुको रिपोर्ट खास ढाँचामा हुने गर्दछ । त्यो ढाँचा कहिल्यै वस्तुवादी हुन सकेन । तर, पुरै मनोगत भाषणले रंगिने रिपोर्ट यसपटक भने फरक रहयो । पार्टी केन्द्रीय कार्यालयले विज्ञहरुको सहयोगमा आफैले तयार पारेको ४४ पृष्ठ लामो फाराम, जसलाई भर्नका लागि विशेष निर्देशन पनि तोकिएको अवस्थामा मनोगत र राजनैतिक भाषण गरेजस्तो यो काम हुन पाएन । कुनै पनि काम खाली राख्न पनि पाइँदैनथ्यो । यसले अनुसन्धानको पद्दति पछ्याएको मात्रै हैन, वैज्ञानिक अनुसन्धान पद्दति नै अवलम्वन गरियो । यसका अतिरिक्त फाराम भर्न कसैलाई भर्ति गर्ने हैन, टोली नेता आफै र आफ्नै उपस्थितिमा कार्यकर्ताहरुको टोली नै बनाएर गर्ने निर्देशिका भएका कारणले पनि यस कामको महत्व आफैमा उच्च छ ।
वैज्ञानिक अनुसन्धान पद्दतिको अवलम्वन माओवादी पार्टीबाटः
कतिपयका लागि यो अपत्यारिलो लाग्ने र स्वयं माओवादीका लागि पनि यो झन्झटिलो र अनावश्यक भनेर नाक नखुम्च्याएको पनि होइन, तर केले काम गर्यो थाहा छैन, यो फारम वमोजिमकै विवरण भर्ने गरी पार्टी केन्द्रीय कार्यालय सहमत भयो र पहिला झन्झटिलो भनिएको फाराम नै स्वीकार भयो । यो काम फिल्डमा खटिनेहरुका लागि पनि निकै चुनौतिको विषय बन्यो । विवरणमा आधारित रिपोर्टिड झन चुनौतिपुर्ण हुने नै भयो । त्यतिका चुनौतिपूर्ण काम पनि एमाओवादीका नेता तथा नेताहरुको टोलीले गरेर देखाएको छ । यति नै र यस्तै काम कुनै पनि राजनैतिक दलले आजका मितिसम्म गरेको पाइएको छैन । त्यसैले माओवादी पार्टीले सबैलाई उछिनेको छ र सबैलाई सिकाएको पनि छ । आफैले, पार्टीले र राज्यले यसलाई उपयोग गर्यो भने त्यो देश र जनतका लागि कामयावी नै हुनेछ ।
पार्टी मनोगत रोगबाट मुक्त हुने उपायः
पार्टीले कुनै व्यवसायिक संस्थालाई गुहारेर यसो गर्न पनि संभव थिएन । कुनै गैरसरकारी संस्थाले यतिका काम गरेको भए अरबौको लगानी गर्न पर्ने पनि थियो । तर, योखालको गुणको अपेक्षा धेरै टाढाको कुरा हुने थियो । जे होस् पार्टी नेताहरु फारम भर्ने गणक पनि भएका छन् र फारम दीर्घकालीन अनुसन्धान र विश्लेषण गर्न लायक छ, जसले भविश्यमा पनि ती फारमहरु खोतल्ने र विभिन्न प्रयोजनका लागि विश्लेषण गर्ने राम्रो सामाग्री प्राप्त भएको छ । पार्टी कतै अल्मलियो भने वा नेताहरु मनोगत हुन थाले भने तथ्यांकले के भन्छ भनेर पल्टाएर हेर्ने सामाग्री प्राप्त भएको छ भने यस अघि मनोगत हुने गरेको रोगको औषधि पनि यही फाराम हुनेछ ।
सर्वेक्षणको विश्लेषणः
यद्यपि यो सर्वेक्षण फारमको व्यवसायिक विश्लेषण गरिएको छैन । यतिवेला खालि यसको राजनैतिक विश्लेषण गरिएको छ । राजनैतिक विश्लेषणलाई आगामी निर्वाचनका बेला उम्मेदवार तय गर्ने कुरामा उपयोग गरिनेछ भने बाँकी नेपाली समाजको चरित्र, नेपाली समाजमा रहेका अन्तरविरोधहरु नेपाली जनताका चाहना र नेपाली जनताले चाहेको र खाँचो परेको विकासको मोडेल समेत बारे पनि निष्कर्ष निकाल्ने आधार तयार पारेको छ । पार्टीलाई जतिबेला जे विषयको जानकारीको खाँचो पर्यो, सोही कुरा निकाल्न सकिने, जे कुरामा विश्लेषण गर्न पर्यो त्यही कुरा निकाल्न सकिने अर्थात जिज्ञासा लागेका विषयमा मनोगत वा अवैज्ञानिक आधार लिन नपर्ने अवस्थाको सिर्जना भएको छ यो सर्वेक्षणले ।
आरम्भमा यो सर्वेक्षणलाई झण्झटिलो मानिए पनि कालान्तरमा यसले फाइदा दिँदै जाँदा तव मात्रै यो पद्दतिको प्रशंशा हुनेछ । जे होस् यसपटक पार्टी वैज्ञानिक पद्दतिमा आधारित सर्वेक्षण र सर्वेक्षणवाट प्राप्त निष्कर्षहरुलाई विश्लेषण गरेर नया निष्कर्षमा पुग्न प्रयत्न गरेको यो अवसर सबैका लागि खुशीको कुरा हो ।
निष्कर्षः
नेताहरु आगामी चुनावको बारेमा चिन्ता गर्छन् राजनेताले आगामी पुस्ताका बारेमा चिन्ता गर्छन् भने झै यसपटक एमाओवादी पार्टी र यसका नेताहरु आगामी चुनावबारे मात्रै चिन्ता गर्ने नेताको कोटीमा सीमित राख्न चाहेन । यसले भावी पुस्ताका बारेमा समेत चिन्ता गरेर तदनुकुलको कार्ययोजना तयार गर्ने कामको थालनी गरेर राजनेताको हैसियत कायम गर्ने प्रयत्न गरेको छ । यो प्रयत्न कामयावी जब हुनेछ, तब यसको परिणाम वस्तुनिष्ट तरिकाले प्रयोग हुनेछ र नेपाली समाजको रुपान्तरणको प्रकृयामा सामेल भै सकेको हुनेछ । यसैमा यसको महत्व झल्कने छ । यसका आधारमा भन्न सकिनेछ एमाओवादी यसपटक वैज्ञानिक पद्दतिमा आधारित सर्वेक्षण अनुसन्धानका निष्कर्षमा भर पर्दै नेताहरुको पंक्ति जनताको सेवामा खरो उत्रिने कार्ययोजना बनाउने आशा गर्न सकिन्छ । यसको पुरै आधार पनि तयार भएको छ ।
(देवकोटा एमाओवादी केन्द्रीय सदस्य हुनुहुन्छ)
प्रतिक्रिया 4